मुक्तिनाथ म्युचुअल फण्ड समय अघि नै ‘ओभर सब्सक्राइब्ड’, २५ प्रतिशत आकार बढाइने « Arthapath.com
२५ मंसिर २०८१, मंगलवार

मुक्तिनाथ म्युचुअल फण्ड समय अघि नै ‘ओभर सब्सक्राइब्ड’, २५ प्रतिशत आकार बढाइने



काठमाडौँ । पहिलो पल्ट कुनै विकास बैंकले ल्याएको सामूहिक लगानी योजना समय अघि नै विक्री भएको छ । मुक्तिनाथ विकास बैंकको भगिनी संस्था मुक्तिनाथ क्यापिटलले ल्याएको ‘मुक्तिनाथ म्युचुअल फण्ड–१’ ‘ओभर सब्सक्राइब’ भएको हो ।

क्यापिटलले १ अर्ब रुपैयाँको बन्दमुखि सामूहिक लगानी योजना विक्रीका लागि राखेको थियो । यसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई (१५ करोड रुपैयाँ बराबरको) प्रबर्द्धक बैंक र क्यापिटलले नै लगानी गर्छन् । त्यस बाहेकको ८५ करोड रुपैयाँ बराबरका इकाईहरु विक्रीका लागि राखिएको थियो ।

२० मंसिरदेखि कारोबार विक्री खुल्ला गरिएको यो योजनामा २४ मंसिरमै सबै इकाई बिकेर थप माग भएको छ । निष्काशन रकमभन्दा ज्यादा इकाई माग भएमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने कानूनी प्रावधान छ । अब मुक्तिनाथ क्यापिटलले यही कानूनी सुविधाको उपयोग गर्दै नयाँ योजनाको आकार १ अर्ब २५ करोड पुर्याउने भएको छ ।

यसपछि कोष प्रबर्द्धकहरुले ३ करोड ७५ लाख लगानी गप्ने छन् भने २१ करोड २५ लाख सर्वसाधारण तथा संससंस्थालाई विक्री गरिने भएको छ । यसपछि कोषको आकार १ अर्ब २५ करोडको हुने र त्यसमा प्रबर्द्धकको १८ करोड ७५ लाख एवम् सर्वसाधारण तथा अन्य संघसंस्थाको १ अर्ब ६ करोड २५ लाख लगानी हुने छ ।

मंगलबार कोषका इकाईहरु विक्री गर्ने अन्तिम दिन हो । पहिले नै ‘ओभर सब्सक्राइब्ड’ भइसकेका कारण मंगलबार बैंक खुल्ने समयभन्दा पछि उक्त योजनाका इकाई खरीद गर्न नपाइने भएको प्रबर्द्धकले जनाएको छ । क्यापिटलका अनुसार सर्वसाधारण लगनीकर्ताको पनि उल्लेख्य सहभागिता देखिएको छ ।

लामो समयदेखि प्राथमिक बजारमा आईपीओ नखुलेका कारण पनि लगानीकर्ताहरु पैसा बोकेर कुरिरहेका थिए । उनीहरुलाई लगानीको एक नयाँ सुविधा प्राप्त भएको छ । यसको लाभ कोषलाई पनि भएको छ ।

अर्कातिर बैंकहरुमा निक्षेपको ब्याज निकै तल्लो तहमा झरेका कारण पछिल्लो समय संस्थागत लगानीकर्ताहरु सामुहिक लगानी कोष वा यस्तै वैकल्पिक लगानी गन्तव्यको खोजिमा थिए । उनीहरुले यसलाई खुब राम्रो मौकाको रुपमा देखेको प्रबद्र्धक कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्