नेपाली मौलिक उत्पादनको निर्यातमा अर्थमन्त्री डा. महतको जोड
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।
अर्थमन्त्री डा. महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने, ‘तमाम् निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहँदै आएको छ।’
मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालले उठान गरेका सवालहरु सबै जायज मागहरु रहेको बताए । सरकारले चाहँदा चाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल कतिपय माग सम्बोधन गर्न नसिएको भन्दै उनले निकट भबिष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उनले भारतसँगको व्यापार सम्झौताबाट फाईदा लिन छाडेर साफ्टाको बिषय उठाउन आवश्यक नरहेको प्रष्ट बताए । निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको भन्दै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने मन्त्री महतले बताए । उनले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिएका छन् ।
उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित
बार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कर्केनकुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट शक्ति कुमार गोल्यान र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट ईन्द्रकुमार अग्रवाल छन् ।
त्यसैगरी नेपाल ह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एशोसिएसनबाट श्याम लिम्बु, अर्गानिक एशोसियसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भटराई र हिमालयन अर्थोडक्स टिबाट निरज राठी पनि सम्मानित भएका छन् ।
फुटवेयर म्यानुफयाक्चरर एशोसियसन नेपालबाट अमिरप्रताप जंग राणा, नेपाल कथ्था उत्पादक संघबाट कैलाशचन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एशोसियसन अफ नेपालबाट गोपीप्रसाद कँडेल, नेपाल ब्रुम एशोसियसनबाट संजिव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एशोसियसनबाट बिष्णु मदोगदिया, नेपाल डेरी एशोसियसनबाट निराजन कोईराला, रुद्राक्ष व्यवसायी संघबाट शालिकराम थापा र नेपाल कफी प्रोड्युसर्स एशोसियसनबाट बोधराज अर्याल सम्मानित भएका छन् ।