साझा इतिहासदेखि डिजिटल हबसम्म: बदलिँदो बैंकिङमा महालक्ष्मीको ३२ औँ पाइला
बैंकिङ केवल अङ्कहरूको खेल मात्र होइन; यो त भरोसा, निरन्तरता र आम मानिसको सपनालाई आकार दिने माध्यम हो । आज महालक्ष्मी विकास बैंकले आफ्नो स्थापनाको ३१ वर्ष पूरा गरी ३२ औँ वर्षमा प्रवेश गरिरहँदा म अतीतका पानाहरू पल्टाएर हेर्छु ।
यो तीन दशकभन्दा लामो यात्रा सहज र सिधा रेखामा मात्रै अघि बढेको छैन ।
अनेकौँ उतारचढाव, मर्जरका जटिलता र बदलिँदो आर्थिक परिवेशलाई झेल्दै आज हामी जहाँ आइपुगेका छौँ, यसले मलाई एकातिर गर्वको अनुभूति गराउँछ भने अर्कोतिर अझै जिम्मेवार बन्ने प्रेरणा दिन्छ ।
हिजो जुन जग र उद्देश्यका साथ यस संस्थाको परिकल्पना गरिएको थियो, आज विभिन्न कालखण्ड पार गर्दै देशकै एक बलियो र विश्वसनीय राष्ट्रिय स्तरको विकास बैंकका रूपमा आफूलाई उभ्याउन सक्नु हाम्रा लागि ठुलो सफलता हो ।
मर्जर र समायोजनको त्यो इतिहास
हाम्रो आजको यो बलियो स्वरूप रातारात बनेको होइन । यसको पछाडि विभिन्न वित्तीय संस्थाहरूको एकता र सामूहिकताको लामो इतिहास छ । हामीले सुरुवाती दिनमा ‘सीएसआई डेभलपमेन्ट बैंक’ को दर्तालाई आफ्नो यात्राको प्रस्थान विन्दु मान्ने गरेका छौँ । समयको गतिसँगै नयाँ प्रवर्द्धकहरूको आगमन भयो र यो संस्था ‘साना तथा घरेलु विकास बैंक’ हुँदै ‘मनकामना विकास बैंक’ मा रूपान्तरित भयो ।
संस्थालाई अझ बलियो बनाउने उद्देश्यका साथ मनकामनाले ‘यति फाइनान्स’ लाई आफूमा समाहित गर्यो, जसबाट ‘यति डेभलपमेन्ट बैंक’ को जन्म भयो । यात्रा यत्तिमै रोकिएन । पछि महालक्ष्मी र मालिका आफैँमा मर्जर भएर महालक्ष्मी विकास बैंकको रूपमा अगाडि बढे ।
यसरी हेर्दा साना-ठुला गरी आठ वटा वित्तीय संस्थाहरू (विभिन्न फाइनान्स कम्पनी र विकास बैंकहरू) एकापसमा गाभिएर र समायोजन भएर आजको यो महालक्ष्मी विकास बैंक बनेको हो । हामीले बैंकिङको मर्म र हाम्रो संस्कृतिलाई सुहाउने गरी ‘महालक्ष्मी’ नामलाई नै निरन्तरता दियौँ ।
आज पूर्वदेखि पश्चिमसम्म हाम्रा १०३ वटा शाखाहरू मार्फत अनवरत रूपमा ग्राहकको सेवामा खटिन पाउनु र देशका सम्पूर्ण क्षेत्रमा बलियो उपस्थिति जनाउन सक्नु नै हाम्रो ऐतिहासिक विरासतको प्रमाण हो ।
मूल मन्त्र नै दिगो व्यवसाय
अहिलेको वित्तीय बजारमा एउटा अलिखित होडबाजी देखिन्छ– कसको ब्यालेन्स सिट कति ठुलो र कसको कर्जा विस्तार कति आक्रामक ? तर म र मेरो व्यवस्थापन टोली यस किसिमको उथलपुथल वृद्धिमा विश्वास गर्दैन । बैंकिङमा अल्पकालीन फड्को मार्नुभन्दा दीर्घकालीन रूपमा टिकिरहनु (सस्टेनेबिलिटी) सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
कर्जा विस्तारलाई तीव्र बनाउँदा भोलिका दिनमा कस्ता जोखिमहरू आउन सक्छन् भन्ने उदाहरण नेपाली बैंकिङ जगत्ले भोगिसकेको छ । त्यसैले हामीले आफ्नो कर्जा विस्तारलाई सन्तुलित र सङ्कुचित रूपमा अघि बढाएका छौँ, जुन विशुद्ध रूपमा नगद प्रवाहमा आधारित छ ।
हाम्रो आधार निकै मजबुत छ । बैंकको पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडेक्वेसी रेसियो) १५ प्रतिशतभन्दा माथि छ, जसले हाम्रो आन्तरिक वित्तीय स्वास्थ्य कति बलियो छ भन्ने देखाउँछ । हाम्रो निक्षेपको संरचना पनि निकै छरितो र सुरक्षित छ ।
