सहकारीले बचतकर्ताको मात्रै होइन, बैंकको पनि ऋण तिरेका छैनन्, बढ्न थाल्यो कालो सूचीमा पर्नेको संख्या « Arthapath.com
५ असार २०८०, मंगलवार

सहकारीले बचतकर्ताको मात्रै होइन, बैंकको पनि ऋण तिरेका छैनन्, बढ्न थाल्यो कालो सूचीमा पर्नेको संख्या



काठमाडौं । पछिल्लो समय कालो सूचीमा पर्ने सहकारीको संख्या बढ्न थालेको छ । नेपाली अर्थतन्त्रमा देखिएको आर्थिक संकटका कारण पनि धेरै सहकारीहरु समस्याग्रस्त छन् । जसले कालो सूचीमा पर्ने सहकारीको संख्या पनि उत्तिकै बढेको हो ।

सहकारीहरुले बैंकको ऋण पनि तिर्न नसक्दा कर्जा सुचना केन्द्रको कालोसुचीमा पनि पर्न थालेका हुन् । बचतकर्ताको ऋण तिर्न नसक्दा पछिल्लो समय केही सहकारी बन्द पनि भइसकेका छन् । साथै, सहकारी बिभागको कालोसुचीमा पनि परेका छन् । त्योसँगै बैंकबाट ल्याएको ऋण समेत तिर्न नसक्दा सहकारीहरु कालोसुचीमा पनि पर्न थालेका हुन् । बैंक तथा वित्तिय संस्थाहरुको सिफारिसमा पछिल्लो तथ्याङ्क अनुसार कर्जा सुचना केन्द्रले १७५ सहकारीलाई कालोसुचीमा राखेको छ ।

आर्थिक मन्दीका कारण सहकारीहरुले गरेको ऋण लगायतका लगानी फिर्ता आउन सकेको छैन । कतिपय सहकारीका सञ्चालकहरुले मनपरी रुपमा पैसा लगानी गर्दा पनि समस्या देखिएको छ । त्यसले गर्दा थुप्रै सहकारीहरुले बचतकर्ताको रकम फिर्ता त गर्न सकेका छैनन् नै । त्यसले गर्दा थुप्रै सहकारीहरु बन्द पनि भएका छन् । सोही क्रममा उनीहरुले बैंकको ऋण समेत तिर्न नसक्दा कर्जा सुचना केन्द्रका कालो सुचीमा समेत पर्न थालेका हुन् ।

सहकारीहरुले बैंक तथा वित्तिय संस्थाहरुकाट ऋण लिएर पनि पुँजी परिचालन गर्न पाउछन् । तर, त्यसरी लिएको कर्जा पनि उनीहरुले तिर्न नसकेको पुष्टी भएको हो । ६ महिनासम्म कर्जाको किस्ता तिर्न नसकेपछि बैंकहरुले त्यस्ता ऋणीलाई कालोसुचीमा राख्न सक्छन् । सोहीअनुसार सहकारीहरु कालोसुचीमा परेका हुन् ।

नेपालमा पहिलो पटक २०६० पुस मा शैक्षिक समाज नामक सहकारी संस्था कर्जा सुचना केन्द्रको कालोसुचीमा परेको थियो । त्यस यता भने कालोसुचीमा पर्ने सहकारी संस्थाहरु नगन्य थिए । तर, चालु आवमा कालोसुचीमा पर्ने सहकारीको संख्या ह्वात्तै बढेको छ । पछिल्लो समय अधिकांश सहकारी संस्थाहरु समस्या ग्रस्त हुन थालेका छन् ।

सहकारीहरुको कारोबार माथि सरकारको सही नियमन छैन । सहकारीहरुले मनपरि रुपमा घरजग्गा लगायतका क्षेत्रमा लगानी गर्दै आएका छन् । तर, अहिले घरजग्गा व्यवसाय चलायमान नहुँदा सहकारीहरु पनि समस्याग्रस्त छन् । आर्थिक संकटका कारण सहकारीहरुको ऋण लगानी पनि असुल भएको छैन । यसरी बचतकर्ताहरुको बचत नै जोखिममा परेको छ । पछिल्लो समय बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि देशभर थुप्रै सहकारीहरु बन्द हुन थालेका छन् । सहकारी विरुद्ध बचतकर्ताको आन्दोलन पनि हुन थालेको छ ।

