आयात र निर्यात दुवै घट्यो, वैदेशिक व्यापार घाटा २ खर्ब ६६ अर्बले खुम्चियो « Arthapath.com
८ श्रावण २०८०, सोमबार

आयात र निर्यात दुवै घट्यो, वैदेशिक व्यापार घाटा २ खर्ब ६६ अर्बले खुम्चियो



काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको आयात १६.०८ प्रतिशतले घटेको छ । भन्सार विभागले गत आर्थिक वर्षभरिको तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० मा नेपालको आयात ३ खर्ब ९ अर्बले आयात घटेको बताएको हो ।

नेपालले विदेशबाट १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँको आयात गरेको छ । जुन, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड ८३ को आयात भएको थियो ।

साथै, गत आर्थिक वर्ष २०७९/८० मा नेपालको निर्यात २१.४४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट २ खर्ब ३ करोड ९ लाख रुपैयाँको निर्यात गरेकोमा गत आर्थिक वर्षमा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख रुपैयाँको निर्यात भएको हो । जुन अघिल्लो आर्थिक वर्ष भन्दा २१.४४ प्रतिशतले कम हो ।

आयात र निर्यात घटेपछि नेपालको वैदेशिक व्यापार पनि खुम्चिएको छ । समिक्षा अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १५.४५ प्रतिशतले घटेको छ । नेपालले वैदेशिक व्यापारमा गत आर्थिक वर्षको १४ खर्ब ५४ अर्ब रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब २० अर्ब रुपैयाँको व्यापार घाटा नेपालले ब्यहोरेको थियो ।

नेपालको कुल वैदेशिक व्यापार १६.५८ प्रतिशत खुम्चिएको छ । गत आर्थिक वर्षमा जम्मा १७ खर्ब ६८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । जुन, अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्बको वैदेशिक व्यापार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्