तरलता समस्याको असर शेयर बजारपछि अब घरजग्गामा, सुस्तायो रियलइस्टेट
काठमाडौं । बैंकमा तरलता संकट भएपछि शेयर बजार घट्न थालेको त सबैले देखिरहेकै कुरा हो । अब यसको असर घरजग्गामा पनि देखा परेको छ । गएको भदौपछि जग्गाको किनबेच पनि सुस्ताएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पछिल्लो तीन महिनामा लगातार जग्गाको कित्ताकाट घट्न थालेको छ ।
बैंकहरु अहिले नयाँ ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । यो अवस्ता तत्कालै साम्य हुने छाँटकाँट देखिएको छैन । सरकारले आयातमा खासै प्रतिरोध गरेको छैन । महँगा गाडीदेखि उच्च मूल्यका विद्युतीय उपकरणसम्मको आयात ह्वात्तै बढेपछि पछिल्लो समय नेपालबाट भारी परिमाणमा पैसा विदेसिन थालेको छ । अर्कातिर नेपालभित्रै पनि बढ्दो विकास निर्माणका कामले बैंकको ऋण प्रवाह बढिरहेको छ ।
पछिल्लो एक महिनामा २७ बाणिज्य बैंकबाट ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । अर्कातिर त्यति नै रकम कर्जा बढेको छ । राष्ट्र बैंकको नियम अनुसार १०० रुपैयाँ निक्षेप लिएपछि बैंकले त्यसबाट ८५ रुपैयाँमात्रै कर्जा लगानी गर्न पाउँछन् । तरु अहिले प्रत्येक १०० मध्ये ९३ रुपैयाँभन्दा धेरै पैसा ऋण लगानी भइसकेको छ ।

पैसा अभाव भएपछि बैंकहरु ब्याजदर बढाउन उत्प्रेरित भएका छन् । राष्ट्र बैंकले तत्बाल ब्याजदर ह्वात्तै माथि जान नदिन थुप्रै नीतिगत प्रावधान अघि सारे पनि बैंकमा पैसा नै नहुने र भए पनि ब्याज महँगो पर्ने चूनौति देखिएको छ । यस्तो अवस्थाले बैंकहरु जग्ग किन्न पहिलेजस्ता ‘आँखा चिम्लेर’ लगानी गर्ने हालतमा छैनन् । बैंकको पैसा नआएपछि मूलतः शहरी क्षेत्रमा जग्गा किन्नु असम्भवप्रायः हुन्छ ।
यही कारणले अहिले घरजग्गाको कारोबार सुस्ताउन थालेको जग्गा व्यवसायि बताउँछन् । यसअघि सरकारले २०७४ सालमा जग्गाको कित्ताकाट रोक्ने निर्णय गरेको थियो । भू–उपयोग नीतिको कार्यान्वयन गर्नेभन्दै ल्याइएको यस्तो नीतिले सर्वसाधारण जनतालाईमात्रै कित्ताकाट गर्न रोक्यो । पैसा र राज्यको माथिल्लो तहमा पहूँच (पावर) भएका मानिसले धमाधम कित्ताकाट गरिरहे । यसरी सरकारले औपचारिक रुपमा कित्ताकाट रोकेको २०७४ मा ५ लाख कित्ताकाट भएकोमा गत आर्थिक वर्षसम्म आउँदा १२ लाख पुग्यो ।

तर साउनपछि भने कित्ताकाटकोे यो रफ्तार निकै घटेको छ । साउनमा १ लाख ६६ हजार कित्ताकाट भएकोमा कात्तिकसम्म आउँदा यो संख्या निरन्तर घटेर १ लाख १० हजारमा झरेको छ । जग्गाको स्वामित्व हस्तान्तरण (लिखत पास) गर्ने संख्याभन्दा सामान्य अवस्थामै पनि कित्ताकाट बढी हुने गरेको छ ।
यसअघि नियमित अवस्थामा मासिक औसत १ लाख हाराहारी लिखत पास (स्वामित्व हस्तान्तरण) हुँदा ढेड लाखभन्दा बढी कित्ताकाट हुने गरेको विभागले बताएको छ । भाइ भाइमा अंशवण्डा गर्नेदेखि जग्गा विकास गर्ने कम्पनीहरुले एकैपटक ठूलो आकारमा जग्गाको कित्ताकाट गर्नेजस्ता कारणले सामान्य अवस्थामै पनि कित्ताकाट बढी हुने गरेको छ । अहिले स्वामित्व हस्तान्तरण गर्ने लिखत पास गर्नेको संख्या ५० हजार हाराहारीमा झरिसकेको विभागले बताएको छ ।













