२५ खर्ब नजिकै पुग्यो सरकारको ऋण, महँगो ब्याजमा ऋण लिएर खर्च धान्दै
काठमाडौं । नेपालको सार्वजनिक ऋण भार थपिने क्रम बढ्दो नै छ । पाँच महिनामै ५८ अर्ब बढी सार्वजनिक ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको सुरुमा नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ थियो । तर, मंसिर मसान्तसम्म आइपुग्दा भने ५८ अर्ब ३१ करोड रुपैयाँ थपिएको छ । योसँगै कुल सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड १७ लाख रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४३.६९ प्रतिशत हुन आउँछ ।
यसका आधारमा एक नेपालीलाई ८५ हजार ४६० रुपैयाँ सार्वजनिक ऋण भार पर्न आउँछ । यो नेपालको कुल जनसंख्यामा आधारित हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।
सो मध्ये आन्तरिक ऋण १२ खर्ब १७ अर्ब ६६ करोड र बाह्य ऋण दायित्व १२ खर्ब ७४ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ छ । यो जीडीपीमा क्रमशः २१.३४ प्रतिशत र २२.३५ प्रतिशत हुन् आउँछ ।
कार्यालयका अनुसार मंसिर महिनामा ५८ अर्ब २४ करोड ऋण दायित्व भुक्तानी तथा २१ अर्ब २३ करोडमा ऋण प्राप्त भएको र विनिमय दर घटबढको प्रभावले कात्तिकको तुलनामा ऋण दायित्व २५ अर्ब ६४ करोड घट्न पुगेको छ।
यस्तै, मंसिर मसान्तसम्ममा १ खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ । योमध्ये आन्तरिक तर्फ १ खर्ब ६४ अर्ब छ भने बाह्य तर्फ २७ अर्ब २९ करोड १८ लाख रुपैयाँ मात्रै छ ।
सो अवधिमा कुल १ खर्ब ४४ अर्ब ५५ करोड ९१ लाख रुपैयाँ भुक्तानी दिएको छ । जसमध्ये आन्तरिक तर्फ १ खर्ब २७ अर्ब २४ करोड र बाह्य तर्फ १७ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ भुक्तानी दिएको कार्यालयले जनाएको छ ।
समिक्षा अवधिमा लक्ष्यको ३५ प्रतिशत मात्रै प्राप्ति भएको छ । चालु आवमा सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । तर, पाँच महिनाको अवधिमा भने १ खर्ब ९२ अर्ब २९ करोड १८ लाख रुपैयाँ मात्रै प्राप्त भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सो अवधिमा आन्तरिक तर्फ १ खर्ब ६४ अर्ब र बाह्य तर्फ २८ अर्ब २९ करोड १८ लाख रुपैयाँ प्राप्ति भएको हो ।
प्राप्ति गर्न बाँकी ऋण भने आन्तरिक तर्फ १ खर्ब ६६ अर्ब र बाह्य तर्फ १ खर्ब ८८ अर्ब ७० करोड रुपैयाँ गरि कुल ३ खर्ब ५४ अर्ब ७० करोड रुपैयाँ देखिएको छ ।
कार्यालयका अनुसार मंसिर महिनामा मात्रै २१ अर्ब १३ अर्ब सार्वजनिक ऋण प्राप्ति भएको छ । यस्तै, गत कात्तिकमा ३३ अर्ब ९६ करोड, असोजमा ३१ अर्ब ४ करोड, भदौमा ६० अर्ब ४७ करोड र साउनमा ४५ अर्ब ५९ करोड रुपैयाँ ऋण प्राप्ति भएको थियो ।
पाँच महिनामा १ खर्ब ४९ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक भुक्तानी दिएको छ । योमध्ये साँवा १ खर्ब २७ अर्ब २४ करोड र ब्याज २२ अर्ब ४२ करोड रुपैयाँ देखिएको छ । बाह्य भुक्तानी तर्फ सावा १७ अर्ब ३१ करोड र ब्याज ३ अर्ब ६१ करोड गरि कुल २० अर्ब ९२ करोड रुपैयाँ भुक्तानी दिएको छ ।