चीनको दोस्रो कोभीड खोपलाई पनि डब्ल्यूएचओको अनुमति, चिनियाँ अर्थतन्त्रलाई थप लाभ होला ? « Arthapath.com
१९ जेष्ठ २०७८, बुधबार

चीनको दोस्रो कोभीड खोपलाई पनि डब्ल्यूएचओको अनुमति, चिनियाँ अर्थतन्त्रलाई थप लाभ होला ?



काठमाडौं । चीनले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको दोस्रो खोपलाई पनि विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगको अनुमति दिएको छ । चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने बाटो खुलेको छ ।

यसअघि गत महिना डब्ल्यूएचओले चीनको सिनोफार्म कम्पनीले उत्पादन गर्ने खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो । डब्ल्यूएचओका साथै विश्व ब्यापार संगठन, अन्तरराष्ट्रिय मुद्रान कोष र विश्व बैंकजस्ता संसारका प्रमुख स्वास्थ्य एवम् वित्तीय निकायहरूले कोभिड १९ महामारीको अन्त्यका लागि सघाउन ५० अर्ब डलर लगानीको आह्वान गरेकै बेला यो चिनियाँ खोपले अनुमति पाएको छ ।

अर्कातिर कोभ्याक्सलाई सबैभन्दा धेरै खोप आपूर्ति गर्ने प्रत्याभूति दिएको भारतीय खोप निर्माता सिरम इन्स्टिच्यूटमाथि सरकारी प्रतिबन्ध छ । भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएसँगै उसले कोभ्याक्समात्र होइन, नेपाल, बंगलादेशजस्ता मुलुकको खोप खरीद सम्झौता बमोजिम दिनुपर्ने मात्रा पनि आपूर्ति गर्न सकेको छैन ।

सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसलाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई डोज लगाउनुपर्ने हुन्छ । डब्ल्यूएचओले भनेको छ,- आपतकालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको भन्ने हो ।

सिनोभ्याकको खोप लगाएकामध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अध्ययनबाट देखिएको छ । गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट भने यो खोपले शतप्रतिशत रोक्ने पाइएको डब्ल्यूएचओले जनाएको छ । सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको थियो ।

उत्पादक कम्पनीले स्वदेश र विदेश गरी गत मे महिनाको अन्त्यसम्म ६० करोड डोज खोप आपूर्ति गरिसकेको जनाएको छ । जसमध्ये ४३ करोड डोज खोप लगाइसकिएको छ । सिनोभ्याक खोपको प्रमुख विशेषता भनेको यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमै भण्डार गर्न र ओसारपसार गर्नसकिन्छ । निर्धारित तापमानमा भण्डारण गर्न कठिनाइ भोगिरहेका अन्य खोपको तुलनामा यो बढी सजिलो हुने छ ।

अर्थात् न्यून तापक्रममा ठूलो परिमाणमा खोप भण्डार गर्ने क्षमता नभएका विकासोन्मुख देशहरूका निम्ति यो खमेप निकै सहज हुनेछ । डब्ल्यूएचओको अनुमतिपश्चात् गरीब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनि प्रयोग गर्ने बाटो खुलेको छ ।
डब्ल्यूएचओ र विश्व बैंकजस्ता संगठनहरूले धनी देशहरूलाई तत्काल विकासोन्मुख देशहरूमा खोप दिन आह्वान गरेका छन् । डब्लुएचओका प्रमुख टेड्रोस एड्हानम गेहब्रेयससले यस महामारी चाँडै अन्त्य गरेर असंख्य ज्यान र जनजीविका जोगाउने उपाय पर्याप्त भए पनि त्यसो गर्ने इच्छाशक्तिको भने अभाव भएको बताएका छन् ।

अर्कातिर खोपको सबैभन्दा ठूलो उत्पादकमाथि निर्यात प्रतिबन्ध लागेको र खोप अभियानमा निकै ठूलो सहायता जुटिरहेको दोस्रो खोपले अनुमति पाएसँगै चिनियाँ अर्थतन्त्रमा ठूलो सहयोग पुग्नसक्ने देखिएको छ । विश्वब्यापी महामारीको चपेटामा पनि अत्यधिक आर्थिक लाभ हासिल गर्ने मामिलामा हालसम्म चीन सबैभन्दा अघि देखिएको छ । चीनले २०२१ को पहिलो त्रैमासमा चीनको आर्थिक बृद्धिदर १८.३ प्रतिशत पुगेको थियो । यो चीनमा सन् १९९२ मा आर्थिक बृद्धिको त्रैमासिक गणना सुरुगरेयताकै सबैभन्दा उच्च हो ।

एजेन्सीकाे सहयाेगमा ।


प्रतिक्रिया दिनुहोस्