कालो सूचीमा पर्नेमा जीवन सुन्दर कृषि सहकारी लिमिटेड,स्मृति बचत तथा ऋण सहकारी संस्था, सनराइज बचत तथा ऋण सहकारी, तुलसी बहुमुखी सहकारी संस्था, साथीभाइ बचत तथा ऋण सहकारी तिरिमिरि बचत तथा ऋण सहकारी संस्था, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था कर्जा सुचना केन्द्रको कालोसुचीमा छन् । यस्तै, हाम्रो कृषि तथा पशुपालन सहकारी, सन्ध्या बचत तथा ऋण सहकारी संस्था, नयाँ तारा बचत तथा ऋण सहकारी, अनुरोध बचत तथा ऋण सहकारी संस्था, गेल्डेनरोज सेभिङ एण्ड क्रेडिट, हिउचुली सेभिङ एण्ड क्रेडिटल इमानुअल बचत तथा ऋण सहकारी संस्था, सुमार्ग बचत तथा ऋण सहकारी लगायत सहकारी पनि सूचीमा रहेका छन् ।

दर्जन बढी सहकारीको छानविन गर्दै सीआईवी

पछिल्लो सहकारी विरुद्ध पर्ने उजुरी पनि बढ्दै गएको छ । अहिले नै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले दर्जन भन्दा बढी सहकारीको छानविन गरिरहेको छ ।

सिआइबीले हाल शिव शिखर सहकारी र एकताबद्ध सहकारीका सञ्चालक पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिव शिखरले बचर्तकर्ताको १४ अर्ब रुपैयाँ फिर्ता गरेको छैन । यता, बुढानीलकण्ठको एकताबद्ध सहकारी विरुद्ध भने ८ करोड १८ लाख निक्षेपको दावी परेको बताएको छ । सो सहकारीमा ९५८ सदस्य छन् ।

यस्तै, सहकारी विभागले ललितपुरको कुमारीपाटीस्थित पशुपति सहकारी, चुच्चेपाटीको एभर ट्रस्ट सहकारी, तिनकुनेको रियल गोर्खा सहकारीका सञ्चालकलाई पनि पक्राउ गरी कारबाही गर्न सीआइबीलाई पत्राचार गरेको छ ।

त्यस्तै, बानेश्वरमा रहेको सन्ध्या ऋण तथा बचत सहकारी संस्था, हरित कृषि सहकारीविरुद्ध पनि उजुरी परेको बताइएको छ । त्यसैगरि ललितपुरको लालीगुराँस, नेसनल, सुमेरु, देउराली, काठमाडौंको कुलेश्वरस्थित गौतमश्री सहकारी लगायत विरुद्ध पनि मुद्दा पर्न थालेको छ ।

काठमाडौंको एबिसी बचत तथा ऋण सहकारी संस्था, स्मृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, अक्षता बचत तथा ऋण सहकारी संस्था, राइजिङ अप बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरको सातदोबाटोस्थित मञ्जरी बहुउद्देश्यीय सहकारी संस्था, भद्रकाली कृषि सहकारी संस्था लिमिटेड, सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विश्वास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध पनि प्रहरीमा मन्त्रालयले पत्राचार गरेको छ ।

टोखाको जयअम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्युचाटारको विशुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोलढुंगाको जनप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं तिनकुनेको भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध पनि निकायमा उजुरी परेको बताइएको छ ।

त्यसैगरि न्युरोडको लवकुश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, राष्ट्रप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाराजगन्जको हिउँचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि बचत फिर्ता गर्न सकेको छैन । यी सहकारीहरु माथि अनुसन्धान गर्ने प्रक्रिया अघि बढाइको सीआईवीको भनाइ छ ।

प्रत्येक वर्ष बेग्रल्ती बढ्दै सहकारी ठगी, प्रहरीमा मुद्दाको चाङ

पछिल्लो समय सहकारी ठगीको घटना बेग्रल्ती बढ्दै गएको छ । पछिल्लो समयमा देखिएको आर्थिक संकटका कारण यस्तो ठगीको घटना बढेका छन् ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा सहकारी ठगीको ३८ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । गत चैत मसान्तसम्ममा १ अर्ब ४७ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको ठगीको मुद्दा दर्ता भएका छन् । तर, गत आवमा भने १५ वटा मात्रै सहकारी ठगीको मुद्दा दर्ता भएको थियो । समिक्षा अवधिमा ५० जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

