नाफामा नबिल, ग्लोबल र एनआइएमबिको कडा टक्कर, एनआइसीसहित ९ वटाको घट्यो, ग्रोथमा को-को तगडा ? « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

नाफामा नबिल, ग्लोबल र एनआइएमबिको कडा टक्कर, एनआइसीसहित ९ वटाको घट्यो, ग्रोथमा को-को तगडा ?



काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा सामान्य सुधार देखिएको छ । आठ महिनामा २० वटा बैंकहरुले साढे ४२ अर्ब बढी खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुले ४२ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, यो नाफा गत आवको फागुन मसान्तसम्मको तुलनामा भने २.८८ प्रतिशत मात्रै धेरै हो । गत आवको सो अवधिमा बैंकहरुले ४० अर्ब ३३ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

सर्वाधिक नाफा कमाउनेको शीर्ष सूचीमा नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएका छन् ।

नाफामा नबिल बैंक नै नम्बर वानको सूचीमा छ । बैंकले आठ महिनामा ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको तुलनामा भने १.३४ प्रतिशत मात्रै धेरै हो ।

दोस्रो सूचीमा रहेको ग्लोबल आइएमईले पनि ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ नाफा आएको छ । बैंकको नाफा ३७.७६ प्रतिशत वृद्धि भएको छ । यता, तेस्रो सूचीमा रहेको एनआइएमबिले पनि ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले नाफामा ४५.६८ प्रतिशत बढोत्तरी देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चौंथो सूचीमा रहेको एभरेष्टले पनि ३ अर्ब ८८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ३१.१९ प्रतिशत वृद्धि भएको हो ।

सर्वाधिक नाफा वृद्धि गर्नेमा भने नेपाल बैंक पहिलो स्थानमा छ । बैंकको नाफा १३२.८९ प्रतिशत वृद्धि भई २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, एनएमबि बैंकको नाफ नि ४१.१ प्रतिशत, प्रभूको ३९.६४ प्रतिशत, नेपाल एसबिआईको २३.९१ प्रतिशत, लक्ष्मी सनराइजको ९.४५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ४.०९ प्रतिशत र सानिमा बैंकको १.१ प्रतिशत वृद्धि भएको छ ।

कृषि विकास, एनआइसी एशियासहित ९ वटा बैंकको नाफा घट्यो

समिक्षा अवधिमा ९ वटा बैंकको नाफा घटेको देखिन्छ । सबैभन्दा धेरै नाफा एनआइसी एशियाको ६७.७४ प्रतिशत घटेको छ । समिक्षा अवधिमा बैंकले ८१ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । जबकि, गत आवको फागुन मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड २५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कृषि विकास बैंकको नाफामा पनि ६२.६६ प्रतिशत गिरावट देखिन्छ । बैंकले आठ महिनामा ७३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यता, राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ४०.०९ प्रतिशत, कुमारीको ३१.९७ प्रतिशत, सिद्धार्थको २८.२६ प्रतिशत, हिमालयनको १४.३० प्रतिशत र प्राइमको १३.३२ प्रतिशत घटेको छ। समिक्षा अवधिमा यी बैंकहरुले क्रमशः १ र्अ ७२ करोड ३९ लाख, ९६ करोड ९१ लाख, १ अर्ब २१ करोड ६९ लाख, १ अर्ब ६६ करोड ९७ लाख र २ अर्ब ५० करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंकका अनुसार सिटिजन बैंकको नाफा पनि ५.२९ प्रतिशत र माछापुच्छ्रे बैंकको ०.२२ प्रतिशत घटेको छ ।

कसले कति कमाए नाफा ? (रकम दश लाखमा)


प्रतिक्रिया दिनुहोस्