राष्ट्र बैंकमा तीन डेपुटी गभर्नर बनाउन प्रस्तावः एक जना बाहिरबाट नियुक्ति गर्न पाइने व्यवस्था माग « Arthapath.com
३ असार २०८३, बुधबार

राष्ट्र बैंकमा तीन डेपुटी गभर्नर बनाउन प्रस्तावः एक जना बाहिरबाट नियुक्ति गर्न पाइने व्यवस्था माग



काठमाडौँ । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको संख्या तीन पुर्‍याउने प्रस्तावसहित ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक’ मा विभिन्न दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

उक्त प्रस्ताव पारित भएमा हाल कायम दुई जना डेपुटी गभर्नरको कोटा बढेर तीन पुग्नेछ भने थपिने एक पदमा राष्ट्र बैंकभन्दा बाहिरका योग्य र विज्ञ व्यक्तिलाई समेत नियुक्त गर्न मिल्ने बाटो खुल्नेछ।

यो व्यवस्थाका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रतिपक्षी दलहरू नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसद् सचिवालयमा संशोधन दर्ता गराएका हुन्। हालसम्म यो विधेयकमाथि विभिन्न विषयमा १८ वटा संशोधन प्रस्ताव दर्ता भइसकेका छन्।

विशेष गरी रास्वपाका सांसद सुशील खड्का, नेकपाका रमेशकुमार मल्ल र राप्रपाकी सांसद खुश्बु ओलीले राष्ट्र बैंकको सञ्चालक समिति गठन सम्बन्धी प्रावधानमा फेरबदल गर्दै डेपुटी गभर्नरको संख्या थप्न फरक-फरक सुझाव सहितको संशोधन हालेका हुन्।

सांसद खड्काको प्रस्तावमा एक जना थप डेपुटी गभर्नर नियुक्त गर्ने र उक्त पदमा राष्ट्र बैंकको सेवाभन्दा बाहिरका दक्ष व्यक्तिलाई ल्याइनुपर्ने उल्लेख छ।

त्यस्तै, राप्रपाकी सांसद ओलीले तीन जना डेपुटी गभर्नरमध्ये दुई जना बैंकभित्रकै योग्य अधिकारीहरूबाट र बाँकी एक जना बाहिरका योग्यता पुगेका प्रतिष्ठित विज्ञहरूबाट छनोट गर्नुपर्ने प्रस्ताव गरेकी छन्। अर्का सांसद मल्लले भने नियुक्ति प्रक्रिया खुला नगरी डेपुटी गभर्नरको संख्या मात्र तीन पुर्‍याउनुपर्ने सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस्