मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटद्वारा मोक्सी काठमाडौंको अवलोकन « Arthapath.com
१ असार २०८३, सोमबार

मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटद्वारा मोक्सी काठमाडौंको अवलोकन



काठमाडौँ। विश्वप्रसिद्ध होटल श्रृंखला मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियट हालै नेपाल भ्रमणका क्रममा मोक्सी काठमाडौं आइपुगेका छन्।

नेपालको आतिथ्य क्षेत्रमा अग्रणी लाइफस्टाइल गन्तव्यका रूपमा स्थापित मोक्सी काठमाडौंले बोर्ड अध्यक्ष मेरियटलाई होटलमा भव्य स्वागत गरेको हो।

उहाँको यो भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यस भ्रमणले नेपाल तथा यस क्षेत्रको इनोभेसन, संस्कृति र उत्कृष्ट आतिथ्य अनुभवप्रति मेरियट इन्टरनेशनलले दिँदै आएको उच्च महत्वलाई दर्शाउने होटलले जनाएको छ।

नेपाल भ्रमणमा आएको उक्त उच्चस्तरीय प्रतिनिधिमण्डलमा बोर्ड अध्यक्ष डेभिड मेरियटसँगै मेरियट इन्टरनेशनलका वरिष्ठ नेतृत्व टोलीका सदस्यहरूको समेत सहभागिता थियो। टीममा एशिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष राजीव मेनन, एशिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत निराज गोविल, एशिया प्यासिफिकका प्रमुख लजिङ प्रोडक्ट तथा सेवा अधिकृत क्रिस्टियानो रिनाल्डी सहभागी थिए।

त्यस्तै, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट, एनआईबीएनका मार्केट उपाध्यक्ष अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक दिलप्रीत सिंह बिन्द्रा पनि टोलीमा रहेका थिए।

प्रतिनिधिमण्डललाई मोक्सी काठमाडौंको टोलीले ब्रान्डको जीवन्त ऊर्जा, सिर्जनशीलता र मौलिक आतिथ्य संस्कृति झल्कने गरी न्यानो र जोशिलो स्वागत गरेको थियो। स्वागत कार्यक्रमलाई थप विशेष र अविस्मरणीय बनाउन होटलका कर्मचारीहरूले आकर्षक ‘फ्ल्यास मोब’ (नृत्य) समेत प्रस्तुत गरेका थिए, जसले मोक्सीको रमाइलो र ऊर्जावान पहिचानलाई जीवन्त बनाएको थियो।

स्वागत समारोहपछि मोक्सी काठमाडौंका क्याप्टेन वर्ण थापासँगै बोर्ड अध्यक्ष मेरियटले होटलको स्थलगत अवलोकन गरेका थिए। भ्रमणका क्रममा उनले होटलको आधुनिक डिजाइन, विविधतायुक्त खानपान सेवा तथा विशिष्ट अतिथि अनुभवहरूबारे चासोका साथ जानकारी लिएका थिए।

यस उच्चस्तरीय भ्रमणले बोल्ड, आकर्षक र स्मरणीय अनुभव प्रदान गर्ने मोक्सी काठमाडौंको प्रतिबद्धतालाई थप बलियो बनाएको होटलको भनाइ छ।

मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्षलाई आतिथ्यता प्रदान गर्दै होटलको दीर्घकालीन दृष्टिकोण, उपलब्धि तथा नयाँ पुस्ताका यात्रुहरूका लागि आतिथ्य सेवाको नयाँ परिभाषा स्थापित गर्ने प्रयासहरू प्रस्तुत गर्न पाउनु आफ्नो टीमका लागि विशेष अवसर बनेको होटलले उल्लेख गरेको छ।

मोक्सी काठमाडौंले आगामी दिनमा पनि यस्तै जीवन्त र अविस्मरणीय अनुभवहरू सिर्जना गर्दै नेपालमा मेरियट इन्टरनेशनलको उपस्थितिलाई थप सुदृढ र उचाइमा पुर्‍याउन योगदान दिने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्