सिमेन्टको मूल्य बृद्धिबारे संसदीय समितिको ध्यान खिचियो, छलफलका लागि भोलि बैठक « Arthapath.com
८ माघ २०८१, मंगलवार

सिमेन्टको मूल्य बृद्धिबारे संसदीय समितिको ध्यान खिचियो, छलफलका लागि भोलि बैठक



काठमाडौँ । नेपाली बजारमा सिमेण्टको मूल्य एक्कासी बढेर झण्डै दोब्बर भएको घटनाप्रति अब संसदीय समितिको पनि ध्यान तानिएको छ । निर्माण व्यवसायीले केही महिनायता सिमेण्टको मूल्य बृद्धिबारे प्रश्न उठाउँदै आएका थिए । बिना कारण मूल्य दोब्बर बनाइएपछि नेपालको निर्माण तथा विकासको लागत ह्वात्तै बढेको निर्माण व्यवसायीले बताएका छन् ।

यस विषयमा बारम्बार प्रश्न उठेपछि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्ने भएको छ । यसका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पनि समितिले छलफलका निम्ति बोलाएको छ ।

समितिको मंगलबार बसेको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री र सचिवलाई बोलाउने निर्णय गरेको छ । उनीहरुसँग बुधबार बिहान ११ बजे छलफल हुने समितिको सचिवालयले जनाएको छ ।

सिमेन्ट उद्योगीहरुले मिलेमतोमा मूल्य बढाएको आरोप विभिन्न पक्षबाट लगाइएको छ । पछिल्लो केही हप्तामा मात्रै सिमेन्टको मूल्य औसत २५० रुपैयाँ हाराहारी बढाइएको उपभोक्तावादी संस्थाहरु र कतिपय निर्माण व्यवसायीले बताएका छन् । निर्माण व्यवसायीले त यसरी ‘कार्टेलिङ’ गरेर बढाइएको मूल्यमा सिमेन्ट नकिन्ने भनेर विरोधका कार्यक्रम नै घोषणा गरेका छन् ।

यस मुद्दालाई सल्टाउन उद्योग मन्त्रालयले प्रयास नै नगरेको चाहीँ होइन । मन्त्रीले नै बोलाएर यस बारेमा सहमति खोज्ने कोसिस गर्दा पनि सिमेण्ट उद्योगीहरु मूल्य घटाउन तयार नभएपछि विवाद चर्किएको छ । उद्योगीले ट्रङ्कलाइन र डेडिकेटेड फिडरको महँगो बील भुक्तानी गर्न नेपाल विद्युत् प्राधिकरणले गरेको ताकेतालाई कारण देखाएर मिलेमतोमा मूल्य बृद्धि गरेको सरकारी अधिकारीहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्