अब सुन किन्न पनि ७० प्रतिशत ऋण पाइने, नबिलले ल्यायो आकर्षक योजना

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक सुन किन्न ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने योजना अघि सारेको छ । ‘नबिल ढुक्क सुन खरिद कर्जा’ नाम दिइएको उक्त योजना अनुसार बैंकले १० लाख रुपैयाँसम्म सुन खरीद कर्जा प्रवाह गर्ने योजना अघि सारेको हो । यसले निकट भविष्यमा सुन किन्ने सोच बनाएका धेरै मानिसहरूलाई गज्जबको मौका प्रदान गरेको छ ।
सुनको बढ्दो मूल्यले त्रास सिर्जना गरेका बेला यो एक आकर्षक योजना हुने बैंकको अनुमान छ । अहिलेकै मूल्यमा सुन किनेर सुरक्षित गर्न सकिने भएकाले यो योजना एक प्रकारले ‘हेजिङ’को रुपमा समेत काम गर्ने छ ।
सुनमा हुने लगानीलाई संसारभर नै मूद्रास्फीतिको ‘हेजिङ’का रुपमा लिइन्छ । अर्थात् भविष्यमा हुने मूल्य बृद्धिको मारबाट जोगिन मानिसहरु सुनमा लगानी गर्छन् । अर्थात् हरेक वर्ष मुद्राको मूल्य (करेन्सी भ्याल्यू) सस्तिँदै जान्छ भने वस्तु तथा सेवाको मूल्य बढ्दै जान्छ ।
यसरी मानिसहरुको जीवनयापन खर्च वर्षैपिच्छे बढ्ने गरेको छ । तर आज हामीसँग भएको त्यही पैसालाई सुनको रुपमा बचत गर्ने हो भने भविष्यमा सुनको मूल्यमा हुने बृद्धिले बजारको मूल्य बृद्धिलाई थेग्न सक्छ । यसैलाई ‘हेजिङ’ भनिन्छ ।
यसरी हेजिङ वा बचतका लागि नभए पनि सामान्य जागिरे मानिसले समेत यो सुविधाबाट आकर्षक लाभ उठाउन सक्छ । तपाईं वा तपाईंका सन्तानको भविष्यमा विवाह गर्नुपर्ने हुन्छ । त्यसबेला तपाईंलाई सुन चाहिन्छ ।
यो योजनाले २ वा ५ वर्षपछि सुन आवस्यक पर्ने व्यक्तिले पनि अहिले नै सुन किनेर राख्ने र त्यस बखतसम्म सुनको मूल्य पनि चुकाइसक्ने सुविधा दिन्छ । यसरी ग्राहकलाई सुनको गहना किन्न वा सुनमा लगानी गर्न सजिलो बनाउने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ ।
नबिल ढुक्क सुन खरिद कर्जा योजना नेपालमा नयाँ अवधारणा हो, जसमा सुन खरिद गर्नका लागि कर्जा उपलब्ध गराइन्छ ।
के हो नबिल ढुक्क सुन खरिद कर्जा ?
‘नबिल ढुक्क सुन खरिद कर्जा’ नेपालमै विशेष र नयाँ योजना हो । यदि तपाईं सुनमा लगानी गर्ने सोचमा हुनुहुन्छ र सुनको मूल्य बढ्ने अपेक्षासाथ यसलाई एक दीर्घकालिक सम्पत्तिको रूपमा हेरिरहनु भएको छ भने, यो कर्जा योजना तपाईंको लागि उपयुक्त हुन सक्छ । त्यसैले सुन कर्जा अन्यभन्दा फरक छ ।
यस योजनामा सुनमा लगानी गर्ने अवसरलाई सुलभ र आकर्षक ब्याजदरका साथ प्रदान गरिएको छ । यसमा सस्तो ब्याज दर, मासिक किस्ता अर्थात् ईएमआई विकल्प, सुनको निःशुल्क बीमा सुविधा र अधिकतम १० लाख रुपैयाँसम्मको कर्जा लगायत सुविधा छन् ।
यस योजनाको मासिक एक प्रतिशतभन्दा कम ब्याजदर रहेको छ । कर्जा अवधि भने १० वर्षसम्मको लागि रहनेछ ।
यसमा नबिल बैंकले ग्राहकलाई भविष्यका लागि अहिलेकै बजारभाऊमा तत्काल सुन खरिद गर्न सहायता पुर्याउने उद्देश्य राखेको छ ।
सुन खरिद कर्जामा ब्याजदर फ्लोटिङ रेट (घटबढ भइरहने)मा गणना हुन्छ । ग्राहकले आकर्षक ब्याजदरमा कर्जा प्रवाह प्रवाह गर्ने जनाएको छ । बैंकका अनुसार आधारदरमा २ देखि ४ प्रतिशत प्रिमियम थप गर्नुपर्छ ।
ग्राहकले कम्तिमा ३० प्रतिशत अग्रीम भुक्तानी (डाउन–पेमेन्ट) गरेपछि बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ । डाउन–पेमेन्ट बढी तिर्ने हो भने यो अनुपात फरक हुन्छ । यो योजना अन्तरगत कर्जा लिने निर्णय व्यक्तिगत आर्थिक स्थिति, लक्ष्य र कर्जा तिर्ने क्षमताका आधारमा निर्भर हुन्छ ।
यस योजनाअनुसार तपाईंले सुन खरिद गरेको भए पनि, खरिद गरिएको सुनलाई बैंकले लकरमा राख्नेछ । कर्जा भुक्तानी गरिसकेपछि मात्र सुन प्राप्त गर्न सकिन्छ । भविष्यका लागि आजकै सस्तो मूल्यमा सुन लिनको लागि बैंकले दिने कर्जा सुरक्षा नै नबिल ढुक्क सुन खरिद कर्जा योजना भएको बैंकले जनाएको छ ।
कसरी लिने ऋण ?
