बैंकिङ प्रणालीमा अधिक तरलता: २३ दिनका लागि फेरि ६० अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

बैंकिङ प्रणालीमा अधिक तरलता: २३ दिनका लागि फेरि ६० अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक



काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार बजारबाट पैसा खिचिरहेको छ।

यसैक्रममा केन्द्रीय बैंकले आज (जेठ २७ गते) पुनः २३ दिनका लागि ६0 अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको छ ।

वित्तीय प्रणालीमा रकम थपिएर तरलता व्यवस्थापनमा चाप परेपछि बैंकले आज दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र बोलकबोल खुला गर्ने निर्णय गरेको हो।

केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।

इच्छुक संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी संकलन गरिएको निक्षेप उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सुविधा दिइएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा गर्नुपर्नेछ भने सहभागी संस्थाहरूले बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन् । बोलकबोल गर्दा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदरको अङ्क दशमलव पछिको चार अक्षरसम्म स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने सर्त राखिएको छ ।

संकलित रकमको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखिनेछ भने समान ब्याजदर परेका बोलपत्रहरूको हकमा ‘प्रो-राटा बेसिस’मा रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

जेठ २७ गते निष्काशन हुने यस २३ दिने निक्षेप संकलन उपकरणको साँवा तथा निर्धारित ब्याज भुक्तानी आउँदो असार १९ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस्