मञ्जुश्री र गोर्खाज फाइनान्सको वित्तीय सूचकमा चमक, किन घट्यो अन्य वित्त कम्पनीको नाफा ? « Arthapath.com
११ माघ २०७९, बुधबार

मञ्जुश्री र गोर्खाज फाइनान्सको वित्तीय सूचकमा चमक, किन घट्यो अन्य वित्त कम्पनीको नाफा ?



काठमाडौं । फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण धमाधम प्रकाशित गरिरहेका छन् ।

हालसम्म एक दर्जन फाइनान्स कम्पनीले चालु आवको पुस मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । विवरण अनुसार सो अवधिमा कम्पनीहरुको नाफामा गिरावट आएको देखिएको छ ।

चालु आवको ६ महिनामा ३९ करोड ३८ लाख २८ हजार रुपैयाँ मात्र नाफा कमाएको छन् । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा ३६.४५ प्रतिशतले कमी हो । कम्पनीहरुले इम्पेयरमेन्ट चार्ज वापत रकम छुट्याउन परेकाले नाफा घटेको हो । सो अवधिमा मञ्जुश्री फाइनान्स र गोर्खाज फाइनान्सले धेरै नाफा गर्न सफल भएका छन् । यता, समृद्धि फाइनान्स र प्रोग्रेसिभ फाइनान्स भने नोक्सानीमा देखिएका छन् ।

मञ्जुश्री फाइनान्सले कमायो सबैभन्दा धेरै नाफा

चालु आवको ६ महिनामा मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै नाफा कमाएको छ । सो अवधिमा कम्पनीले १३ करोड ६५ लाख २९ हजार रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ८१.०९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५३ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३२ करोड ३७ लाख ७ हजार रुपैयाँ, संचालन मुनाफा १८ करोड ९९ लाख ५७ हजार र वितरण योग्य नाफा १ करोड २० लाख ३५ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ५८ करोड १० लाख ९४ हजार रुपैयाँ राखेको छ । कम्पनीको खराब कर्जा २.०२ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६२ पैसा रहेको छ ।

धेरै नाफा बढाउनेमा गोर्खाज फाइनान्स अगाडि, अन्य सूचकमा पनि उल्लेख्य सुधार

चालु आवको ६ महिनामा गोर्खाज फाइनान्सले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । अन्य कम्पनीहरुको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा कम्पनीको नाफा २४६.९७ प्रीतशतले बढेको हो । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको नाफा ६ करोड ७१ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले १ करोड ९३ लाख ८९ हजार रुपैयाँ नाफा गरेको थियो । अन्य कम्पनीहरुको तुलनामा गोर्खाज फाइनान्सले अधिकांश मुख्य सूचकहरुमा पनि उल्लेख्य सुधार गरेको छ ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८०.३१ प्रतिशतले वृद्धि भई १७ करोड ३५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको कुल संचालन आम्दानी १८ करोड ८१ लाख ८४ हजार रुपैयाँ, खुद संचालन नाफा २४ करोड ६० लाख ६३ हजार र वितरण योग्य मुनाफा २ करोड २९ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ७३ करोड २९ लाख २५ हजार रुपैयाँ राखेको छ । कम्पनीको खराब कर्जा ६.७६ प्रतिशतमा झारेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ८९ पैसा रहेको छ ।

१० फाइनान्सको नाफामा गिरावट

चालु आवको दोस्रो त्रैमासमा १० वटा फाइनान्स कम्पनीको नाफा खस्किएको छ । सो अवधिमा सबैभन्दा धेरै नाफा सेन्ट्रल फाइनान्सको घटेको छ । कम्पनीको नाफा ९८.८६ प्रतिशतले घटेर ३ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ५० लाख ३ हजार रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, सो अवधिमा बेष्ट फाइनान्सको नाफा ९३.०८ प्रतिशतले घटेर ९७ लाख २ हजार रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ७४.८२ प्रतिशतले घटेर ७२ लाख १९ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा नेपाल फाइनान्सले १ करोड ३४ लाख ७९ हजार रुपैयाँ, जानकी फाइनान्स १ करोड ४६ लाख ९२ हजार रुपैयाँ, आईसीएफसीले ३ करोड ९१ लाख ६५ हजार, श्रीइन्भेष्टमेन्ट फाइनान्सले २ करोड ७ लाख ३७ हजार र गुडवील फाइनान्सले ४ करोड ६९ लाख ४३ हजार रुपैयाँ नाफा गरेका छन् । यी सम्पूर्ण कम्पनीहरुको नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा क्रमशः ५९.०८ प्रतिशत, ५८.९९ प्रतिशत, ५७.७२, ५५.११ र ४०.७२ प्रतिशतले घटेको हो ।

समृद्धि र प्रोग्रेसिभ फाइनान्स नोक्सानीमा

चालु आवको पुस मसान्तसम्मा समृद्धि फाइनान्स र प्रोग्रेसिभ फाइनान्स नोक्सानीमा देखिएका छन् ।

सो अवधिमा समृद्धि फाइनान्स ७ करोड ७३ लाख ७० हजार रुपैयाँ नोक्सानीमा देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा ६० लाख २२ हजार रुपैयाँ नाफामा रहेको कम्पनी यस वर्ष भने नोक्सानी व्यहोरेको हो ।

यस्तै, सो अवधिमा प्रोग्रेसिभ फाइनान्स पनि १ करोड ३० लाख २५ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीले २ करोड ४१ लाख ६४ हजार रुपैयाँ नाफा गरेको थियो ।

नोट: कुल अंकमा नोक्सानीमा रहेका फाइनान्स कम्पनीको जोडिएको छैन


प्रतिक्रिया दिनुहोस्