म्युचुअल फण्डको वित्तीय अवस्थाः नाफासँगै न्याभ पनि घट्यो, खुम्चियो सेयर बजारमा गर्ने लगानी « Arthapath.com
१६ माघ २०८१, बुधबार

म्युचुअल फण्डको वित्तीय अवस्थाः नाफासँगै न्याभ पनि घट्यो, खुम्चियो सेयर बजारमा गर्ने लगानी



काठमाडौं । काठमाडौं । पुस महिनामा म्युचुअल फण्डहरुले नाफा घटेको छ । सेयर बजारमा देखिएको सुस्ततासँगै म्युचुअल फण्डको नाफामा समेत व्यापक गिरावट देखिएको छ । पुस महिनामा म्युचुअल फण्डको लगानी, नाफा र खुद सम्पत्ति मूल्य (न्याभ)मा समेत गिरावट आएको हो। म्युचुअल फण्डहरूले कुल लगानीमध्ये अधिकांश रकम विभिन्न कम्पनीका सेयरमा लगानी गर्छन् । त्यसो हुँदा सेयर बजार घट्दा म्युचुअल फण्डको सूचक प्रभावित बन्छन् ।

हाल संचालनमा रहेका ४३ वटा म्युचुअल फण्डहरुले प्रकाशन गरेको पुस महिनाको वित्तीय विवरण अनुसार कुल २ अर्ब ९९ करोड ६६ लाख  रुपैयाँ खुद नाफा कमाएका छन् । जुन मंसिर महिनाको तुलनामा २६.४५ प्रतिशत कम हो । मंसिरमा म्युचुअल फण्डको नाफा ४ अर्ब ७ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

४३ वटै फण्डको नाफा घटेको छ । ५ फण्डको नाफा ऋणात्मक छ । एनआईबिएल स्टेबल फण्ड, सनराइज ब्लूचिप फण्ड, मेगा म्युचुअल फण्ड, एनआईबीएल समृद्धि फण्ड-२ र कुमारी सबल योजनाले नोक्सानी व्यहोरेका हुन् ।

एनआइबिएल सहभागिता फण्डको नाफा सर्वाधिक घटेको छ । फण्डको नाफा ७७.९१ प्रतिशत घटेर २८ करोड ८२ लाख रूपैयाँमा खुम्चिएको हो ।

खुम्चियो लगानी

यस अवधिमा अधिकांश म्युचुअल फण्डहरूले सेयर बजारमा आफ्नो लगानी घटाएका छन् । यस अवधिमा ४३ म्यूचुअल फण्डहरूको कुल लगानी ३९ अर्ब ५५ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । मङ्सिर महिनामा म्युचुअल फण्डहरूले ४० अर्ब ३ करोड ३४ लाख रुपैयाँ लगानी गरेका थिए । मंसिरको तुलनामा लगानी १.२१ प्रतिशतले घटेको हो ।

यसअवधिमा ३५ म्युचुअल फण्डले आफ्नो लगानी घटाएका छन् भने बाँकी ८ वटा फण्डहरुले मात्र आफ्नो लगानी बढाएका छन् । पुस महिनामा एनआइसी एशिया डायनामिक डेप्ट फण्डले सेयर बजारमा आफ्नो ३० प्रतिशतले बढाउँदै ३४ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ । मंसिरमा यसले २६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको थियो ।

एनआईबिएल सहभागिता फण्डले १५.७७ प्रतिशतले लगानी वृद्धि गरेको छ । यस पुस महिनामा ३ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । यो फण्डको सेयर बजारमा सर्वाधिक लगानी रहेको छ ।

यसबाहेक एनआईबिएल समृद्धि फण्ड-२, एनआईबिएल ग्रोथ फण्ड, सिद्धार्थ सिस्टोमेटिक इन्भेस्टमेन्ट स्किम, एनआइबिएल स्टेबल फण्ड, एनआइसी एशिया ग्रोथ फन्ड-२, नबिल फ्लेक्जी क्याप फण्डले पनि सेयर बजारमा आफ्नो लगानी बढाएका छन् । यी बाहेक अन्य फण्डहरूले लगानी घटाएका छन् ।

सिटिजन्स म्युचुअल फण्ड-१ को लगानी सर्वाधिक खुम्चिएको छ । यो फण्डले सेयर बजारमा गरिने लगानीलाई २४.८८ प्रतिशतले घटाउँदै १७ करोड २६ लाख रुपैयाँमा सीमित बनाएको छ । त्यसपछि सिटिजन्स म्युचुअल फण्ड-२ को लगानी पनि १०.३४ प्रतिशतले घटेर ४५ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ ।

सेयर बजारमा सबैभन्दा धेरै लगानी गर्ने फन्ड एनआइबिएल सहभागिता फण्ड हो, जसको लगानी  ३ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ छ । सेयर बजारमा सर्वाधिक लगानी गर्नेमा एनएम सरल बचत फण्ड ई दोस्रो नम्बरमा छ  । यसले २ अर्ब २५ करोड ७२ लाखभन्दा बढी लगानी सेयर बजारमा गरेको छ ।

सिद्धार्थ इक्विटी फण्ड, एनआईबीएल समृद्धि फण्ड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड लगायत योजनाले १ अर्बमाथिको लगानी सेयर बजारमा गरेका छन् ।

कुनको न्याभ कति ?

यो अवधिमा फण्डहरूको न्याभ पनि ०.२५ प्रतिशतले घटेको छ । पुस मसान्तसम्म फण्डहरूको औसत न्याभ १० रुपैयाँ ९७ पैसा रहेको छ । मंसिरमा फण्डहरूको औसत न्याभ ११ रुपैयाँ २२ पैसा रहेको थियो । पुसमा सबै फण्डहरूको न्याभ घटेको हो ।

यद्यपि अधिकांशको न्याभ १० रुपैयाँ माथि नै रहेको छ । मंसिरमा १२ रुपैयाँ ४९ पैसा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-दोस्रोको न्याभ घटेर १२ रुपैयाँ १८ पैसा कायम भएको छ । त्यसैगरी प्रभु स्मार्ट फण्डको न्याभ १२ रुपैयाँ १ पैसा छ। मंसिरमा यसको फण्ड १२ रुपैयाँ ११ पैसा थियो ।

२० वटा फण्डको न्याभ ११ रुपैयाँभन्दा माथि छ । त्यस्तै १९ फण्डको न्याभ १० रुपैयाँमाथि हुँदा २ वटाको अंकित मूल्यभन्दा कम अर्थात् १० रुपैयाँभन्दा तल छ ।


प्रतिक्रिया दिनुहोस्