रक्सी र चुरोटको विज्ञापन गर्न नपाइने व्यवस्था विरुद्ध सञ्चार उद्यमी एकजुट « Arthapath.com
२ श्रावण २०८३, शनिबार

रक्सी र चुरोटको विज्ञापन गर्न नपाइने व्यवस्था विरुद्ध सञ्चार उद्यमी एकजुट



काठमाडौं । नेपाल बिज्ञापन बोर्डले मदीरा र सूर्तिजन्य वस्तुको विज्ञापन गर्न प्रतिबन्ध गर्नेबारे एउटा विज्ञप्तीको विरोधमा सञ्चार उद्यमी संस्थाहरुले अर्को विज्ञप्ती जारी गरेका छन् । नेपाल मिडिया सोसाइटी, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल र नेपाल बिज्ञापन संघले बोर्डको उक्त कदमका विरुद्ध संयुक्त विज्ञप्ती निकालेर विरोध गरेका हुन् ।

‘भर्खरै कोभिडको मारबाट थलिएको मिडिया र बिज्ञापन उद्योगलाई व्यवशाय नै गर्न बर्जित गर्ने गरी विज्ञप्ति आउनु घोर आपत्ति’ भएको नयाँ विज्ञप्तीमा भनिएको छ ।

‘ब्यवशायीबाट करोडौं रुपैयाँ असुलेर कुनै वस्तु वा सेवाको उत्पादन अनुमति दिने, आयात गर्न दिने, बिक्री बितरण गर्न पनि दिने, उत्पादन उपभोग गर्न पनि दिने, त्यसैबाट अर्बौं राजस्व पनि उठाउने, अनि त्यसको बिज्ञापन गर्न चाहीँ अपराध हुने कुरा न्यायसंगत हुन सक्दैन’ विज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो समय कोरोना भाइरसका कारण सिंगो देशकै आर्थिक अवस्था अस्तव्यस्त भएको छ । यसले विज्ञापनकै भरमा सञ्चालन हुने सञ्चार संस्था लगायतका उद्योगहरु सबैभन्दा बढी मारमा परेको सोसाइटीको दाबी छ । सरकारले केही बर्ष यता बिभिन्न क्षेत्रहरुको विज्ञापन खर्चमा कडाइ गरेको कारणले पनि मिडिया उद्योगलाई आघात पुगिरहेको विज्ञप्तीमा भनिएको छ ।

विज्ञापन बोर्डले यही २५ कार्तिकमा प्रेस विज्ञप्तीमार्फत् ‘मदीरा, चुरोट, सुर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापन ‘प्रकाशन तथा प्रकाशन नगर्नू’ भनेको थियो । यसका साथै बोर्डले होर्डिङ बोर्डहरुमा रहेका यस्ता विज्ञापनहरु समेत तत्काल हटाउन भनेको थियो । बोर्डले जनस्वास्थ्य सेवा ऐनको व्यवस्थालाई टेकेर यस्तो निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

बोर्डको पछिल्लो नीतिले वैध तरीकाले उत्पादन हुने गुणस्तरीय उत्पादनलार्ई दुर्लभ र उपभोग गर्न अप्ठ्यारो पार्दै अवैध, विषाक्त, गुणस्तरहीन उत्पादनको उपभोगलाई बढावा दिने आरोप सञ्चार उद्यमीहरुले लगाएका छन् ।

यस्तो थियो विज्ञापन बोर्डको विज्ञप्ती ।


प्रतिक्रिया दिनुहोस्