नेपालको क्रेडिट रेटिङ कयौँ शक्ति राष्ट्रहरु भन्दा मजबूत, के हो यसको मतलव ?
काठमाडौँ । नेपालले पहिलो पल्ट गरेको क्रेडिट रेटिङमा अमेरिकी रेटिङ एजेन्सी फिच रेटिङले ‘डबल बी माइनस’ स्कोर दिएको छ । यो खासमा कस्तो रेटिङ हो त ?
यो रेटिङको सामान्य अर्थ हो– ‘हाम्रो अर्थतन्त्र लगानीका निम्ति होइन, सट्टेबाजीका निम्ति ज्यादा उपयुक्त छ ।’ यस्तो रेटिङ भएको अर्थतन्त्रमा तुलनात्मक रुपले ज्याला लाभको संभावना पनि हुन्छ र जोखिम पनि उच्च हुन्छ ।
विधी र प्रक्रियामा विस्वास गर्ने लगानीकर्ताले यस खाले अर्थतन्त्रमा लगानी विस्तार गर्न चाहँदैन । तर राज्य शक्ति वा कुनै पनि कुलीन संयन्त्रको लाभ उठाउने ध्ययले लगानी गर्न भने यो उपयुक्त भूमि हो ।
सामान्यतया डबल बीको स्कोर भनेको ‘असाध्यै धेरै सट्टेबाजी पनि होइन, तर यस्तो ठाउँमा सचेत भएर अल्पकालिन लगानी गर्न सकिन्छ’ भन्ने हो । पछिल्लो समय मौलाउँदै गएको आसेपासे पूँजीबाद (क्रोनि क्यापाटालिज्म) र राजनीतिक नेतृत्वसँगको ब्यापारीको गठजोडलाई अझ मजबूत बनाउन सक्नेले नै ज्यादा लाभ पाउने अवस्था छ भनेर यो रेटिङले पुनः एक पल्ट प्रस्ट्याएको छ ।
यस रेटिङले मूलभूत रुपमा विदेशी ऋण लिँदा त्यो पैसा फिर्ता गर्न सक्ने अवस्था कत्तिको बलियो छ भन्ने हेर्छ । त्यसका निम्ति अर्थतन्त्रका विभिन्न पाटा केलाइएका हुन्छन् । यसरी पैसा फिर्ता गर्ने सामथ्र्यको तात्पर्य सरकारले लिएको ऋण चुक्ता गर्ने क्षमता मात्रै होइन ।
निजी क्षेत्रले विदेशबाट लिने ऋण र स्वदेशी वा विदेशी लगानीकर्ताले यहाँ लगानी गरेर त्यसको मूल धन वा प्रतिफल विदेश लैजान पाउने संभावनालाई पनि नियालिएको हुन्छ । मानौँ, टेस्ला मोटर्सले नेपालमा फ्याक्ट्री लगायो भने यहाँ गाडी बेचेर कमाएको पैसा अमेरिका लैजान यहाँको अर्थतन्त्रले कत्तिको सहयोग गर्छ भन्ने हेरिन्छ ।
नेपालको नतिजा बलियो कि कमजोर ?
संसारमा नेपालले पाएको स्कोर वा त्योभन्दा पनि खराब स्कोर पाउने मुलुक वा अर्थतन्त्रहरुको संख्या निकै बढी छ । ब्रिक्सको एक सदस्य दक्षिण अफ्रिकाले पनि गत सेप्टेम्बरमा नेपालकै जस्तो रेटिङ पाएको थियो ।
ब्रिक्सकै अर्को सदस्य रूसले सन् २०२२ मा युक्रेनमा युद्ध सुरु गरे लगत्तै उसका सम्पत्ती जफत भएपछि ‘सी’ रेटिङ पाएको थियो । त्यसपछि अमेरिकी कम्पनीहरुले रुसको क्रेडिट रेटिङ गरेका छैनन् ।
कोस्टारिका र नामिबियाजस्ता देशले पनि नेपालकै स्तरको रेटिङ पाएका छन् । त्यतिमात्रै होइन, संसारका कयौँ शक्ति राष्ट्रहरुको क्रेडिट रेटिङ नेपालभन्दा खराब हालतमा छ ।
अफ्रिकाको दोस्रो ठूलो अर्थतन्त्र इजिप्ट (मिश्र) लाई फिचले यही नोभेम्बरमा ‘बी’ रेटिङ दिएको छ । त्यसपछिका शीर्षस्थ अर्थतन्त्रहरु नाइजेरिया (बी माइनस) र इथियोपिया (ट्रिपल सी प्लस) पनि नेपालभन्दा कमजोर हालतमा छन् ।
