‘अपार्टमेन्ट’ खरिदबिक्री किन अपेक्षित बढ्न सकिरहेको छैन् ? « Arthapath.com
१९ बैशाख २०८१, बुधबार

‘अपार्टमेन्ट’ खरिदबिक्री किन अपेक्षित बढ्न सकिरहेको छैन् ?



काठमाडौं । घरजग्गा किनबेच अझै पनि अपेक्षित रुपमा बढ्न सकिरहेको छैन । पछिल्लो समय अर्थतन्त्रका सूचकहरु सकरात्मक बन्दै गएपनि घरजग्गा खरिदबिक्री भने अझै सुस्त नै छ । यद्यपि, पछिल्लो महिनामा देशभर ५० हजार हाराहारीमा घरजग्गा किनबेच हुँदै आएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत चैत महिनामा मात्रै देशभर ५० हजार २५२ वटा घरजग्ग खरिदबिक्री भएका छन् । यो गत आवको चैत महिनाको तुलनामा भने २.२४ प्रतिशत मात्रै बढी हो । गत वर्षको चैत महिनामा देशभरका मालपोत कार्यालय मार्फत ४९ हजार १५० वटा घरजग्गा खरिदबिक्री भएका थिए ।

समग्र घरजग्गा किनबेच बढेता पनि अपार्टमेन्ट खरिदबिक्रीमा भने सुस्तता नै छ । चालु आवको ९ महिनामा देशभरका शहरहरमा २५७ वटा बहुतले अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ । तर, यो गत आवको चैतसम्मको तुलनामा भने १२ वटा कम खरिदबिक्री भएको छ । गत वर्षको चैतसम्ममा २६९ वटा अपार्टमेन्ट किनबेच भएको थियो ।

विभागका अनुसार औसतमा मासिक २८ वटा अपार्टमेन्टको लिखत पारित हुने गरेको देखिन्छ । विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् साउनमा ३० वटा, भदौमा ४५ वटा, असोजमा ३८, कात्तिकमा २२, मंसिरमा २२, पुसमा २८, माघमा २५ र फागुन महिनामा २९ वटा अपार्टमेन्ट किनबेच भएको थियो ।

देशका मुख्य ठुला सहरहरु काठमाडौं उपत्याका, पोखरा, लगायतका स्थानहरुमा धेरै अपार्टमेन्ट किनबेच हुँदै आएका छन् । विभागका अनुसार गत चैत महिनामा भने १८ वटा मात्रै अपार्टमेन्ट किनबेच भएका छन् । सो महिनामा सबैभन्दा धेरै काठमाडौंको डिल्ली बजारमा ७ वटा खरिदबिक्री भएको छ । यता, लगनखेलमा पनि एकै महिना ४ वटा अपार्टमन्टको लिखत पारित भएको छ । यस्तै, काठमाडौंको चावहिलमा २ वटा, कलंकीमा २ वटा, टोखामा १ वटा खरिदबिक्री भएको छ । काठमाडौं उपत्यकाका बाहिर भने पोखरामा मात्रै एउटा अपार्टमेन्ट किनबेच भएको छ । मालपोत कार्यालय कास्की मार्फत सो अपार्टमेन्ट किनबेच भएको हो । हाल यी बाहेकका अन्य सहरहरुमा भने अपार्टमेन्ट किनबेच भएका छैनन् ।

हाल पुरानै अपार्टमेन्ट मात्रै खरिदबिक्री भएको व्यवसायीहरु बताउँछन् । देशका विभिन्न स्थानहरुमा ठुलो संख्यामा अपार्टमेन्ट निर्माणाधिन अवस्थामा रहेकाले हाल पुरानै अपार्टमेन्ट नै खरिदबिक्री भएको उनीहरुको भनाई छ ।

व्यवसायीका अनुसार हाल धेरै अपार्टमेन्ट निर्माणकै चरणमा रहेकाले पनि कारोबार अपेक्षकृत रुपमा बढ्न नसकेको हो । निर्माणाधीन अवस्थामा रहेका अपार्टमेन्ट सकिएपछि नै कारोबार बढ्ने व्यवसायीहरुको अपेक्षा छ । अपार्टमेन्टको मूल्य वृद्धि र स्टक युनिट नहुँदा पनि कारोबारमा कमी आएको उनीहरु बताउँछन् ।

हाल देशका मुख्य ठुला सहरहरू काठमाडौं, पोखरा, विराटनगर, झापा लगायतका धेरै जिल्लाहरूमा अपार्टमेन्ट बन्दै छन् । काठमाडौं उपत्यकाका ललितपुर, भक्तपुर, वीरगन्ज, रुपन्देही लगायतका ठाउँमा धमाधम अपार्टमेन्ट बनिरहेका छन् । यसले आगामी दिनमा थप कारोबार बढाउने व्यवसायीहरू बताउँछन् ।

पछिल्लो समयमा आम मानिसहरुको अपार्टमेन्टमा बस्ने प्रवृति बढेको छ । यस्तो प्रवृत्ति विकासले पनि आगामी दिनमा अपार्टमेन्ट किनबेच सकरात्मक रुपमा बढ्ने उनीहरुको तर्क छ। नयाँ बनिरहेका अपार्टमेन्टको निर्माण सम्पन्न भए लगत्तै अगामी दिनमा कारोबार थप बढ्ने बताइन्छ ।

पछिल्लो समिय बैंकिङ्ग प्रणालीमा पनि लगानीयोग्य रकम थुप्रिएको छ। बैंक ब्याजदर भने निरन्टर घटीरहेको छ । हाल बैंकहरु सहज रुपमा कर्जा लगानी गर्ने अवस्थामा छन् । यसले पनि आगामी दिनमा समग्र कारोबारलाई नै चलायमान बनाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्