हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै « Arthapath.com
११ मंसिर २०८०, सोमबार

हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै



काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्थाको चौथो संशोधन गरेको छ ।

संशोधित व्यवस्था अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैनन् । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरि उल्लेख गर्नुपर्नेछ । पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

कम्पनीको ब्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय समयमा त्यस्तो ब्याजदर सम्बन्धी नीतिगत व्यवस्था भने केन्द्रिीय बैंकले गर्न सक्नेछ । यसरी राष्ट्र बैंकबाट भएको ब्याजदर सम्बन्धी व्यवस्था पालना गर्नु सम्बन्धित कम्पनीको कर्तव्य हुने उल्लेख गरिएको छ ।

यस्तै, कम्पनीहरुले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । तर, २५ लाख रुपैयाँ वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट भने यो अनिवार्य नभएको केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्