राष्ट्रिय वाणिज्य बैंकद्वारा थ्रीडी सेक्योर एसीएस सेवा सञ्चालनमा « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा थ्रीडी सेक्योर एसीएस सेवा सञ्चालनमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा थ्रीडी सेक्योर एसीएस (एक्सेस कन्ट्रोल सर्भर) सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाको सुरुवातसँगै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले ई–कमर्समार्फत हुने अनलाइन कारोबार अझ सुरक्षित रूपमा गर्न सक्ने भएका छन्।

थ्रीडी सेक्योर एसीएस अनलाइन कारोबारका क्रममा ग्राहकको पहिचान तथा प्रमाणीकरण सुनिश्चित गर्ने एक आधुनिक सुरक्षा प्रणाली हो। यस प्रणालीमार्फत अनलाइन भुक्तानी गर्दा थप प्रमाणीकरण प्रक्रिया अपनाइने भएकाले अनधिकृत कारोबार तथा ठगीको जोखिम न्यूनीकरण हुने विश्वास गरिएको छ।

बैंकका अनुसार उक्त सेवा प्रयोग गर्न कार्डधारकले आफ्नो कार्डमा एकपटक थ्रीडी सेक्योर सुविधा सक्रिय गर्नुपर्नेछ। सेवा सक्रिय भएपछि अनलाइन खरिद तथा भुक्तानीका क्रममा अतिरिक्त सुरक्षा तह लागू हुनेछ, जसले ग्राहकको रकम र व्यक्तिगत विवरणलाई थप सुरक्षित बनाउनेछ।

बैंकले यस पहलले बढ्दो ई–कमर्स कारोबारलाई थप सुरक्षित बनाउनुका साथै ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन पुग्ने अपेक्षा गरेको जनाएको छ।

एनसीएचएल–ईएफटी सेवाअन्तर्गत एसीएससँगै कार्ड जारी गर्ने, कारोबार स्वीकृति गर्ने, कारोबार प्रशोधन तथा फर्छ्योट गर्ने, ईकमर्स भुक्तानी प्रवेशद्वार उपलब्ध गराउने तथा कार्डसम्बन्धी अन्य सेवाहरू सदस्य बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्दै आइरहेको छ।

हाल राष्ट्रिय वाणिज्य बैंकसँगै एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकलगायतका बैंक तथा वित्तीय संस्थाका कार्डहरू एनसीएचएलको एसीएस समाधानमार्फत सुरक्षित ईकमर्स कारोबारका लागि सक्षम बनाइएका छन्।

यस सेवाले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्