डिजिटल भुक्तानी र कारोबार निरन्तर उकालो, सर्वसाधारणको रोजाइमा मोबाइल बैंकिङ्ग र क्यूआर कोड « Arthapath.com
३१ बैशाख २०८०, आईतवार

डिजिटल भुक्तानी र कारोबार निरन्तर उकालो, सर्वसाधारणको रोजाइमा मोबाइल बैंकिङ्ग र क्यूआर कोड



काठमाडौं । नेपालमा डिजिटल भुक्तानी निरन्तर उकालो लागेको छ । पछिल्लो समया डिजिटल कारोबार र भुक्तानी दुवै वृद्धि भएको हो ।

पछिल्लो समयमा डिजिटल कारोबार आम सर्वसाधारणको पहुँच वृद्धिसंगै निकै नै लोकप्रियता बन्दै गएको पाइन्छ । डिजिटल कारोबारलाई नेपाल राष्ट्र बैंकले पनि बढवा दिँदै आएको छ ।

विशेषत: कोरोना महामारीपछि आम मानिसमा विद्युतीय भुक्तानी तर्फ आकर्षण बढेको तथ्याङ्कले देखाउछन् । नेपालमा कोरोना महामारीपछि मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआर कोड पेमेमेन्ट तर्फ प्रयोगकर्ताहरुको आकर्षण बढेको हो ।सरकारले पनि प्रविधिको विकाससँगै कागजी नोटको प्रयोग घटाउँदै डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्ने नीति लिँदै आएको छ ।

राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाईरहेको छ । राष्ट्र बैंकका अधिकारीका अनुसार पछिल्लो समय नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको बताउँछन् ।

डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानुदिन बढ्दै गएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, क्युआरकोड अर्थात् (क्विक रेस्पोन्स पेमेन्ट) सेवा र मोवाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ।

पछिल्लो समय क्यूआर कोड र मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार झ्न बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार मोबाइल बैंकिङ्ग एक वर्षमा ७९.७७ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्मा मोबाइल बैंकिङ्ग मार्फत १ खर्ब १५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा भने ह्वात्तै बढेर २ अर्ब ७ अर्ब ४५ करोड २० लाख रुपैयाँ पुगेको छ । गत फागुन मसान्तसम्ममा भने १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बराबरको मोबाइल बैंकिङ्ग मार्फत कारोबार भएको थियो । कारोबारसंगै मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्यामा पनि बढोत्तरी देखिएको छ । गत आवको चैत मसान्तसम्मा १ करोड ७३ लाख ८२ हजार ४४८ वटा रहेको थियो । तर, यस वर्षको सोही अवधिसम्म आईपुग्दा भने २ करोड ४ लाख ३४ हजार ३१ पुगेको छ ।

राष्ट्र बैंकको अनुसार क्यूआर कोड मार्फत हुने भुक्तानी भने १५६ प्रतिशतले बढेर २२ अर्ब ८९ करोड २० लाख रुपैयाँ बढी पुगेको छ । गत आवको चैत मसान्तसम्ममा भने यस्तो भुक्तानी ८ अर्ब ९४ करोड २० लाख रहेको थियो । समिक्षा अवधिमा ७६ लाख ४४ हजार ७९१ पटक क्यूआर कोड मार्फत भुक्तानी भएको छ । पछिल्लो समय सानातिना किनमेललाई क्यूआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको राष्ट्र बैंकका अधिकारीले बताए ।

यस्तै, चालु आवको ९ महिनासम्म इन्टरनेट बैंकिङ्ग मार्फत १३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तर, गत आवको चैत मसान्तसम्म भने १३ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार इन्टरनेट बैंकिङ्ग मार्फत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्