समुद्रको खुंखार शिकारी ‘शार्क’का नाममा किन बनाइयो विजनेश रियालिटी शो को ब्राण्ड ? « Arthapath.com
१० पुष २०८१, बुधबार

समुद्रको खुंखार शिकारी ‘शार्क’का नाममा किन बनाइयो विजनेश रियालिटी शो को ब्राण्ड ?



काठमाडौँ । २० जुन १९७५ मा अमेरिकामा एउटा फिल्म रिलिज भयो– जस (JAWS) अर्थात् बङ्गारा । अघिल्लो सालमात्रै प्रकाशित भएको उपन्यासमा आधारित यो फिल्मले समुद्रको शिकारी भनिने शार्कलाई अत्यन्त हिंस्रक जन्तुको रुपमा प्रस्तुत गरिदियो ।

समुद्री गहिराइमा कुरिरहेको एक ‘इटिङ मसिन’, ‘जो सामुद्री पर्यटकहरुमाथि हमला गरेर मान्छेको मासु खान तम्सिरहेको छ’ भन्ने सन्देश यो फिल्मले दियो । त्यसपछि संसारभर, खासगरी तटीय इलाकामा यस जन्तुप्रति मानिसहरुको ध्यान तानियो ।

तटीय इलाकाका युवाहरुमा कुनै बेला डाइनोसरमा जस्तै क्रेज अचेल शार्कमा छ । त्यसैले ‘शार्क पर्यटन’ पनि खुब मौलाएको छ । यस्तो पर्यटन कार्यक्रम अनुसार मानिसहरु शार्क हेर्न फलामे पिँजडामा समुद्रको पानी भित्र पस्छन् ।

पछिल्लो समय पुरुषका तुलनामा महिला अर्थात् युवतीहरु शार्कलाई नियल्न ज्यादा इच्छुक देखिएको विशेषज्ञहरुले बताउँदै आएका छन् । उनीहरुको आकर्षण पनि अनौठो छ । ती पर्यटकहरु साना र सुन्दर देखिने प्रजातिका शार्क हेर्न होइन, हिंस्रक लाग्ने भयंकर शार्कको खोजिमा ज्यादा आकर्षित छन् ।

यही समुद्री शिकारी, जो आफूभन्दा साना माछा र अन्य समुद्री जीवलाई निलेर पेट भर्छ, त्यसैको नाममा एउटा विजनेश रियालिटी शो पनि छ । ‘शार्क ट्याङ्क’ भनिने यो विश्व प्रसिद्ध बिजनेस रियालिटी शो अब नेपालमा पनि सुरु हुने भएको छ ।

भर्खरैमात्र ‘शार्क ट्याङ्क’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ ।

नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण थाल्ने जनाएको छ ।

गत सोमबार काठमाण्डौँमा आयोजित घोषणा कार्यक्रममा पहिलो सिजनका लागि पाँच जना ‘शार्क’हरु सार्वजनिक गरिएको छ, जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपहरुमा लगानी गरी उनीहरुको ब्यवसाय विस्तारमा सहयोग पु¥याउनेछन् ।

पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्म ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका छन् ।

उनीहरु यो सिजनमा ‘शार्क’का रुपमा अनुवन्ध भएका छन् । कठीन संर्घषमार्फत् ब्यावसायिक जीवनमा सफलता प्राप्त गरेका यी अगुवा ब्यवसायीले उत्कृष्ट सोच र सम्भावना भएका, तर लगानी जुटाउन खोजिरहेका ब्यवसायमा लगानीसँगै ब्यवसायीलाई सफलताका लागि मार्गदर्शनसमेत गर्नेछन् ।

यस सिजनका लागि अन्य दुई जना शार्क पछि सार्वजनिक गरिने हिमालय टेलिभिजनले जनाएको छ ।

सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यावसायिक रियलिटी टिभी शो बन्न पुगेको छ । ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ ।

यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बाङ्लादेश, पाकिस्तान लगायतका देशमा ‘शार्क ट्याङ्क’को नामबाट प्रसारण हुँदै आएको छ भने बेलायत, क्यानडा जस्ता मुलुकमा ‘ड्रागन्स डेन’ नामबाट प्रसारण हुँदै आएको छ ।

‘भारत, बंगलादेश र पाकिस्तानमा शार्क ट्याङकको अभूतपूर्व सफलतापछि हामी नेपालमा यो शो ल्याउन पाउँदा उत्साहित छौं । शार्क ट्यांकले अनगिन्ती उद्यमीहरूलाई सशक्त बनाएको छ र लाखौंलाई उनीहरूको नवप्रवर्तन एवम् दृढ संकल्पका कथाहरुद्वारा प्रेरित गरेको छ’, सोनी पिक्चर्स टेलिभिजनकी दक्षिण एशिया क्षेत्रीय अन्तराष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिनले भनिन् ।

उनी थप्छिन्– ‘हामी नेपालमा यो परम्परा फैलाउने र नेपाली नवप्रर्वतनलाई अन्तराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरको प्रतीक्षामा छौं । यसले दक्षिण एशियाभित्र शार्क ट्याङ्क ब्रान्डलाई अझ बलियो बनाउने छ र हामी नेपालबाट उदाउने नवीन उद्यमहरुको प्रतीक्षा गरिरहेका छौं ।’

हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कँडेलले शार्क ट्याङ्क नेपालको पहिलो सिजनको शार्कका रुपमा नेपालका सफल उद्यमी÷ब्यबसायीलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए ।

