व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ : ५० लाखसम्मको कारोबार « Arthapath.com
२८ पुष २०८१, आईतवार

व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ : ५० लाखसम्मको कारोबार



काठमाडौं । माघेसंक्रान्ति नजिकिएसँगै टोखाका चाकु व्यवसायीहरूको व्यस्तता चुलिएको छ । विशेष गरेर माघेसंक्रान्तिमा चाकु खाने परम्परा छ । त्यसो हुँदा पनि यो समयमा चाकु उत्पादन गर्दै आएका व्यवसायीहरूलाई भ्याइनभ्याइ हुने गरेको छ ।

टोखा चाकुको लागि प्रशिद्ध मानिन्छ । तिहार सकिएलगत्तै यहाँका व्यवसायीहरूको व्यस्तता बढ्ने गरेको छ । अहिले यहाँका उद्यमी र कामदारहरुलाई अहिले भ्याइनभ्याइ छ ।उनीहरु चाकु, तिलको लड्डु, भुजाको लड्डु, खुवा, पुस्टकारी लगायत परिकार उत्पादन गरिरहेका छन् ।

४ पुस्तादेखिको चाकु व्यवसाय धानिरहेका नुच्चे टोखा चाकुका सञ्चालक राजकाजी श्रेष्ठलाई अहिले खाजा खाने फुर्सद समेत छैन । उनको व्यस्तता निकै बढेको छ । उनले सिजनको समयमा दैनिक ८ सय किलोसम्म चाकु उत्पादन गरिरहेका छन् ।

‘अहिले त खाने फुर्सदसम्म छैन । चाकु किन्न आउनेहरूको भीड असाध्यै बढेको छ’ उनले भने । श्रेष्ठको परिवारै यो व्यवसायमा संलग्न छन् । परिवार बाहेक उनले ३० जनालाई रोजगारी दिएको छन् । बाजेको पुस्तादेखि नै गर्दै आएको व्यवसायलाई उनले पनि निरन्तरता दिँदै आएको बताउँछन् । युवाहरूको विदेशिने होड चले पनि उनी भने आफ्नै पुर्ख्यौली व्यवसायमा रमेका छन् ।

ग्राहकको मन जित्दै आएको नुच्चे टोखा चाकुको व्यवसाय दिनप्रतिदिन बढिरहेको उनी बताउँछन् । त्यहाँ उत्पादिन चाकु होलसेलदेखि रिटेलसम्म पुग्ने गरेको छ । सिजनको बेलामा ५० लाखसम्मको कारोबार हुने उनी बताउँछन् ।

अहिले टोखामा मात्रै १४ वटा चाकु उद्योगहरु छन् । जसको एउटा छाता संस्था छ टोखा परम्परागत चाकु संरक्षण समाज । यहाँ आवद्ध १४ मध्ये १० वटाले धेरै मात्रामा चाकु उत्पादन गर्ने गरेको समाजको अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताए । अर्थतन्त्रमा देखिएको सुस्तताले विगतको तुलानामा खस्किएको श्रेष्ठ बताउँछन् ।

‘पहिले दैनिक ६/७ सय केजी चाकु उत्पादन हुने गरेकोमा अहिले ५ सय केजी मात्र चालु उत्पादन हुने गरेको छ । पहिलेजस्तो चाप छैन’ उनले भने । श्रेष्ठले चाकुबाट उत्पादन हुने १५ थरी सामग्री उत्पादन गर्दै आइरहेका छन् । उनले सादा चाकु, मसला चाकु, स्पेसल चाकु, बाहिरि मसला चाकु, सुत्केरी गुदपाक चाकु, गुदपाक चाकु, घ्यू चाकु, चाकुबाट बन्ने चकलेट, विभिन्न प्रकारका लड्डुहरू उत्पादन गरिरहेका छन् ।

उनका अनुसार कपिलवस्तुको कृष्णनगर, संखुवासभा, गुल्मी लगायत ठाउँबाट सक्खर ल्याएर चाकु उत्पादन गरिरहेका छन् । पहिलेपहिले टोखामा नै उखु खेती हुने गरे पनि अहिले बस्ति बाक्लिएपछि बाहिरबाट कच्चा पदार्थ ल्याएर चाकु उत्पादन गर्ने गरेको व्यवसायीहरू बताउँछन् ।  

माघे संक्रान्तिमा चाकुको माग अत्यधिक हुने हुँदा माग पूरा गर्न हम्मेहम्मे पर्ने गरेको उनले बताए । श्रेष्ठ श्री कृष्ण चाकु प्रडक्सन एण्ड खाद्यान्न सप्लायर्सका सञ्चालक हुन् । यो उद्योगमा परिवारसहित ३५ जना रोजगाररत छन् ।

 श्रेष्ठका अनुसार सिजनको बेलामा दैनिक ६० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको छ । उनले वार्षिक ३ करोड रुपैयाँसम्मको कारोबार गर्ने गरेका छन् ।

यहाँको चाकु देश विदेश पुग्ने गरेको श्रेष्ठ बताउँछन् ।  चीन, कोरिया, अमेरिका, अष्ट्रेलिया, जापानदेखि युरोपसम्म टोखाको बिक्रीका लागि पठाउने गरेको श्रेष्ठ बताउँछन् । यी देशहरूमा कार्गो गरेर पठाउने गरिएको छ ।

माघेसंक्रान्ति अलावा अन्य समयमा पनि विदेशमा चाकु निर्यात हुने गरेको छ । नेपालमा सिजन सकिएपछि अष्ट्रेलियामा सुरू हुने श्रेष्ठले बताए ।

टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको छ ।

पहिलेपहिले बजारमा साधारण चाकुको मात्रै खपत हुन्थ्यो । तर, अहिले मसलादार र स्पेशल चाकुको माग बढी छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ ।

त्यसैगरी स्पेसल चाकुमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइको हुन्छ ।

चाकुले चिसो लागेको हुने हुने मान्यता छ । उपत्यकाको टोखा, ललितपुरको पाटन चाकुका लागि प्रसिद्ध मानिन्छ ।

माघेसंक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल लागायत परिकार खाने प्रचलन रहेको छ।


प्रतिक्रिया दिनुहोस्