कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले सार्वजनिक गरेको कुल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३४.५५ प्रतिशत हो ।
त्यसैगरी, पुँजीगत खर्चतर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ अर्थात् ५१.३२ प्रतिशत बजेट छुट्याइएको छ । साथै, वित्तीय व्यवस्थापनका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । जसको हिस्सा कुल बजेटको ०.३७ प्रतिशत रहेको छ ।
यस पटक ल्याइएको बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले वृद्धि भएको छ । उल्लेखित बजेटको स्रोत व्यवस्थापनका लागि प्रदेश सरकारले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाडबाट १२ अर्ब ८७ करोड र वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
त्यस्तै, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड र समपुरक अनुदानबाट ६४ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण सरकारले गरेको छ ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । यद्यपि, स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई मध्यनजर गर्दै मध्यावधि समीक्षा मार्फत उक्त बजेटलाई घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा सीमित गरिएको थियो ।
नयाँ आर्थिक वर्षका लागि ल्याइएको यो महत्त्वाकांक्षी बजेटले प्रदेशको समग्र विकास र पूर्वाधार निर्माणमा जोड दिने अपेक्षा गरिएको छ ।












