बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रियो ३६ अर्ब निक्षेप, कर्जा लगानी पनि २७ अर्ब बढ्यो « Arthapath.com
४ माघ २०८१, शुक्रबार

बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रियो ३६ अर्ब निक्षेप, कर्जा लगानी पनि २७ अर्ब बढ्यो



काठमाडौं । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थपिने क्रम निरन्तर बढीरहेको छ । हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप झन्डै साढे ६७ खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा एकैदिन ३६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत सोमबार अर्थात् पुस २८ गतेसम्म बैंकहरुसँग ६६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, एकैदिन ४६ अर्ब रुपैयाँ बढेर ६७ खर्ब ३४ अर्ब रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन २८ अर्ब रुपैयाँ बढेको छ । योसँगै हाल वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । गत सोमबारसम्म भने ५९ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो ।

पछिल्लो समय बैंकहरुको निक्षेप थपिने क्रम बढ्दो नै छ । तर, निक्षेपसँगै कर्जा प्रवाह पनि ह्वात्तै बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५४ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, त्यसको भोलिपल्ट अर्थात् मंगलबारसम्म आइपुग्दा भने ३१ अर्ब बढेको छ । एकै दिन सो बराबरको कर्जा लगानी गरेका हुन् । योसँगै हाल बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ ।

निकै लामो समयदेखि कर्जा प्रवाह बढेको थिएन । आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून नै थियो । तर, पछिल्लो केही दिन भने लगातर बढेको राष्ट्र बैंकको आँकडा छ ।

एकैदिन वाणिज्य बैंकले मात्रै २७ अर्ब कर्जा प्रवाह गरेका छन् । यता, वित्त कम्पनीहरुले पनि एकैदिन ८ अर्ब निक्षेप भित्र्याएका छन् भने ४ अर्ब कर्जा लगानी गरेका छन् । समिक्षा अवधिमा वाणिज्य बैंकको कुल कर्जा लगानी ४८ खर्ब १७ अर्ब र वित्त कम्पनीको ६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर सापाटीको ब्याजदर पनि घट्दो क्रममा छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि घट्दै हो । अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

यता, बैंकहरुको अधिक तरलता रहेसँग कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दो छ । हाल बैंकहरुको सीडी रेसियो पनि ८० प्रतिशत कम बिन्दुमा छ । राष्ट्र बैंकका अनुसार सीडी रेसियो ७९.४३ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्