वाणिज्य बैंकको खराब कर्जा बढ्यो: ६ महिनामा १ खर्ब ३७ करोड नाघ्यो, कुन बैंकसंग कति छ ? « Arthapath.com
१५ माघ २०७९, आईतवार

वाणिज्य बैंकको खराब कर्जा बढ्यो: ६ महिनामा १ खर्ब ३७ करोड नाघ्यो, कुन बैंकसंग कति छ ?



काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को पुस मसान्तसम्म वाणिज्य बैंकहरुको खराब कर्जा रकम १ खर्ब माथि पुगेको छ ।

सो अवधिमा बैंकहरुको यस्तो कर्जा १ खर्ब ३७ करोड ३७ लाख रुपैयाँ पुगेको देखिएको हो । बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय रिर्पोट अनुसार पुस मसान्तसम्म खराब कर्जा २.३५ प्रतिशत पुगेको छ, यसलाई रकममा रुपान्तरण गर्दा सो बराबरको खराब कर्जा देखिएको हो ।

वाणिज्य बैंकहरुले पुस मसान्तसम्म ४२ खर्ब ७१ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । त्यसको २.३५ प्रतिशत कर्जा खराब भएको बैंकहरुले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणले देखाएको छ ।

रकमका आधारमा सबै भन्दा बढी खराब कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकसँग देखिएको छ । चालु आवको ६ महिनामा सो बैंकसँग १२ अर्ब १२ करोड रुपैयाँ खराब कर्जा देखिएको छ । सो अवधिमा बैंकको ३.७१ प्रतिशत खराव कर्जा रहेको वित्तीय रिर्पोटमा उल्लेख छ । तथ्याङ्क अनुुसार सो अवधिमा बैंकको कुल कर्जा प्रवाह ३ खर्ब २६ अर्ब ७६ करोड ४५ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंक देखिएको छ । चालु आवको ६ महिनामा बैंकसंग २९२ प्रतिशत खराब कर्जा देखिएको छ । उक्त बैंकसँग रकममा भने १० अर्ब ९९ करोड रुपैयाँ खराब कर्जा रहेको छ । सो अवधिसम्ममा बैंकको कुल कर्जा प्रवाह ३ खर्ब ७६ अर्ब ४३ करोड ६२ लाख ९८ हजार रुपैयाँ देखिएको छ ।

तेस्रोमा रहेको नबिल बैंक रहेको छ । सो बैंकसँग ९ अर्ब ६९ करोड खराब रहेको तथ्यांकमा उल्लेख छ । बैंकको यस्तो कर्जा प्रतिशतमा भने २.९८ प्रतिशत हो । बैंकको कुल कर्जा प्रवाह भने ३ खर्ब २५ अर्ब २२ करोड ८४ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ ।

सो अवधिमा सबैभन्दा कम खराब कर्जा नेपाल एसबिआई बैंकको देखिएको छ । बैंकसंग ०.४७ प्रतिशत अर्थात ५९ कारेड १६ लाख ९१ हजार रुपैयाँ खराब कर्जा रहेको तथ्याङ्कमा उल्लेख छ । चालु आवको पुस मसान्तसम्ममा बैंकले कुल १ खर्ब २५ अर्ब ८९ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा कुमारी बैंक र कृषि विकास बैंकको खराब कर्जा लगभग बराबरीमा देखिएको छ । चालु आवको पुस मसान्तसम्ममा कुमारी बैंकको खराब कर्जा ३.१५ प्रतिशत अर्थात ८ अर्ब ९८ करोड ४७ लाख ७१ हजार रुपैयाँ देखिएको छ । कृषि विकास बैंकको पनि ८ अर्ब ५ करोड ६३ लाख ५९ हजार रुपैयाँ पुगेको तथ्याङ्कमा उल्लेख छ । यी दुवै बैंकले हालसम्म क्रमशः कुल २ खर्ब ८५ अर्ब २३ करोड ८ लाख र १ खर्ब ७८ अर्ब २३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस्तै, सो अवधिमा राष्ट्रिय वाणिज्यको खराब कर्जा २.७९ प्रतिशत अर्थात ६ अर्ब ५२ करोड २८ लाख रुपैयाँ देखिएको छ । बैंकले चालु आवको पुस मसान्तसम्ममा कुल २ खर्ब ३३ अर्ब ७९ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । हिमालयन बैंकको खराब कर्जा ६ अर्ब ८ करोड रुपैयाँ, नेपाल बैंकको ५ अर्ब ४८ करोड ३१ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ५ अर्ब २६ करोड ८७ लाख, प्रभुको ५ अर्ब १ करोड ९ लाख रुपैयाँ रहेको देखिएको छ ।

त्यसैगरि प्राइम कमर्सियल बैंकको खराब कर्जा ४ अर्ब ३९ करोड ९० लाख रुपैयाँ, एनएमबि बैंकको ४ अर्ब २५ करोड ६५ लाख, सिटिजनको ४ खर्ब २३ करोड ६० लाख, सनराइजको ४ अर्ब ८ करोड २१ लाख रुपैयाँ देखिएको छ ।

यता, सिभिल बैंकको खराब कर्जा २ अर्ब १३ करोड ४४ लाख, लक्ष्मी बैंकको २ अर्ब १० करोड ३ लाख, माछापुच्छ«ेको १ अर्ब ९१ करोड १६ लाख, एनआईसी एशियाको १ अर्ब ६२ करोड ६७ लाख, सानिमाको १ अर्ब १४ करोड २४ लाख, एभरेष्टको ९१ करोड १६ लाख र स्टाण्डर्ड चार्टर्ड बैंकको ६९ करोड १७ लाख रुपैयाँ देखिएको छ।

हाल नेपालमा २२ बाणिज्य बैंक संचालनमा रहेका छन् । समिक्षा अवधीमा उनीहरुको खराब कर्जा ११६ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा भने बैंकहरुको खराव कर्जा १.११ प्रतिशत मात्रै थियो, जुन यो बर्ष दोब्बर भन्दा बढी भएको छ ।

बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटले बैंकहरुमा ऋणको किस्ता तथा व्याज असुल हुन सकेको छैन । त्यसैले बैंकहरुको खराव कर्जा बढेको छ । खराव कर्जा बढेसँगै बैंकहरुको नाफा समेत प्रभावित भएको छ । खराव कर्जाको लागि छुट्टै रकम प्रोभिजीनीङ गर्न परेपछि नाफा प्रभावित भएको हो ।

कुनको बैंकसंग कति छ खराब कर्जा ?


प्रतिक्रिया दिनुहोस्