हामी कुनै एक वा दुई ठुला संस्थाको अर्बौँ रुपैयाँको संस्थागत निक्षेपमा निर्भर छैनौँ, बरु हाम्रो निक्षेप सर्वसाधारण ग्राहकहरूमाझ छरिएर रहेको (स्क्याटर्ड) छ । हाम्रो ‘कासा’ निक्षेप अर्थात् चल्ती र बचत खाताको हिस्सा करिब ७० प्रतिशतको हाराहारीमा पुगिसकेको छ ।
महँगो ब्याजदरका निक्षेपहरूलाई घटाउँदै लगेका कारण हाम्रो आधार दर (बेस रेट) निकै प्रतिस्पर्धी बन्न सफल भएको छ । यही बलियो आधारकै कारण विगतका कठिन परिस्थितिमा पनि हामीले हाम्रा सेयर धनीहरूलाई दोहोरो अङ्कको लाभांश (डबल डिजिट डिभिडेन्ड) दिन सफल भयौँ र आगामी दिनमा पनि उत्कृष्ट प्रतिफल दिने गरी काम गरिरहेका छौँ ।

प्रविधि र रूपान्तरण
समय बदलिएको छ र ग्राहकको आवश्यकता पनि परिवर्तन भएको छ । अचेल ग्राहकहरू ससाना कामका लागि बैंकको भौतिक शाखामै उपस्थित हुनुभन्दा आफ्नै मोबाइल, कम्प्युटर वा टेलिफोनबाटै सम्पूर्ण सेवा लिन चाहनुहुन्छ ।
यही आवश्यकतालाई आत्मसात् गर्दै हामीले आफ्नो प्रविधिलाई थप सुदृढ बनाउँदै डिजिटल बैंकिङमा विशेष ध्यान केन्द्रित गरेका छौँ । हामी आफूलाई भित्रैदेखि रूपान्तरण गर्दै नयाँ ढङ्गले प्रस्तुत गर्ने तयारीमा छौँ ।
यही सोचका साथ काठमाडौँको ज्ञानेश्वरमा हाम्रो आफ्नै नयाँ कर्पोरेट भवन बनिरहेको छ । यस भवनको एउटा सिङ्गो फ्लोरलाई हामीले ‘डिजिटल बैंकिङ हब’ का रूपमा डिजाइन गरेका छौँ । यो यस्तो आधुनिक थलो हुनेछ जहाँ कुनै मानवीय संसर्ग (ह्युमन टच) वा परम्परागत टेलर हुनेछैनन्; सम्पूर्ण बैंकिङ कार्यहरू डिजिटल मेसिनहरूले मात्र गर्नेछन् ।
आगामी जेठ वा असारको पहिलो हप्तासम्ममा यसलाई सञ्चालनमा ल्याउने हाम्रो अन्तिम तयारी छ । यो हबले विशेष गरी आजको युवा पुस्ता, जो उच्च शिक्षा वा अन्य अवसरका लागि विदेश जान चाहन्छन्, उनीहरूका लागि वरदान सावित हुनेछ ।
डलर सुविधा लिन, कलेजको शुल्क तिर्न, स्याट वा टोफेलको फी बुझाउन अब ठूला वाणिज्य बैंकहरू नै धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । यसले ग्राहकलाई गुणस्तरीय सेवा मात्र दिने छैन, बैंकको गैर-ब्याज आम्दानी (फी इन्कम) मा पनि ठूलो योगदान पुर्याउनेछ ।
मध्यम वर्गको सारथि
विकास बैंकहरूका लागि वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गर्नु पक्कै पनि सहज छैन, विशेष गरी ब्याजदर र वित्तीय स्रोतको पहुँचका मामिलामा । तर ब्याजदर मात्रै प्रतिस्पर्धाको एक मात्र आधार होइन र हुन सक्दैन ।
हाम्रो सबैभन्दा ठूलो सबल पक्ष भनेको छिटो-छरितो सेवा र आत्मीय बैंकिङ हो । हाम्रो प्रशासनिक संरचना धेरै ठूलो र झन्झटिलो नभएकाले ग्राहकहरूले केन्द्रका वरिष्ठ कर्जा अधिकारीहरूसँग सिधै समन्वय गरेर आफ्नो काम टुङ्ग्याउन सक्छन् । बिचमा धेरै च्यानलहरू नहुँदा निर्णय प्रक्रिया चाँडो हुन्छ, जुन साना र मझौला व्यवसायीहरूका लागि निकै ठूलो राहत हो ।
हाम्रो कर्जा पोर्टफोलियोलाई नियाल्ने हो भने हामी मुख्यतः मध्यम वर्गीय ग्राहकहरूमाझ लोकप्रिय छौँ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सीमाभित्र रहेका साना तथा मझौला ऋणीहरू नै हाम्रा मुख्य आधार हुन् ।