यद्यपि, गत आवको रकमको आधारमा भने सबैभन्दा धेरै अर्थात ७ अर्ब ३९ करोड ३५ लाख २९ हजार रुपैयाँ बराबरको बिगो दावी सहित मुद्दा दर्ता भएको थियो । गत आवमा कुल ७ अर्ब ३९ करोड ३५ लाख २९ हजार बराबरको यस्तो गठी भएको थियो । गत आवमा सिभिल सहकारीको ठगी मुद्दाले गर्दा यस्तो रकम बढी हुन गएको थियो । सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले बचतकर्ताको अर्बाै पैसा हिनामिना गरेको मुद्दा गत आवमा दर्ता भएको थियो । उनी विरुद्ध ७ अर्ब रुपैयाँ भन्दा बढी बिगो सहित मुद्दा दर्ता भएको थियो, त्यसले गर्दा गत आवमा यस्तो रकम बढी हुन गएको थियो । गत आवमा प्रहरी सहकारी ठगी मुद्दामा ४७ जनालाई पक्राउ गरेको थियो ।

सहकारीका संचालकहरुमा बढी महत्वकांक्षा हुँदा पनि ठगी बढ्दै गएको देखिएको छ । साथै, पछिल्लो समय देखिएको तरलता अभावको समस्या सहकारीहरुमा पनि देखिएको छ । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । त्यस्ता कारणले पनि सहकारी ठगीको मुद्दा बढेको प्रहरीको भनाइ छ ।

सहकारी विभागमा पनि बचत डुबेको, सहकारीबाट हुने विविभन्न बदमासी र संचालक भाग्ने गरेको भन्दै गुनासो तथा उजुरी पनि उत्तिकै बढ्दो रहेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार पनि सहकारी ठगीका घटना प्रत्येक वर्ष बढ्दो छ ।

कुन वर्ष कति मुद्दा दर्ता ?

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ वटा मुद्दा दर्ता भएको थियो । सो आवमा १ करोड १२ लाख ६४ हजार रुपैयाँ बराबरको बिगो दावी सहित प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने व्यक्तिमध्ये ६ जना पुरुष थिए भने १ जना महिला रहेको थियो ।

यस्तै, आव २०७५/७६ मा ६ वटा मुद्दा दर्ता भएको थियो । सो आवमा कुल ७६ लाख ५४ हजार ९३० बिगो दावीसहित ६ जना पुरुष र २ जना महिला गरि कुल आठ जना व्यक्ति पक्राउ गरेका थिए ।

प्रहरीको तथ्याङ्क अनुसार आव २०७६/७७ मा २६ करोड १२ लाख १८ हजार रुपैयाँ बिगो दावी माग सहित आठ वटा मुद्दा दर्ता भएको थियो । सो घटनामामा १३ जना व्यक्ति पक्राउ गरेका थिए । पक्राउ पर्नेमध्ये ९ जना पुरुष र ४ जना महिला थिए ।

त्यसैगरि आव २०७७/७८ मा भने सबैभन्दा धेरै अर्थात ७७ जना सहकारी ठगी मुद्दामा पक्राउ गरेका थिए । सो आवमा कुल १ अर्ब ११ करोड ४५ लाख १२ हजार रुपैयाँ बराबरको बिगो माग दावी सहित २० वटा मुद्दा दर्ता भएको थियो । गत आव २०७८/७९ मा भने कुल ४७ जना सहकारी ठगी मुद्दामा पक्राउ गरेका थिए । सो आवमा सहकारी ठगी सम्वन्धी १५ वटा मुद्दा दर्ता भएको थियो ।

प्रहरीको तथ्याङ्क अनुसार गत आवमा ७ अर्ब ३९ करोड ३५ लाख २९ हजार रुपैयाँ बराबरको बिगो दावी सहित मुद्दा दर्ता भएको थियो । सो मुद्दामा ४१ जना पुरुष र ६ जना महिला गरि कुल ४७ जना व्यक्ति पक्राउ गरेका थिए । चालु आवको फागुन मसान्तसम्ममा भने ७९ करोड ७० लाख ५ हजार रुपैयाँ बिगो दावी सहित मुद्दा दर्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्