‘एस एण्ड पी’ले टर्कीलाई पनि नेपालकै जस्तो रेटिङ (डबल बी माइनस) दिएको छ । अर्को शक्ति राष्ट्र इरान (बी प्लस)को स्कोर पनि नेपालभन्दा खराब छ । मेक्सिको पछि ल्याटिन अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्र अर्जेन्टिना (ट्रीपल सी) पनि क्रेडिट रेटिङमा नेपालभन्दा पछाडी परेको छ ।
बार्बाडोस, बहराइन, बोलिभिया, इक्वेडर, गाम्बिया, ग्वाटेमाला, इराक, जोर्डन, जमैका, केन्या, लाओस, मालि, मङ्गोलिया, मोजाम्बिक, पपुवा न्यू गिनी, रुवाण्डा, तुर्कमिनिस्तान, युगान्डाजस्ता कयौँ अर्थतन्त्रभन्दा नेपालको रेटिङ मजबूत छ ।
तर अमेरिका, जर्मनी, अस्ट्रेलिया, स्वीट्जरल्याण्ड, डेनमार्क, लक्जम्बर्ग, नेदरल्याण्ड्स, नर्वे, स्वेडेन, सिंगापुर, क्यानडा, न्यूजिल्याण्ड, अस्ट्रिया, फिनल्याण्ड, ब्रिटेन, फ्रान्स, आयरल्याण्ड, यूएई, बेल्जियम, चेक, स्टोनिया, हङकङ, दक्षिण कोरिया, कुवेत, कतार, ताइवानजस्ता ५ दर्जनभन्दा बढी अर्थतन्त्र नेपालभन्दा उन्नत हालतमा छन् ।
क्षेत्रीय स्तरमा अब्बल
दक्षिण एसियामै हेर्ने हो भने पनि भारतपछि नेपालको रेटिङले दोस्रो राम्रो स्कोर पाएको छ । भारतको रेटिङ ट्रिपल बी माइनस छ । त्यो चाहीँ लगानीका लागि नै ‘उपयुक्त’ भन्ने संकेत हो ।
दक्षिण एसियाको दोस्रो ठूलो अर्थतन्त्र बाङ्गलादेशको क्रेडिट रेटिङ लगातार ओरालो लागेको छ । नेपालको रेटिङ सार्वजनिक हुनुभन्दा ३ दिन अघिमात्रै अर्को रेटिङ एजेन्सी मूडिजले त्यहाँको स्कोर ‘बी २’ बाट ‘बी १’मा झारिदिएको थियो । यो भनेको फिच रेटिङमा ‘बी’ स्कोर बराबर हो । अर्थात् त्यहाँ अधिकतम सट्टेबाजीमात्रै हुनसक्छ ।
त्यतिमात्रै होइन, मूडिजले बाङ्लादेशको ‘आउटलूक’ पनि ‘स्थीर’ बाट ‘नकारात्मक’ भएको बताएको छ । यसले त्यस देशमा लगानीको वातावरण नकारात्मक भएको प्रतिबिम्बित गर्छ । फिचले नेपालको रेटिङ आउटलूक ‘स्टेबल (स्थीर)’ बताएको छ ।
क्षेत्रीय बजारको तेस्रो ठूलो अर्थतन्त्र पाकिस्तानको अवस्था पनि निकै कमजोर छ । मूडिजले नै गत २८ अगष्टमा पाकिस्तानलाई ‘सी डबल ए २’ रेटिङ दिएको थियो । यो ‘ट्रीपल सी’ रेटिङ हो, जसले अर्थतन्त्र असाधारण रुपमा सट्टेबाजीमा रहेको देखाउँछ । यद्यपि, मूडिजले त्यहाँको आउटलूक भने ‘सकारात्मक’ देखाएको छ ।
विदेशी विनिमय संकट भोगिरहेको श्रीलंकालाई एक महिना अघिमात्रै एस एण्ड पीले विदेशी मुद्रामा ‘एसडी’ (सेलेक्टिभ्ली डिफल्टेड) अर्थात् डुब्ने अवस्थाको चित्रण गरेको छ । तर स्थानीय मुद्रामा भने श्रीलंकाले ‘ट्रीपल सी प्लस’ रेटिङ पाएको छ । यसले पनि सम्भावित जोखिमको स्तर जनाउँछ ।
माल्दिभ्सको हालत पनि उस्तै छ । यो देशलाई मूडिजले गत सेप्टेम्बरमा ‘सी डबल ए २’ रेटिङ दिएको छ । यो पाकिस्तानकै स्तरको रेटिङ हो । त्यसअघि गत अगस्टमा फिचले पनि ‘डबल सी’ रेटिङ दिएको थियो ।