आइएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता « Arthapath.com
८ जेष्ठ २०८०, सोमबार

आइएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता



काठमाडौं । सामाजिक सुरक्षा कोष र आइएमईबीच समझैता भएको छ । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना अन्र्तगत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिल मणि ज्ञवाली र आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताको कार्यान्वयन पछि विदेश स्थित आइएमई काउण्टर तथा साझेदारहरु मार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान वापतको रकम कोषमा जम्मा गर्न सक्ने छन् ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौं नेपालीहरुलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहजहुने गरि यो सम्झौता अनुसारको छिटै व्यवस्था मिलाइने जानकारी गराएका छन् । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रर्वद्धनका लागि समेत सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आइएमई तथा यसका साझेदारहरुको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरुलाई रकम पठाउन सहजहुने विश्वास व्यक्त गरे ।

सम्झौता हस्ताक्षर समारोहमा कोषका निर्देशक रोशन कोजु र आइएमई लिमिटेडका तर्फबाट बिजनेश डेभलपमेन्ट म्यानेजर श्याम कृष्ण खकुरेलको पनि उपस्थिती थियो । यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजना अन्र्तगत कम्तिमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात हाल न्यूनतम दुइ हजार दुई रुपैयाँ मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्ने व्यवस्था मिलाएको थियो ।


प्रतिक्रिया दिनुहोस्