दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना लाभान्वित « Arthapath.com
२८ असार २०८३, आइतबार

दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना लाभान्वित



काठमाडौं। दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन, नेपालको आयोजनामा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना सर्वसाधारण लाभान्वित भएका छन्।

शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन गरिएको शिविरमा दन्त परीक्षण, रक्तचाप (ब्लड प्रेसर) परीक्षण, मधुमेह (सुगर) परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष राजेश हाडाले जानकारी दिए। समुदायलाई सहज, गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए।

शिविरमा स्थानीय सर्वसाधारण तथा ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण गराएका थिए। सहभागीहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यकताअनुसार निःशुल्क औषधि समेत प्राप्त गरेका थिए।

समाज डेन्टल हस्पिटलको विस्तारित सेवामार्फत विशेषज्ञ दन्त परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो। यस्तै, म्याग्नस फार्मा, क्वेस्ट फार्मास्युटिकल्स र नेसन हेल्थ केयर प्रालिले निःशुल्क औषधि उपलब्ध गराएर कार्यक्रमलाई सहयोग गरेका थिए।

फाउन्डेसनकी बोर्ड सदस्य डा. दिव्या शर्माले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेकी थिइन्। त्यस्तै, फाउन्डेसनका सदस्य अवधराज ज्ञवालीले औषधि व्यवस्थापन तथा वितरणमा सहयोग गरेका थिए भने वरिष्ठ नर्स निभा पालिखेल र शुभद्रा प्रधानले नर्सिङ सेवा प्रदान गरेका थिए।

फाउन्डेसनका अनुसार शिविर सफल बनाउन समाज डेन्टल हस्पिटल, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, फाउन्डेसनका आजीवन सदस्य, सहयोगी संस्था तथा स्थानीय समुदायको महत्वपूर्ण सहयोग रहेको थियो।

फाउन्डेसनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, प्रायोजक र स्थानीयवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवामार्फत यस्ता जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्