गाउँगाउँमा फोन र इन्टरनेटको पहुँच सुधार्न १६ सय नयाँ टावर थपिँदै, कुन प्रदेशमा कति? « Arthapath.com
३ असार २०८३, बुधबार

गाउँगाउँमा फोन र इन्टरनेटको पहुँच सुधार्न १६ सय नयाँ टावर थपिँदै, कुन प्रदेशमा कति?



नेपालका ग्रामीण र दुर्गम क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट सेवाको गुणस्तर सुधार्न सरकारले थप झन्डै १६ सय नयाँ टावर निर्माणको प्रक्रिया अघि बढाएको छ।

काठमाडौँ । नेपालका ग्रामीण तथा दुर्गम भेगमा मोबाइलको नेटवर्क नटिक्ने र इन्टरनेटको गति सुस्त हुने पुरानै समस्या समाधान गर्न सरकारले नयाँ कदम चालेको छ। देशभर दूरसञ्चार सेवाको पहुँच पुर्‍याउन र यसको गुणस्तर खस्कन नदिन थप करिब १६ सय वटा नयाँ टेलिफोन टावर र सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अघि बढाइएको हो।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यो जानकारी दिए। गाउँघरबाट दूरसञ्चार र इन्टरनेट सेवा कमजोर भएको गुनासो निरन्तर आइरहेकाले त्यसलाई सम्बोधन गर्न मन्त्रालय गम्भीर भएर लागेको उनले बताए।

सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार आगामी आर्थिक वर्षमा नेपाल टेलिकममार्फत मन्त्रालयको आफ्नै बजेटभन्दा पनि बढी रकम सञ्चार क्षेत्रको सुधारमा खर्च गरिनेछ।

ग्रामीण क्षेत्रमा सेवाको विस्तार र गुणस्तर बलियो बनाउनका लागि मात्रै नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको जानकारी उनले दिए। यो लगानीले देशका दूर्गम कुनाकाप्चासम्म सञ्चारको पहुँच पुर्‍याउन मद्दत गर्ने विश्वास सरकारले लिएको छ।

कहाँ छन् टावर, कहाँ कति थपिँदै?

अहिले देशभर कुल ४ हजार ८२९ वटा दूरसञ्चार साइटहरू सञ्चालनमा रहेका छन्। प्राविधिक अध्ययनहरूले सेवाको पहुँच र गुणस्तर चुस्त राख्नका लागि अझै धेरै ठाउँमा नयाँ पूर्वाधार थप्नुपर्ने देखाएका छन्।

प्राधिकरण र टेलिकमको मूल्याङ्कनका आधारमा देशका सातै प्रदेशमा गरी तत्कालै १ हजार ४४३ वटा नयाँ साइटको आवश्यकता पहिचान गरिएको छ। तर भविष्यको चाप र आवश्यकतालाई समेत मध्यनजर गर्दै सरकारले करिब १६ सय साइटका लागि खरिद प्रक्रिया नै अगाडि बढाउन लागेको हो।

हाल देशभर सञ्चालनमा रहेका र आगामी दिनमा थपिने टावरहरूको प्रादेशिक अवस्था फरक-फरक छ। सबैभन्दा बढी टावर रहेको बागमती प्रदेशमा हाल १ हजार २७७ साइट चालू छन् भने त्यहाँ थप ३८९ वटा आवश्यक देखिएको छ। यस्तै, लुम्बिनीमा ८१९ वटा सञ्चालनमा रहेकोमा थप २०० वटा, कोशीमा ७६० वटा सञ्चालनमा रहेकोमा थप २५७ वटा, र गण्डकीमा ५९९ वटा सञ्चालनमा रहेकोमा थप ७६ वटा नयाँ साइट थप्ने योजना छ।

तराईको मधेश प्रदेशमा हाल ५६८ वटा साइट क्रियाशील छन् र त्यहाँ थप २२८ वटा बनाउनुपर्ने देखिएको छ। भौगोलिक रूपमा विकट मानिएका सुदूरपश्चिममा ५०१ साइट चालू रहेकोमा थप १७२ वटा र कर्णालीमा ३०५ वटा सञ्चालनमा रहेकोमा थप १२१ वटा नयाँ टावर थपेर दूरसञ्चार सेवा सुधार्ने तयारी भइरहेको छ।

विदेशी उपकरणको भर

यी नयाँ टावर र अतिरिक्त साइटहरू सञ्चालनमा आएपछि देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँचमा निकै ठूलो सुधार आउने सरकारी बुझाइ छ। यद्यपि, दूरसञ्चारका लागि आवश्यक पर्ने अधिकांश प्राविधिक उपकरण र सामग्रीहरू विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ। यसले गर्दा सामान आइपुग्न र काम सम्पन्न हुन केही समय लाग्न सक्ने मन्त्री तिमिल्सिनाले उल्लेख गरे।

तर सञ्चार सामग्री खरिद र जडानमा धेरै ढिलाइ हुन नदिन मन्त्रालयले सम्बन्धित सेवा प्रदायक संस्थाहरूसँग नियमित समन्वय गरिरहेको छ। तोकिएकै समयसीमा भित्र सबै काम सक्न निर्देशन दिइसकिएको जानकारी दिँदै सञ्चारमन्त्रीले नागरिकले गुणस्तरीय र भरपर्दो सञ्चार सेवा पाउनु उनीहरूको अधिकार भएकाले सरकार यसप्रति संवेदनशील भएर तीव्र गतिमा काम गरिरहेको बताए।


प्रतिक्रिया दिनुहोस्