म्युचुअल फन्डहरुको चामत्कारिक वित्तीय परफर्मेन्स, कसको नाफा, न्याभ र लगानी कति बढ्यो ?
काठमाडौं । केही महिनाअघिसम्म सेयर बजारको सुस्तताले निराश देखिएका सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरू अहिले आत्मविश्वासका साथ अगाडि बढिरहेका छन् । अधिकांश सूचकहरु उकालो लागेपछि फन्डहरुको ब्यालेन्स सिट पनि एकएका उचालिएको छ ।
वित्तीय विवरणले म्युचुअल फन्डहरूलाई सशक्त पुनरागमनको संकेत दिएको छ । एकातिर सेयर बजारमा उत्साहजनक सुधार भइरहेको छ । अर्कोतर्फ लगानीकर्ताको सक्रियता बढ्दो छ, भने नीतिगत सहजीकरणले पनि फन्डहरूको वित्तीय अवस्थमा चमक ल्याएको देखिन्छ ।
जेठ महिनासम्म नोक्सानीमा रहेको आधा दर्जनभन्दा बढी फन्डहरू असारमा फाइदामा फर्किएका छन । कतिपय फन्डहरुको नाफा त झन्डै चार गुणासम्म बढेको देखिन्छ । गत असार महिनामा फन्डहरुको नाफा, सेयर बजारमा लगानी र प्रतिइकाई खुद सम्पत्ति (न्याभ) मा उल्लेख्य सुधार गरेका हुन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४५ फन्डहरुले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणले यस्तो देखाएको हो ।
नाफामा झन्डै शतप्रतिशतको ग्रोथ देखिन्छ । फन्डहरुको सेयर बजारमा लगानी पनि साढे ६ प्रतिशतको बढोत्तरी देखिन्छ । यता, न्याभ पनि सबै फन्डहरुको वृद्धि भएको छ ।
विशेषगरि सेयर बजारमा आएको बढोत्तरीले फन्डहरुको ब्यालेन्स सिट निरन्तर उकालो लागेको हो । सेयर बजारमा म्युचुअल फन्डहरुको ठुलो आकारमा लगानी छ । बजारमा आउने उतारचढावले उनीहरुको वित्तीय अवस्थामा सोझै प्रभाव पार्ने गर्छ । यसअघिका महिनाहरुमा बजारले पनि खास गति लिन सकेको थिएन । तर, हाल सकरात्मक रुपमा बढ्दै गएको छ, जसले म्युचुअल फन्डहरुको वित्तीय प्रदर्शन पनि सकरात्मक नै छ ।
शतप्रतिशत नाफा वृद्धि, कसले कति कमाए ?
समिक्षा महिनामा फन्डहरुको नाफा ९७.१० प्रतिशत वृद्धि भएको छ । गत जेठमा ती फन्डहरुको नाफा ३ अर्ब ६० करोड ३६ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
तर, असारमा आइपुग्दा भने दोब्बर वृद्धि भई ७ अर्ब १० करोड २७ लाख रुपैयाँ कायम भएको छ । असारमा एनआइबिएल सृमद्धि फन्ड–२ मात्रै नोक्सानीमा छ । यी बाहेकका सबै फन्डहरुको नाफामा छन् । जबकि, जेठमा आधा दर्जन फन्ड नोक्सानीमा थिए । असारमा पनि सर्वाधिक नाफा कमाउनेमा एनएमबि सरल बचत फन्ड इ रहेको छ ।सो फन्डको नाफा ३२२.७३ प्रतिशत वृद्धि भई ३७ करोड ७३ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।
दोस्रो सूचीमा रहेको प्रभू सेलेक्ट फन्डको नाफा पनि ३२.२४ प्रतिशत बढेर ३६ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । तेस्रो सूचीमा रहेको एनआइबिएल सहभागिता फन्डको नाफा ३४ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा बढाउनेमा पनि यो फन्ड पहिलो सूचीमा छ ।
यता, सिद्धार्थ इक्विटी फन्डले पनि ३० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । असारमा सबैभन्दा कम मेगा म्युचुअल फन्ड–१ ले २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ ।

एकै महिना सेयर बजारमा थपे तीन अर्ब लगानी, साढे ४८ अर्ब लगानी गर्दा कुनको कति ?
फन्डहरुले सेयर बजारमा लगानी पनि व्यापाक मात्रामा बढाएका छन् । एकै महिना फन्डै तीन अर्ब लगानी थपेका हुन् ।
गत जेठमा यस्तो लगानी ४५ अर्ब ८० करोड ७२ लाख रुपैयाँ रहेको थियो । तर, असारमा आइपुग्दा भने ६.३७ प्रतिशत अर्थात् २ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ बढेको छ ।योसँगै हाल बजारमा फन्डहरुको कुल लगानी ४८ अर्ब ७२ करोड ७० लाख रुपैयाँ बढी देखिएको छ ।
९ वटा फन्डले मात्रै लगानी घटाएको देखिन्छ । बजारमा सबैभन्दा ठुलो लगानी एनआइबिएल सहभागिता फन्डको ४ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ छ । रकमकै आधारमा दोस्रो सूचीमा भने एनएमबि सरल बचत फन्ड इ छ । यसको लगानी ३ अर्ब ११ करोड ७२ लाख रुपैइाँ छ ।
सर्वाधिक लगानी (प्रतिशतका आधारमा) बढाउनेमा भने रिलायवल समृद्धि योजना छ । सो फन्डको लगानी ३०९.३७ प्रतिशत वृद्धि भई ५९ करोड १५ लाख रुपैयाँ कायम भएको छ । १६ फन्डको लगानी अर्बभन्दा माथि छ । वित्तीय विवरण अनुसार सबैभन्दा कम लगानी शुभलक्ष्मी कोषको ३७ करोड ५१ लाख रुपैयाँ छ ।
सबै फन्डहरुको न्याभ बढ्यो, कसको कति पुग्यो ?
असारमा सबै फन्डहरुको न्याभ वृद्धि भएको छ । असारमा औसत न्याभ ११.७२ रुपैयाँ कायम भएको छ । जबकि, गत जेठमा भने ११.११ रुपैयाँ थियो ।
सबैभन्दा उच्च न्याभ प्रभू स्मार्ट फन्डको १३.५३ रुपैयाँ छ । यस्तै, प्रभू सेलेक्ट फन्डको १३.४६ रुपैयाँ, एनएमबि शुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको १३.३७ रुपैयाँ, हिमालयन ८०–२० को १३.२५ रुपैयाँ छ । असारमा १५ वटा फन्डको न्याभ १२ रुपैयाँ माथि छ भने १६ वटाको ११ रुपैयाँ माथि छ । सबैभन्दा कम एनआइबिएल स्टेबल फन्डको १०.२८ रुपैयाँ छ ।














