मर्जर सहमति गरेका दश बैंकहरुले थाले एकीकृत कारोबारको तयारी, कहिले हुँदैछ ? « Arthapath.com
४ पुष २०७९, सोमबार

मर्जर सहमति गरेका दश बैंकहरुले थाले एकीकृत कारोबारको तयारी, कहिले हुँदैछ ?



काठमाडौं । करिब एक दर्जन वाणिज्य बैंकहरु मर्ज हुने तयारीमा छन् । एक आपसमा गाभिनका लागि हाल १० वटा वाणिज्य बैंकहरुले मर्जर सम्झौता गरेका छन् ।

हालसम्म नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, कुमारी बैंक र एनसीसी बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू, हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र मर्जर सम्झौता गरेका छन् ।

मर्जर सम्झौता गरेका यी बैंकहरुले एकीकृत कारोबारका लागि कसरत गरिरहेका छन् । बैंकहरुले यहि पुस मसान्तभित्र नै एकीकृत कारोबार थालनी गर्ने तयारी जुटिरहेका हुन् । नेपाल राष्ट्र बैंकले पनि मर्जर सम्झौता गरेका बैंकहरुले पुस मसान्तभित्र नै एकीकृत कारोबार सुरु गर्न आकर्षित भएको बताएको छ ।

पुस मसान्तभित्र मर्ज हुँदा धेरै सुविधा पाउने भएकाले पनि बैंकहरुले एकीकृत कारोबारका लागि तिव्रता दिएको बुझिएको छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जरमा जाने बैंकहरुलाई निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) मा छुट र कुलिङ पिरियड खारेजसम्मको व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट, वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट दिने केन्द्रीय बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने व्यवस्था गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भएको मर्जर प्रक्रियाको अन्तिम सम्झौता स्वीकृत समेत भई सकेको छ । यी दुवै बैंकले गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका थिए ।

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको छ । यी दुवै बैंकको एकीकृत कारोबार भने पुस मसान्तभित्र हुने बताइएको छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँँडे हुनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।

कुमारी बैंक र एनसीसी

गत असोज १० गते नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जरमा जाने समझदारी भएको छ । सेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको हो ।

मर्जपछि बैंकको नाम कुमारी बैंक रहने छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल (हाल एनसीसी बैंकका सीईओ) र बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल रहेछन् । बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फबाट ३/३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालकबाट अध्यक्ष चुनिने बताइएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ । यी दुवै बैंकले पनि पुस मसान्तभित्र एकीकृत कारोबार थालनी गर्ने बताइएको छ । एकीकृत कारोबारका लागि आवश्यक प्रक्रियाहरु अघि बढाइएको बैंक स्रोतले बतायो ।

ग्लोबल आइएमई बैंक र बिओके

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गत असार २ गते प्रारम्भिक सहमति गरेका थिए । यी दुवै बैंक एक आपसमा गाभिनका लागि बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय गरेको थियो ।

यी दुवै बैंकले एक अपसमा गाभ्ने गाभिने प्रयोजनका लागि असार २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी बैंकले एक आपसमा गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताले सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन र अन्य विविध पक्षहरूको समेत मूल्यांकन गरी सिफारिस गरेको शेयर आदानप्रदान अनुपात बैंक अफ काठमाण्डूको १०० कित्ता शेयर हुनेले ग्लोबल आइएमई बैंकको १०० कित्ता शेयर पाउने गरी निर्णय भएको बैंकले जनाएको छ । दुबै मर्जर पछि चुक्तापूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । बैंकले हाल एकीकृत कारोबारका लागि तयारीमा जुटको बताइएको छ ।

ग्लाेवल आईएमई बैंकका डेपुटी सीईओ सुरेन्द्र रेग्मीले मर्जर पुष २० भित्रे सक्ने तयारी भएकाे बताए । ‘हामी पुष कट्न नदिनेगरी काम गरिरहेका छाैं’ रेग्मीले भने ।

हिमालयन र सिभिल बैंक

हिमालयन बैंकले सिभिल बैंकले प्राप्ति गर्न गत असार २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् । हिमालयन बैंकले १००ः८१ को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा सिभिल बैंकलाई प्र्राप्ति गर्न लागेको हो । मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ । सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको जनाएको छ । बैंकले एकीकृत कारोबारका लागि आवश्यक काम अघि बढाएको र पुस भित्र सुरुवात गर्ने बताइएको छ ।

प्रभु बैंक र सेञ्चुरी बैंक

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले हस्ताक्षर गरेका थिए । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । बैंकले पनि पुसभित्र नै एकीकृत कारोबार गर्न आवश्यक प्रक्रियालाई तिव्र पारेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्