‘वास्तवमा दक्षिण एशिया क्षेत्रमा यो कार्यक्रमको सम्झौता हिमालय टेलिभिजनले गरेको थियो । तर कोभिड र आर्थिक सिथिलताका कारण सुरुवात गर्न केही ढिला हुन गयो’ कँडेलले भने, ‘यो केवल रियालिटी शो मात्र नभएर नेपालको स्टार्टअप इकोसिस्टममा एउटा नवीन क्रान्ति ल्याउने छ भन्ने हामीले विश्वास लिएका छौँ ।’

हिमालय टेलिभिजन एचडीले शार्क ट्यांक नेपाल सिजन १ का लागि २० एपिसोडको श्रृङ्खला प्रसारण गर्ने तयारी गरिरहेको छ । यसमा सहभागि हुन नेपालका सबै प्रकारका व्यवसायहरूलाई आवेदन दिनका लागि आह्वान गरेको छ ।

व्यवसायीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित डाटा प्रस्तुत गर्दै, एक निश्चित प्रतिशत व्यवसायको शेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्नका लागि आवेदन गर्न सक्नेछन् ।

ब्यवसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमीहरुले हिमालय टेलिभिजनको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन् । शार्क ट्याङ नेपालको पहिलो सिजनको आवेदन जनवरी १५ तारिख (माघ २) भित्र दिइसक्नुपर्ने छ ।

हिमालय टेलिभिजनले नेपालमा विभिन्न अन्तराष्ट्रिय टेलिभिजन रियालिटी शोहरुको उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । द भ्वाइस अफ नेपाल, भ्वाइस किड्स, हिमालय रोडिज, डान्सिङ स्टार लगायतका कार्यक्रम प्रसारण भइरहेका छन् भने यसै बर्ष अर्को अन्तराष्ट्रिय फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ पनि प्रसारण हुँदैछ ।

शार्कका बारेमा केही रोचक तथ्य

नवउद्यमीहरुले सुरु गरेका स–साना व्यवसायमा ठूला औद्योगिक एवम् व्यावसायिक घरानाले लगानी गर्ने मध्येस्थताको मञ्चका रुपमा विकास गरिएको यो कार्यक्रमलाई ‘शार्क’ र ‘ड्रागन’को नाममा किन स्थापित गरियो भन्ने भिन्न कथा छन् ।

आज हामी त्यता जाँदैनौँ । एक पर्वतीय भूपरिवेष्ठित मुलुकका वासिन्दाको नाताले हामीलाई शार्कका बारेमा जान्न यो एक मौका हुने ठानेर हामीले शार्क माछाको बारेमा चाहीँ केही तथ्य प्रस्तुत गर्न खोजेका छौँ ।

एसियामा बाघ र अफ्रिकामा सिंहलाई जंगलको राजा भनिन्छ । यसको खास कारण यी क्षेत्रको सबैभन्दा शक्तिशाली शिकारी तिनै जीव हुन् । शार्क समुद्रको त्यस्तै, अझ बाघ वा सिंहभन्दा पनि भयंकर शिकारी हो ।

धर्तिमा यो प्राणिको अस्तित्व करोडौँ साल पुरानो छ । वैज्ञानिकहरुले आजभन्दा ४० करोड वर्ष पुरानो दाँत फेला पारेका छन्, जुन त्यस बेलाको शार्ककै हो भन्ने विस्वास गरिएको छ ।

तर त्यो दाँतको हिसाबले त्यस बेलाको शार्क अहिले भएको संसारकै सबैभन्दा ठूलो शार्कको तुलनामा कम्तिमा ३ गुणा ठूलो हुनुपर्ने अनुमान लगाइएको छ । यस तथ्यले हाम्रा पुराणहरुमा ‘कलियुगमा मान्छेको शरीर खिइँदै वा सानो हुँदै जान्छ’ भनेर गरिएका वर्णनसँग कताकता मिलेजस्तो भान दिन्छ ।

डाइनोसरकै जमानादेखि संसारमा आफ्नो अस्तित्वलाई बढाउन सक्षम थोरै जीवहरुमा शार्क पनि पर्छ । समुद्री संसारमा कयौँ प्रजाती लुप्त भइसक्दा पनि शार्क बचिरहेको मात्रै छैन, उसको विस्तार पनि भइरहेको छ ।

अहिले पनि समुद्रभित्र उपलब्ध खाना (आहार)मध्ये ठूलो हिस्सामा शार्कको दबदबा छ । अधिकतर समुद्री माछा र अन्य जीवहरु करोडौँको संख्यामा रहेका शार्कको शिकार बनिरहेका छन् ।

यसले सामुद्रिक पारिस्थितिकीय प्रणालीलाई भने चुस्त राख्नमा ठूलो मद्दत गरेको छ । शार्कले समुद्रमा अधिकतर कमजोर, बिमार वा सुस्त प्रजातीलाई खाइदिन्छ । जो उसको मुखबाट जोगिन सक्षम हुन्छ, उसैले समुद्री जगतमा आफ्ना भावि पुस्ता अघि बढाउन सक्छ ।

आफूभन्दा कमजोर र साना माछा एवम् अन्य जीवलाई निलेर आफ्नो कद बढाउने यही शिकारी माछाको नाममा सञ्चालित कार्यक्रमको नयाँ श्रृङ्खला अब नेपालमा पनि देख्न पाइने भएको छ ।


प्रतिक्रिया दिनुहोस्