महालक्ष्मी विकास बैंकद्वारा ५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति « Arthapath.com
१९ असार २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंकद्वारा ५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति



काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पाँच जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरेको छ।

बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरि, अशोक श्रेष्ठ, नवराजबहादुर सिंह तथा सीताराम प्रसाईको स्मृतिमा स्थापना गरिएको उक्त छात्रवृत्तिमार्फत सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्रतिविद्यार्थी ५० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।

स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित छात्रवृत्ति काठमाडौंको नक्सालस्थित श्री नन्दी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी विपिन बुढालाई प्रदान गरिएको छ। असार १७ गते आयोजित कार्यक्रममा स्वर्गीय श्रेष्ठका छोरा राजेश बाबु श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृतले विद्यालयकी प्रधानाध्यापक गीता काफ्लेमार्फत उक्त छात्रवृत्ति हस्तान्तरण गरेका थिए।

त्यसैगरी, स्वर्गीय हरि प्रसाद गिरिको स्मृतिमा स्थापित छात्रवृत्ति पर्साको वीरगञ्ज–८ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अनिशा शाहलाई बैंकका सञ्चालक श्यामसुन्दर रुंगटाले प्रदान गरेका छन्। स्वर्गीय नवराजबहादुर सिंहको स्मृतिमा स्थापित छात्रवृत्ति कैलालीको धनगढीस्थित श्री शारदा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई बैंकका सञ्चालक सागर मल्लले हस्तान्तरण गरेका छन्।

यस्तै, स्वर्गीय अशोक श्रेष्ठको स्मृतिमा स्थापित छात्रवृत्ति मकवानपुरको हेटौँडास्थित श्री अमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई बैंकका बागमती प्रदेश प्रमुखमार्फत प्रदान गरिएको छ। स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापित छात्रवृत्ति भने झापाको मेचीनगर–१४ स्थित श्री सीताराम सामुदायिक अङ्ग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई गत पुसमै प्रदान गरिएको बैंकले जनाएको छ।

यस प्रकारका संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्था कम गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका हाल देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।


प्रतिक्रिया दिनुहोस्