यद्यपि, हामी साना व्यवसायमा मात्र सीमित छैनौँ, सह-वित्तीयकरण (कन्सोर्टियम फाइनान्सिङ) मार्फत देशका ठूला वाणिज्य बैंकहरूसँग मिलेर जलविद्युत्, होटल तथा ठूला उद्योगहरूमा पनि हाम्रो लगानी विस्तार गरिरहेका छौँ ।

कार्यक्षेत्र विस्तारको आवश्यकता
हामी विकास बैंक भएकाले हाम्रा केही कानुनी सीमा र सुविधाहरूमा संकुचन पक्कै छन् । हिजो विकास बैंकहरूको पुँजी जम्मा ६५ करोड रुपैयाँ हुँदा जुन नियम र कार्यक्षेत्र तोकिएको थियो, आज पुँजी वृद्धि भएर ५ अर्ब रुपैयाँ नाघिसक्दा पनि नियमहरू उस्तै रहनु न्यायसङ्गत हुँदैन ।
आज विकास बैंकहरूलाई प्रतीतपत्र (एलसी), स्टक डिलर र पूर्ण रूपमा मर्चेन्ट बैंकिङका कामहरू गर्न केही बाधाहरू छन् । हामीले नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पटक-पटक कार्यक्षेत्र बढाउन माग गरिरहेका छौँ । दीर्घकालमा वित्तीय बजारमा ‘क’ र ‘ख’ वर्गका बैंकहरू बीचको यो अन्तर हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।
विकास बैंकहरू देशका साना ऋणी, कृषक, घरेलु उद्यमी र साना व्यवसायीसँग प्रत्यक्ष जोडिएका छन् । त्यसैले अर्थतन्त्रको जगलाई बलियो बनाउन पनि विकास बैंकहरूलाई थप अधिकार दिएर सबल बनाउनु आवश्यक छ ।
यसका साथै, हामी क्रेडिट कार्ड जस्ता नयाँ उपकरणहरू मार्फत ग्राहकलाई आधुनिक सेवा दिने सोचमा छौँ र आगामी दिनमा नवप्रवर्तन (इन्नोभेसन) मा लागेका युवाहरू तथा स्टार्टअपहरूलाई उनीहरूको परियोजना र नयाँ सोचका आधारमा कर्जा दिने वातावरण बनाउन प्रयासरत छौँ ।

वर्तमानको शिथिलता र भोलिको रोडम्याप
अहिले समग्र मुलुककै आर्थिक गतिविधि केही सुस्त छ, जसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । केन्द्रीय बैंकको कर्जा वर्गीकरण सम्बन्धी कडा व्यवस्था र कालोसूचीमा राख्ने विद्यमान प्रावधानहरूका कारण कतिपय असल र इमानदार ऋणीहरू पनि प्राविधिक रूपमा अप्ठ्यारोमा परेका छन् ।
परिस्थितिवश व्यवसाय चल्न नसकेर ऋण तिर्न ढिलाइ हुँदा सिङ्गो परिवार र उनका सन्ततिसम्म कालोसूचीको चपेटामा पर्ने अवस्था आएको छ । यस विषयमा राज्य र नियामक निकायले अलिकति लचकता देखाएर, ऋणीहरूको ‘रेस्क्यु’ वा पुनरुत्थान गर्ने नीति ल्याएमा निष्क्रिय कर्जा (एनपीएल) को व्यवस्थापन सहज हुने थियो र बजारमा नयाँ उत्साह सञ्चार हुने थियो ।
हाम्रो लक्ष्य धेरै ठुलो र विशाल सम्पत्ति (एसेट) थुपारेर बस्ने पटक्कै होइन । हामी त एउटा छरितो र थोरै पोर्टफोलियोभित्र रहेर पनि आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई उच्च प्रतिफल दिने र दिगो बैंकिङको नमुना बन्ने मार्गमा छौँ ।
विगत ३१ वर्षको यो सुन्दर यात्रालाई सफल बनाउन भूमिका खेल्नुहुने हाम्रा आदरणीय ग्राहक महानुभावहरू, नियामक निकाय, सञ्चालक समिति र अहोरात्र खटिने कर्मचारी साथीहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु । हामी आफूलाई समयसापेक्ष रूपान्तरण गर्दै अघि बढिरहेका छौँ र म पूर्ण विश्वस्त छु कि महालक्ष्मी विकास बैंकको आगामी यात्रा अझ सुखद, सुरक्षित र सुनौलो हुनेछ ।













