लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य



काठमाडाैं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक-टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यमलाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।

नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन अनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन्। यस सुविधाको लाभ लिन उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ। साथै, आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लागि योग्य हुनेछन्।

यस सहकार्यअन्तर्गत आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायक (टीएसपी) का रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ, जसमार्फत योग्य उद्यमहरूले आफ्नो ईआपी प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा डिजिटल माध्यमबाट कर्जा आवेदन तथा प्रक्रिया पूरा गर्न सक्नेछन्। यसले कर्जा प्राप्तिको प्रक्रिया थप सरल, छरितो र पारदर्शी बनाउनुका साथै व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।

बैंकका अनुसार यो पहलले एसएमइज् क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुर्‍याउनुका साथै व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहित गर्नेछ। लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीचको यस सहकार्यमा डाटा-आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया प्रभावकारी बन्ने भएकाले यसले नेपालका साना तथा मझौला उद्यमहरूको दिगो विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

लक्ष्मी सनराइज बैंकको बैंकिङ विशेषज्ञता तथा आइएमएस सफ्टवेयरको प्राविधिक सेवा प्रदायक (टीएसपी) का रूपमा रहेको प्रविधिगत क्षमताको संयोजनले व्यवसायहरूलाई छिटो, सहज र पारदर्शी रूपमा कर्जा पहुँच उपलब्ध गराउँदै नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्