‘चेम्बर एक्स्पो-२०२५’ मा जे देखियो… (फोटोफिचर)

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो-२०२५’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पोको सुरू भएको हो । एक्स्पोमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका उत्पादन प्रदर्शनीमा राखिएका छन् ।

चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडाका सामान, अटोमोबाइल, विद्युतीय सामग्री, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रशाधन, खाद्यान्न तथा दुग्ध उत्पादन प्रदर्शनीका लागि राखिएका छन् ।

एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका देशमा उत्पादित वस्तुहरुको समेत प्रदर्शनी हुनेछ । कुल एक सय २५ भन्दा बढी स्टल रहने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।










