९ महिनामै २ अर्ब नजिक पुग्यो सोना प्याकेजिङको कारोबार « Arthapath.com
२८ असार २०८३, आइतबार

९ महिनामै २ अर्ब नजिक पुग्यो सोना प्याकेजिङको कारोबार



काठमाडौं । उद्योग व्यवसाय क्षेत्र शिथिल बनिरहेका बेला प्याकेजिङ उद्योगमा स्थापित नाम ’सोना प्याकेजिङ इन्डष्ट्रिज’ले भने बजारमा आफ्नो आक्रामक उपस्थिति कायमै राखेको छ । चालू आर्थिक वर्षको सुरुवाती ९ महिनामै कम्पनीले करिब २ अर्ब रुपैयाँको व्यावसायिक फड्को मारेको छ ।

वित्तीय बजारमा सुस्तता देखिए पनि उत्पादन क्षमता विस्तार र उत्पादन विविधीकरणमा जोड दिँदा कम्पनीले समीक्षा अवधिमा १ अर्ब ८९ करोड ३० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो ।

विगतका वर्षहरूमा उतारचढावपूर्ण व्यापारिक यात्रा तय गरेको कम्पनीले पछिल्लो समय गति समातेको देखिन्छ । सन् २०२३ मा १ अर्ब ७४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको सोना प्याकेजिङले सन् २०२४ मा थोरै खुम्चिएर १ अर्ब ७३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

तर, गत आर्थिक वर्षमा भने कम्पनीको व्यापारमा २० प्रतिशतको उत्साहजनक वृद्धि देखियो, जसले कुल कारोबारलाई २ अर्ब ७ करोड २० लाख रुपैयाँको उचाइमा पुर्‍यायो । यो वृद्धिको मुख्य जस कम्पनीले बजारमा ल्याएको नयाँ उत्पादन ’ईएक्सटी लेमिनेट रोल सामग्री’लाई जान्छ ।

गत वर्ष कुल व्यापारमा ३१ प्रतिशत हिस्सा ओगटेको यो रोलको माग चालू आवको ९ महिनामा अझ बढेर ४० प्रतिशत पुगेको छ । जसले कम्पनीको बजार हिस्सा बलियो बनाउँदै लगेको छ ।

कारोबारसँगै कम्पनीको नाफा कमाउने क्षमता र नगद सञ्चितिमा समेत सुखद सुधार आएको छ । गत आर्थिक वर्षमा ९.७५ प्रतिशत रहेको नाफा मार्जिन चालू आवको ९ महिनामा बढेर १०.४६ प्रतिशत पुगेको छ ।

त्यस्तै, सन् २०२२ मा जम्मा ८ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको कुल नगद सञ्चय गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १४ करोड ६० लाख रुपैयाँ पुगेको छ । कम्पनीले आफ्नो व्यावसायिक साम्राज्य फैलाउन र चालू पुँजी व्यवस्थापन गर्न ऋणको मात्रा भने बढाउँदै लगेको छ ।

यहीकारण सन् २०२४ मा ०.७३ गुणा रहेको कुल गियरिङ अनुपात गत वर्ष ०.८३ हुँदै चालू आवमा १.१४ गुणा पुगेको छ । ऋण बढे पनि कम्पनीको वित्तीय सूचकहरू र ब्याज भुक्तानी क्षमता निकै सहज अवस्थामा छन् । गत वर्ष ६.४२ गुणा रहेको ब्याज भुक्तानी क्षमता चालू आवको ९ महिनामा ८.९८ गुणा पुग्नुले कम्पनी वित्तीय रूपमा सुरक्षित रहेको संकेत गर्छ ।

कम्पनीको खुद सम्पत्ति (ट्यान्जिबल नेटवर्थ) मा पनि केही फेरबदल आएको छ । सन् २०२४ मा ४२ करोड ६० लाख रुपैयाँ रहेको नेटवर्थ गत वर्ष बढेर ५० करोड ७० लाख रुपैयाँ पुगेको थियो ।

तर, चालू आवको ९ महिनामा कम्पनीले शेयरधनीहरूलाई १० करोड रुपैयाँ लाभांश वितरण गरेपछि नेटवर्थ सामान्य घटेर ५० करोड रुपैयाँमा सीमित भएको छ । सन् २००७ मा स्थापित यस उद्योगले हाल मासिक ९ सय मेट्रिक टनसम्म फ्ल्याक्जिबल र्‍यापर र प्याकेजिङ सामग्री उत्पादन गर्दै आएको छ ।

चुन्नाप्रसाद शर्मा अध्यक्ष रहेको यस कम्पनीले आफ्नो आगामी व्यापारिक योजना र कर्जा व्यवस्थापनका लागि कुल ९८ करोड ६३ लाख रुपैयाँको रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जाका लागि ८ करोड ६३ लाख र अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँ छुट्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्