५१ अर्बको आईपीओ बोर्डको पाइपलाइनमा, अनुमतिमा किन हुँदैछ ढिलाई ? « Arthapath.com
२१ माघ २०८१, सोमबार

५१ अर्बको आईपीओ बोर्डको पाइपलाइनमा, अनुमतिमा किन हुँदैछ ढिलाई ?



काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्राथमिक सेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा ८२ वटा कम्पनी छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा सन्तोषनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेको दुई महिना बितिसेकेको छ । तर श्रेष्ठले पदभार सम्हाले (१०, मंसिर) यता जम्मा ३ कम्पनीले मात्र आईपीओ निष्काशनको अनुमति पाएका छन् ।

जसमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, र ओम मेघाश्री फर्मास्यूटिकल्स छन् । यी बाहेक अन्य कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएका छैनन् । बोर्डको अध्यक्ष नियुक्तिपछि आईपीओको बाढी आउने धेरैको आकंलन थियो ।

उनी अध्यक्ष भइसकेपछि हकप्रद तथा एफपीओ निष्कासन कार्य भएका छन् । जसमा महुली लघुवित्तले एफपिओ निष्काशन गरिसकेको छ ।  नेको इन्स्योरेन्सले पनि हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको छ । यसले हकप्रद निष्काशन गर्ने तयारी गरिरहेको छ ।  यो बीचमा ३ वटा सामुहिक लगानी कोषले निष्काशन अनुमति पाएका छन् ।

यता, ८२ कम्पनी कम्पनी भने आईपीओ निष्काशनको अनुमति कुरिरहेका छन् । यी कम्पनीले ५१ अर्ब ११ करोड २५ लाख १ हजार रुपैयाँ बराबरको ३५ करोड ५० लाख ३७ लाख २८५ कित्ता आईपीओ जारी गर्दैछन् ।

पाइपलाइनमा रहेकामध्ये अधिकांश जलविद्युत (हाइड्रोपावर) समूहका कम्पनी छन् । बोर्डका अनुसार हाल ४२ वटा हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनका लागि पाइपलाइनमा छन् । यी कम्पनीले १८ अर्ब ३१ करोड ३३ लाख ८३ हजार रुपैयाँ बराबरको १७ करोड ९० लाख ६१ हजार १९१ कित्ता सेयर जारी गर्दैछन् ।  

कुल ४१ वटा हाइड्रोपावर कम्पनीले १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति माग गरेका छन् ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूहका १५ कम्पनीले २२ अर्ब ५४ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको ९करोद् ६ लाक्ग ५५ हजार ६८४ कित्ता सेयर जारी गर्दैछन् । अन्य समूहका ११ कम्पनीले ३ अर्ब ४१ करोड ७८ लाख ९१ हजार रुपैयाँको २ करोड ७४ लाख ५६ हजार ९१० कित्ता आईपीओ निष्काशन गर्न बोर्डको अनुमति कुरिरहेका छन्।

 होटल तथा पर्यटन सेक्टरका ७ कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ ल्याउन अनुमति मागेका छन् । यता, लगानी समूहका ३ कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजारको एक करोड ५६ लाख ७३ हजार ५०० सय कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।

एक माइक्रोफाइनान्स र ३ माइक्रोइन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति कुरिरहेका छन् । बोर्डको अनुमति पाएमा माइक्रो फाइनान्सले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्नेछ। यता ३ माइक्रो इन्स्योरेन्सले पनि ६ करोड ७५ लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता आईपीओ गर्नेछ ।

यी कम्पनीहरू करिब डेढ वर्षदेखि बोर्डको अनुमति कुरिरहेका छन् ।

लामो समयदेखि ती कम्पनीहरू पाइपलाइनमा रहेकाले ती कम्पनीलाई नयाँ विवरण अद्यावधिक गर्न लगाइएकोले स्वीकृतिमा केही ढिलाई भएको बोर्डका एक अधिकारीले बताए । नयाँ विवरण आइसकेपछि प्रक्रिया पूरा गरेकालाई आईपीओ निष्कासनका लागि स्वीकृत गरिने ती अधिकारीले बताए । उनका अनुसार अब  क्रमिक रूपमा आईपीओ निष्काशन हुन्छ ।

यता, प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका हाइड्रोपावर कम्पनीलाई आईपीओको स्वीकृति नदिन सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डलाई दिएको निर्देशनले पनि आईपीओ निष्काशनमा बाधा पुर्याएको छ । लेखा समितिले २०८० पुस १२ गते  लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका हाइड्रोपावर कम्पनीलाई आईपीओको स्वीकृति नदिन बोर्डलाई निर्देशन थियो । यो निर्देशनले हाइड्रोपावरलाई आईपीओ निष्काशनको स्वीकृति दिन अप्ठेरो परेको बोर्ड उच्च पदस्थ अधिकारीहरू बताउँछन् ।

किनभने आईपीओ लागि स्वीकृति मागेका अधिकांश हाइड्रोपावर कम्पनीको नेटवर्थ ९० भन्दा कम छ । त्यसकारण पनि अहिले हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति दिन असहज देखिएको छ ।

यता, लामो समयदेखि आईपीओ जारी गर्न नसक्दा दर्जनौं कम्पनीका अर्बौंको आयोजनालाई क्षति भइरहेको छ । प्राथमिक निष्कासन नहुँदा करोडौंको क्षति भइसकेको जलविद्युत व्यवसायीहरू बताउँछन् ।

यी हुन् पाइपलाइनमा रहेका ८२ कम्पनी :


प्रतिक्रिया दिनुहोस्