नबिल ढुक्क सुन खरिद कर्जा प्राप्त गर्नका लागि ग्राहकलाई केही आवश्यक कागजात पेश गर्नुपर्ने हुन्छ ।
यसमा सामान्यतया तपाईंको परिचय प्रमाण (जस्तै नागरिकता प्रमाणपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रजस्ता कुनै एक आधिकारिक प्रमाण) र खरिद गर्न चाहेको सुनको प्रमाण (वजन, प्रकार र मूल्य) पेश गर्नुपर्छ ।
हालको लागि बैंकको ललितपुरस्थित मंगलबजार, कुमारीपाटी, भक्तापुस्थित सूर्यविनायक, काठमाडौंस्थित न्यूरोड, कालिमाटी, कोटेश्वर, कास्कीस्थित चिप्लेढुंगा , रुपन्देहीस्थित बुटवलको योगीकुटी, धरानस्थित बरगाछी, बाँकेस्थित नेपालगञ्ज र पाँचथरस्थित फिदिम शाखाबाट यो कर्जा प्राप्त गर्न सकिने सुविधा दिएको छ ।
बैंकका अनुसार अहिले ३ वटा मर्चेन्टहरूबाट सुन खरिद गर्न सकिन्छ । नेपालगञ्जस्थित बाले मुन्ना बलराम रामशंकर ज्वेलर्स, न्यूरोडस्थित अर्जुन ज्वेलर्स र धरान गहना गृहबाट सुन खरिद गर्न सकिन्छ ।
पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । विश्वव्यापी घटना परिघटनाले पनि सुनको मूल्य बढ्ने प्रक्षेपण गरिराखेको अवस्था छ । विगतलाई नियाल्ने हो भने पनि सुनको मूल्य अल्प कालका लागि घटे पनि दीर्घकालमा बढेको देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारको प्रबृत्ती नियाल्ने हो भने पछिल्लो २ वर्षको अन्तरालमा सुनको मूल्य ४१ प्रतिशतभन्दा धेरै बढेको छ । वितेको १ वर्षमा मात्रै झण्डै ३० प्रतिशत मूल्य बढेको छ । यसले भविष्यमा पनि सुन महँगिने संकेत गरेको छ ।
सन् २०१२ देखि २०१५ सम्मको स्थितिलाई छाड्ने हो भने पछिल्ला ३० वर्षमा सुनको मूल्य बढ्दो प्रबृत्तीमै ज्यादातर समय चलिरहेको देखिन्छ ।
यस्तो अवस्थामा भविष्यमा सुन खरिद गर्ने योजना बुनेकाहरूले यो योजना उपयुक्त हुनसक्छ । सुन किनेर राख्न मन भएको, तर पर्याप्त नगद नभएको अवस्थामा तुरुन्तै सुन खरिद गर्न नसकेकाहरुका लागि पनि यो आकर्षक योजना सावित हुने छ ।
उनीहरुका लागि बैंकले आवश्यक पूँजी जुटाइदिन्छ । आजकै मूल्यमा सुन खरिद गरेर एक किसिमले भविष्यका लागि सम्पत्ति जोड्न सकिन्छ । यो योजना नेपाली समाजका लागि नयाँ स्वादका रुपमा अघि आउने छ ।
सुनलाई सामाजिक प्रतिष्ठाको रूपमा समेत हेरिने गरिन्छ । तत्कालका लागि थोरै पैसा तिरेर धेरै सुन किन्ने योजना आकर्षक हुने छ ।