एभरेष्ट बैंकले कमायो झन्डै ५ अर्ब नाफा, सेयरधनीले पाउनेछन ३८% बढी लाभांश « Arthapath.com
१९ असार २०८३, शुक्रबार

एभरेष्ट बैंकले कमायो झन्डै ५ अर्ब नाफा, सेयरधनीले पाउनेछन ३८% बढी लाभांश



काठमाडौं । एभरेष्ट बैकको खुद नाफा झन्डै ५ अर्ब नजिक छ । बैंकले एकैवर्ष नाफामा करिब ३३ प्रतिशत वृद्धि गरेको छ ।

बैंकले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशत धेरै हो ।

बैंकको खुद ब्याज आम्दानी पनि १९.३६ प्रतिशत वृद्धि भई ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा बैंकले ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, बैंकको संचालन नाफा पनि ३१.६३ प्रतिशत बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ । यसरी खुद ब्याज आम्दानी र संचालन नाफामा आएको बढोत्तरीले नै बैंकको खुद नाफामा बढेको हो ।

बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ पुगेको छ । जबकि, अघिल्लो आवमा बैंकले यस्तो मुनाफा ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ रहेको थियो । गत आवको मुनाफाबाट यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई ३८.२७ प्रतिशत लाभांश दिन सक्ने हैसियत बनाएको छ । अघिल्लो वर्ष भने यस्तो क्षमता ३८.०६ प्रतिशत रहेको थियो ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ राखेको छ ।

यस्तै, प्रतिसेयर आम्दानी (इपिएस) ३७.९९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा पनि न्युन बिन्दुमा छ । हाल बैंकसँग ०.३८ प्रतिशत मात्रै खराब कर्जा छ । जबकि, अघिल्लो आवमा यस्तो अनुपात ०.७१ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्