वाणिज्य बैंकहरुले घटाए लाभांश दर, यस वर्ष बोनसमा भन्दा नगदमा किन जोड ? « Arthapath.com
६ पुष २०७९, बुधबार

वाणिज्य बैंकहरुले घटाए लाभांश दर, यस वर्ष बोनसमा भन्दा नगदमा किन जोड ?



काठमाडौं । लाभांश सिजन चलिरहेको छ । बैंक तथा वित्तीय कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म २० वटा बैंकले लाभांश घोषणा गरेका छन् ।

एनआईसी एशियासहित चार बैंकले भने यस वर्ष सेयरधनीको हात रित्तो बनाएका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र सनराइज बैंकले गत आवकोको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएका हुन् ।

राष्ट्र बैंकको कानुनी प्रावधानअनुसार पुँजी कोष टाइट भएका बैंकहरुले यस वर्ष लाभांश नदिने निर्णय गरेका हुन । अब लाभांश घोषणा गर्न बाँकी दुई बैंक मात्र रहेका छन् । लाभांश घोषणा गरेका अधिकांश बैंकहरुले पनि बोनस भन्दा नगदमा जोडदिएका छन् ।

बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । तर, यस वर्ष भने बैंकहरुको लाभांश दर भने घटेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुले लाभांश दर घटाएका छन् । गत आवमा नाफा वृद्धि गरेता पनि बैंकहरुले लाभांश दर भने घटाउँदै गएका हुन् । यद्यपि, बैंकको पुँजी वृद्धिअनुसार व्यवसाय बढाउन नसक्दा लाभांश दर घटाएको राष्ट्र बैंकका अधिकारीले बताए ।

सिटिजन बैंक

यस वर्ष लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो सिटिजन बैंक । बैंक गत आवको मुनाफाबाट ९ प्रतिशत नगद लाभांश दिने घोषण गरेको हो । बैंक यस वर्ष आफ्ना सेयरधनीलाई बोनस सेयर नदिने भएको हो । बैंकले प्रस्ताव गरेको सो लाभांश पनि पारित गरिसकेको छ । अघिल्लो आव २०७७/७८ को मुनाफबाट भने बैंकले १२.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कुमारी बैंक

कुमारी बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई पनि यस वर्ष नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । अघिल्लो आवको मुनाफाबाट बैंक आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश वितरण बाँडेको थियो ।

एनसीसी बैंक

एनसीसी बैंकले पनि यस वर्ष नगदमा जोड दिएको छ । बैंक आफ्ना सेयरधनीलाई गत आवको मुनाफाबाट ३.३७ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश दिने भएको छ । तर, अघिल्लो आवको मुनाफबाट बैंकले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

स्ट्याण्र्डर्ड चार्टर्ड

स्ट्याण्र्डर्ड चार्टर्ड बैंकले पनि यस वर्ष नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । गत आवको मुनाफाबाट बैंकले १६.५१ प्रतिशत मात्र नगद लाभांश दिने भएको हो । अघिल्लो आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि कुल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सानिमा बैंक

सानिमा बैंकले यस वर्ष लाभांश दर घटाएको छ । अघिल्लो आवको मुनाफाबाट १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश दिएको बैंकले यस वर्षका लागि १०.९८ प्रतिशत लाभांश घोषणा गरेको हो । गत आवको मुनाफाबाट बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने भएको छ । सो लाभांश बैंकले साधारण सभाबाट पारित गरिसकेको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाणडूले पनि नगदमा जोड दिएको छ । बैंकले यस वर्षका लागि ६ प्रतिशत बोनस सेयर १४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो । अघिल्लो आवको मुनाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिएको थियो ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले पनि नगदमै जोड दिएको छ । यस वर्षका लागि बैंकले आफ्ना सेयरधनीलाई ३ प्रतिशत मात्रै बोनस र १०.६० प्रतिशत नगद लाभांश दिने भएको हो । अघिल्लो आवको मुनाफाबाट गत वर्ष भने बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद लाभांश दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको यस वर्ष लाभांश दर घटको छ । अघिल्लो आवको मुनाफाबाट १२.६१ प्रतिशत बोनस सेयर र ३.३९ प्रतिशत नगद लाभांश दिएको थियो । तर, यस वर्षका लागि भने बैंकले आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

मेगा बैंक

मेगा बैंकले यस वर्षका लागि ७.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंक गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष भने बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले यस वर्षका लागि आफ्ना सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । अघिल्लो आवको तुलनामा भने बैंकको लाभांश दर वृद्धि भएको हो । अघिल्लो आवको मुनाफाबाट बैंकले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रभु बैंक

प्रभु बैंकका लाभांश दर पनि घटेको छ । गत वर्ष १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले यस वर्षका लागि भने ८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने भएको हो ।

सेञ्चुरी बैंक

सेञ्चुरी कमर्सियल बैंकले पनि लाभांश दर घटाएको छ । यस वर्षका लागि बैंकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । गत वर्ष भने अघिल्लो आवको मुनाफाबाट ७.७५ प्रतिशत बोनस र ०.३० प्रतिशत नगद गरि कुल ६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । अघिल्लो आवको मुनाफबाट गत वर्ष भने बैंकले ३.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.८१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नबिल बैंक

नबिल बैंकले गत आवको मुनाफबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १८.५० प्रतिशत बोनस र ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आवको तुलनामा बैंकको लाभांश दर भने घटेको हो । अघिल्लो आवको मुनाफबाट गत वर्ष बैंकले ३३.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद गरि कुल ३८ लाभांश वितरण गरेको थियो ।

एनएमबि बैंक

एनएमबि बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना सेयरधनीलाई यस वर्ष बोनस सेयर नदिने भएको हो । तर, अघिल्लो आवको नाफाबाट बैंक गत वर्ष १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग ३.३० प्रतिशत नगद गरि कुल १५.८० प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल बैंक

नेपाल बैंक यस वर्षका लागि लाभांश दर घटाएको छ । गत आवको मुनाफाबाट बैंकले सेयरधनीलाई बोनस भन्दा नगदमा जोड दिएको छ । बैंकले २ प्रतिशत बोनस दिँदा ० प्रतिशत नगद लाभांश बाँड्ने भएको हो । गत वर्ष भने बैंकले अघिल्लो आवको मुनाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सिद्धार्थ बैंक

यस वर्ष सिद्धार्थ बैंकले पनि लाभांश दर घटाएको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद लाभांश वितरण गर्ने भएको हो । तर, गत वर्ष भने बैंकले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत लाभंश वितरण गरेको थियो ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले पनि यस वर्ष लाभांश दर घटाएको छ । अघिल्लो वर्षको मुनाफबाट गत वर्ष १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत गरि कुल १६.६३ प्रतिशत लाभांश बाँडेको थियो । तर, यस वर्षका लागि भने बैंकले ४ प्रतिशत बोनस र ४.९५ प्रतिशत नगद गरि कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

हिमालयन बैंक

गत आवको मुनाफाबाट हिमालयन बैंकले ८ प्रतिशत बोनस र ११.११ प्रतिशत नगद गरि कुल १९.११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । गत वर्षको तुलनामा बैंकको लाभांश दर भने घटेको हो । यस वर्ष बैंकले पनि बोनसभन्दा नगदमा जोड दिएको हो । अघिल्लो आवको मुनाफाबाट गत वर्ष भने बैंकले २१.३८ प्रतिशत बोनस र ४.६२ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सिभिल बैंक

सिभिल बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो आवको मुनाफाबाट पनि सोही दरमा लाभांश बाँडेको थियो ।


प्रतिक्रिया दिनुहोस्