गाडी आयातमा कडाइ, अब व्यक्तिगत रूपमा विदेशबाट ल्याउन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन र ढुवानीका साधन आयातमा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको छ ।
विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सार्वजनिक गरेको नयाँ व्यवस्था अनुसार अबदेखि नयाँ सवारीसाधन नेपालस्थित आधिकारिक बिक्रेतामार्फत मात्र आयात गर्न पाइनेछ ।
तर, अब कुनै पनि व्यक्ति वा संस्थाले विदेशबाट सिधैँ गाडी आयात गर्न भन् सक्ने छैनन् । गाडी निर्माता कम्पनी वा त्यसको आधिकारिक बिक्रेताबाट खरिद गरिएका सवारीसाधन पनि नेपालस्थित आधिकारिक आयातकर्तामार्फत मात्र ल्याउन पाइनेछ । यस निर्णयले व्यक्तिगत रूपमा गाडी मगाउने अभ्यासमा पूर्णविराम लगाएको छ ।
संशोधित परिपत्रमा प्रयोग भइसकेका, रिकन्डिसन गाडी तथा नेपाल सवारीसाधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने गाडीहरूको आयातमा समेत पूर्ण रोक लगाइएको छ ।
बैंकका अनुसार वातावरणीय सुरक्षा, गुणस्तर नियन्त्रण र विदेशी विनिमयको व्यवस्थित व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको हो ।
यद्यपि, परिपत्रमा केही विशेष अवस्थामा छुटको व्यवस्था गरिएको छ । सरकारी निकाय, कूटनीतिक वा महसुल सुविधा प्राप्त व्यक्ति वा संस्था र ऋण तथा अनुदान सहयोगमा सञ्चालित सरकारी परियोजनाले ल्याउने गाडीहरूमा यो कडाइ लागू हुने छैन ।
त्यस्तै, अपांगता भएका व्यक्तिको व्यक्तिगत प्रयोजनका लागि ल्याइने स्कुटर, दमकल, एम्बुलेन्स तथा विशेष प्रयोजनका सवारीसाधनमा पनि यो प्रतिबन्ध लागू नहुने उल्लेख छ ।
सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय सम्मेलनको प्रयोजनका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार ल्याइने प्रदूषण मापदण्डभित्र पर्ने सवारीसाधनहरू पनि यस व्यवस्थाबाट मुक्त हुनेछन्। त्यसैगरी, सरकारको निर्णयमा आधारित रही पूर्ण वा आंशिक भन्सार छुट पाएका व्यक्ति वा संस्थाले गाडी आयात गर्दा पनि यो नियम लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सडकमा नचल्ने वा दर्ता आवश्यक नपर्ने साधनहरूका हकमा भने परिपत्रमा उल्लेख गरिएका प्रतिबन्धहरू लागू नहुने व्यवस्था गरिएको छ ।













