आईएमई लाइफद्वारा फेलोसिप सोसाइटी नेपाललाई आर्थिक सहयोग « Arthapath.com
३ असार २०८३, बुधबार

आईएमई लाइफद्वारा फेलोसिप सोसाइटी नेपाललाई आर्थिक सहयोग



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले शिक्षा क्षेत्रमा पहुँच विस्तार गर्ने उद्देश्यले रु. ५ लाख आर्थिक सहयोग उपलब्ध गराएको हो। उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराइनेछ।

ब्रेल किताब, स्लेट, स्टाइलस, कम्प्युटर तथा स्क्रिन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामग्रीहरूको व्यवस्थाले दृष्टिविहीन बालबालिकाको अध्ययनलाई सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। आईएमई लाइफ इन्स्योरेन्सका अनुसार यस सहयोगले समावेशी शिक्षा प्रवर्द्धन गर्दै दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग पुग्नेछ।

फेलोसिप सोसाइटी नेपाल सन् २००० देखि दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा कार्यरत संस्था हो। संस्थाको लामो अनुभव र आईएमई लाइफको सामाजिक प्रतिबद्धताले समावेशी समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ। कम्पनीले “एनस्युरिङ फ्युचर” भन्ने मूल नारालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्