ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य
काठमाडौं। नेपालको शिक्षा तथा युवा विकास क्षेत्रमा सक्रिय ग्लोकल प्रालि र विश्वप्रसिद्ध उच्च शिक्षा विश्लेषण तथा र्याङ्किङ संस्था टाइम्स हायर एजुकेसन (टीएचई) बीच नेपालको उच्च शिक्षा प्रणालीलाई सुदृढ बनाउन रणनीतिक सहकार्यसम्बन्धी समझदारी (एमओयू) भएको छ।
इन्डोनेसियाको जकार्तामा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस २०२६ का अवसरमा सम्पन्न उक्त सम्झौतामा ग्लोकलका अध्यक्ष आशिष ठाकुर र टाइम्स हायर एजुकेसनका एसिया–प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार टाइम्स हायर एजुकेसनको उच्च शिक्षा, विश्व विश्वविद्यालय र्याङ्किङ, प्रभाव मूल्याङ्कन, नीतिगत परामर्श तथा संस्थागत विकाससम्बन्धी अन्तर्राष्ट्रिय अनुभवलाई ग्लोकलको शिक्षा, युवा विकास, सीप विकास तथा दक्षिण एसियामा सरोकारवालासँगको अनुभवसँग जोडेर नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा सहकार्य गरिनेछ।
यस सहकार्यमार्फत नेपाली विश्वविद्यालय तथा सरकारी निकायको शैक्षिक गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय पहिचान विस्तार, विश्वस्तरीय मापदण्डअनुसार मूल्याङ्कन तथा दीर्घकालीन संस्थागत विकासमा सहयोग गरिने जनाइएको छ। त्यस्तै नेपाललाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यका रूपमा स्थापित गर्ने ‘स्टडी इन नेपाल’ अभियानलाई विश्वस्तरमा प्रवर्द्धन गर्न पनि दुवै संस्थाले संयुक्त रूपमा काम गर्ने भएका छन्। नेपालका विश्वविद्यालयको शैक्षिक क्षमता, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा दक्षिण एसियामा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा नेपालको सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।
यसका साथै उच्च शिक्षा प्रणालीको सुदृढीकरण, रोजगारीयोग्यता, सीप विकास, संस्थागत रूपान्तरण, सीपसम्बन्धी पारिस्थितिक प्रणालीको विकास तथा नीतिगत नवप्रवर्तनका क्षेत्रमा पनि सहकार्य हुने जनाइएको छ। सम्झौतापछि ग्लोकलका अध्यक्ष आशिष ठाकुरले नेपालको उच्च शिक्षा क्षेत्र रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै अर्थपूर्ण प्रगतिका लागि अन्तर्राष्ट्रिय सहकार्य, विश्वस्तरीय अनुभव तथा स्थानीय आकांक्षालाई विश्वव्यापी अवसरसँग जोड्न आवश्यक रहेको बताए।
उनले टाइम्स हायर एजुकेसनसँगको सहकार्यले नेपाली विश्वविद्यालयलाई सुदृढ बनाउन, ‘स्टडी इन नेपाल’ अभियानलाई अगाडि बढाउन तथा संस्थागत विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ अवसर सिर्जना गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे। टाइम्स हायर एजुकेसनकी एसिया–प्रशान्त क्षेत्रकी अध्यक्ष मेई मेई लिमले उदीयमान उच्च शिक्षा प्रणाली भएका मुलुकसँग सहकार्य विस्तार गर्नु संस्थाको प्राथमिकतामा रहेको बताउँदै नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य, क्षमता विकास तथा विश्वव्यापी पहिचान बढाउन ग्लोकलसँग सहकार्य गर्न उत्साहित रहेको बताइन्।
उनले विश्वविद्यालय, सरकार, उद्योग तथा अन्तर्राष्ट्रिय ज्ञान सञ्जालबीच बलियो सम्बन्ध स्थापना गर्न सके शिक्षामा दिगो र प्रभावकारी परिवर्तन सम्भव हुने धारणा पनि राखिन्। ग्लोकल र टाइम्स हायर एजुकेसनले ज्ञान आदानप्रदान, अन्तर्राष्ट्रिय साझेदारी, रणनीतिक परामर्श तथा नवीन कार्यक्रममार्फत नेपालको उच्च शिक्षालाई अझ प्रतिस्पर्धी र विश्वस्तरमा स्थापित बनाउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयास गरिरहेका बेला यो साझेदारीले विश्वविद्यालय, नीति निर्माता, विद्यार्थी तथा उद्योग क्षेत्रका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।












