नेपालको उड्डयन क्षेत्र सुधारका लागि एओएएन र एईएसएनबीच समझदारी « Arthapath.com
१ असार २०८३, सोमबार

नेपालको उड्डयन क्षेत्र सुधारका लागि एओएएन र एईएसएनबीच समझदारी



काठमाडौं । नेपालको उड्डयन क्षेत्रलाई थप एकीकृत, सुरक्षित र दिगो बनाउने उद्देश्यका साथ वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपाल बीच एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८१ असार १ गते भएको यस समझदारीले भविष्यका चुनौतीहरू सामना गर्न सक्षम उड्डयन क्षेत्रको निर्माण गर्ने लक्ष्य राखेको छ । वि.सं. २०५५ मा स्थापना भएको एओएएन नेपालको उड्डयन उद्योगको प्रमुख प्रतिनिधित्वमूलक संस्था हो भने २०७५ मा स्थापित एईएसएनले प्राविधिक ज्ञान, अनुसन्धान र व्यावसायिक विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

यी दुई संस्थाहरूले अब आफ्नो अनुभव, ज्ञान र विशेषज्ञतालाई एकीकृत गर्दै नेपालको उड्डयन क्षेत्रको समग्र विकास र सुदृढीकरणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वव्यापी रूपमा उड्डयन उद्योग डिजिटल रूपान्तरण, स्वचालन, दिगोपन र डेटा–आधारित निर्णय प्रणालीतर्फ तीव्र गतिमा अघि बढिरहेको वर्तमान परिवेशमा नेपालले पनि सोही अनुरूप आफूलाई ढाल्नुपर्ने आवश्यकता देखिएको छ । यस समझदारीमार्फत वायुसेवा कम्पनीहरू, विमानस्थल, सेवा प्रदायक संस्थाहरू, इन्जिनियरहरू, प्राविधिक जनशक्ति, अनुसन्धानकर्ता, शिक्षाविद् र विद्यार्थीहरूलाई एउटै साझा मञ्चमा जोड्ने प्रयास गरिनेछ ।

यसबाट ज्ञान, अनुभव र विशेषज्ञताको आदानप्रदानलाई प्रोत्साहन मिल्नुका साथै नेपालको उड्डयन क्षेत्रमा व्यापक एकता र दीर्घकालीन विकासको आधार निर्माण हुने विश्वास गरिएको छ ।

सहकार्यका मुख्य क्षेत्रहरूमा उड्डयन क्षेत्रको समग्र क्षमता विकास, नेतृत्व प्रवद्र्धन र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको जनशक्ति उत्पादन रहेका छन् । समझदारी अनुसार उड्डयन सञ्चालन, इन्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिसम्बन्धी तालिम र क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

साथै, विद्यार्थी र युवा पेशेवरहरूका लागि भविष्यको नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्ने र उड्डयन क्षेत्रमा सुरक्षा संस्कृति (क्बाभतथ ऋगतिगचभ) को विकास गर्ने योजना बनाइएको छ ।

यसका साथै दिगो उड्डयन, डिजिटल लाइजेसन, डेटा एनालिटिक्स, र कृत्रिम बुद्धिमत्ता जस्ता उदयमान प्रविधिहरूको प्रयोगमा पनि दुई संस्थाले सहकार्य गर्नेछन् । उद्योग, शैक्षिक संस्था र प्राविधिक समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउन सेमिनार, सम्मेलन र कार्यशालाहरू आयोजना गरिनेछ ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले नेपालको उड्डयन क्षेत्रलाई प्रतिस्पर्धी र सुरक्षित बनाउने यस साझा अभियानमा सहभागी हुन सबै सरोकारवालाहरूलाई आह्वान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्