‘अहिलेको ब्याजदर उच्च होइन, अझै बढ्ने स्थिति छ’: कार्यकारी निर्देशक श्रेष्ठ « Arthapath.com
१७ कार्तिक २०७९, बिहीबार

‘अहिलेको ब्याजदर उच्च होइन, अझै बढ्ने स्थिति छ’: कार्यकारी निर्देशक श्रेष्ठ



काठमाडौं । नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले वर्तमान अवस्थामा तरलता अभाव नभएको दावी गरेका छन् ।

निर्देशक श्रेष्ठले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीहरुको खेल्नुपर्ने भुमिका विषयक अन्तरक्रिया कार्यक्रम बजारमा तरलता अभाव नभई लगानी योग्य रकमको अभाव रहेको बताएका हुन् ।

‘नेपालमा आयातका लागि ठुलो रकम विदेशीने भएकाले तरलता अभाव जस्तो देखिएको हो । विश्व अर्थतन्त्रमा परेको प्रभाव, कोरोना महामारी लगायतका घटनाले यस्तो देखाएको मात्र हो’ उनले भने ।

पछिल्लो दुई महिनाको तथ्याङ्क हेर्नेहो भने निक्षेप पनि करिब साढे ७ प्रतिशत, कर्जा पनि साढे ७ प्रतिशतले वृद्धि भएको र अहिले पनि ४६ खर्ब रुपैयाँ कर्जा लगानीमा रहेको उनले जानकारी दिए ।

‘विश्वका हरेक देश अहिले केही न केही समस्यामा रहेको छन, अहिले विदेशी विनिमय सञ्चिति घटेको भएपनि पहिला जस्तो डराउनु पर्ने अवस्था छैन’,–श्रेष्ठले भने ‘विदेशी सञ्चिति बोर्डर लाइन छ, विदेशी विनिमय सञ्चिति वृद्धि नभएसम्म बैंकिङ तरलता अभावको समस्या समाधान हुँदैन ।’

विदेशी विनिमय सञ्चिती थप वृद्धि भएपछि मात्रै बैंकिङ तरलता अभावको समस्या समाधान हुने र ब्याजदरमा हेरफेर हुने उनले बताए । राष्ट्र बैंकले घट्दो विदेशी सञ्चिति दरलाई रोक्न नीतिगत परिवर्तन गरेको र पछिल्लो दुई महिनामा आयात घटेर ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी सञ्चिति रहेको उनले जानकारी दिए ।

विदेशी विनिमय सञ्चिति नबढेसम्म बैंकिङ तरलतामा हिजोको जस्तो सहजता नहुने उनले बताए । उनले भने, –‘विदेशी विनिमय सञ्चिति नबढेसम्म बैंकिङ तरलतामा हिजोको जस्तो सहजता नहुने स्थिति हुन्छ र ब्याजदरमा चाप पर्नेछ । त्यसैले अझै केही समय ब्याजदरमा चाप पर्ने देखिन्छ ।’

उनले भने, ‘अझै पनि सोधानान्तर घाटा र चालु खाता घाटा छ । पोहोरभन्दा कम भएपनि तरलतामा केही दबाब रहने र ब्याजदर बढ्ने स्थिति छ ।’ तर, पछिल्लो समय ब्याजदर वृद्धिलाई लिएर विरोधहरु जनाउँदै बैंकिङ्ग क्षेत्रप्रति आक्रोश व्यक्त भईरहेको उनले बताए ।

‘भदौसम्मको औसत ब्याजदर १२ प्रतिशत पुगेको छ । यो भनेको कुनै ऐतिहाँसिक धेरै होइन ।’ उनले भने,–‘यसअघि २०७५ साल असारमा औषत कर्जाको ब्याजदर १२.४७ प्रतिशत पुगेको थियो, अहिलेको ब्याजदर उच्च होइन ।’

Tags :

प्रतिक्रिया दिनुहोस्