२६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, एक महिनामै सवा खर्ब भित्रियो « Arthapath.com
२८ मंसिर २०८०, बिहीबार

२६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, एक महिनामै सवा खर्ब भित्रियो



काठमाडौं । रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको चार महिनामै ४ खबै ७७ अर्ब ९६ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । कात्तिक महिनामा मात्रै १ खर्ब १२ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । चालु आवको पहिलो चौमासिकमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुन: श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्