सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच रियल–टाइम भारतीय रुपैयाँ भुक्तानी प्रणाली सञ्चालनमा
काठमाडौं। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भारतीय रुपैयाँमा विदेशतर्फ गरिने भुक्तानीलाई वास्तविक समयमै सम्पन्न गर्ने अत्याधुनिक प्रणाली सञ्चालनमा ल्याउन साझेदारी गरेका छन्।
यो नेपालमै पहिलो प्रकारको सहकार्य हो। यससँगै सानिमा बैंक भारतस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग प्रत्यक्ष तथा वास्तविक समयमै सूचना आदानप्रदान गर्ने प्रविधिसँग जोडिने नेपालको पहिलो बैंक बनेको छ। यसले नेपाल र भारतबीच हुने भारतीय रुपैयाँको सीमापार भुक्तानीलाई अझ छिटो, सुरक्षित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यस नयाँ प्रणालीमार्फत परम्परागत रूपमा हातैले सञ्चालन गरिने तथा निश्चित समय अन्तरालमा मात्र प्रशोधन हुने भुक्तानी प्रक्रियालाई पूर्ण रूपमा स्वचालित र वास्तविक समयमै सम्पन्न हुने प्रणालीले प्रतिस्थापन गर्नेछ। यसबाट ग्राहकले अझ सरल, छिटो र भरपर्दो सेवा प्राप्त गर्नेछन्।
यसैगरी, अमेरिकी डलरमा हुने अन्तर्राष्ट्रिय भुक्तानीलाई पनि यही प्रविधिमार्फत सञ्चालन गर्ने सम्बन्धमा सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढाइने भएको छ। यसलाई दुवै बैंकबीचको सीमापार बैंकिङ सहकार्यमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
यस अवसरमा सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत निरज ढकालले सीमापार बैंकिङ सेवालाई अझ नवीन, सरल, छिटो र विश्वसनीय बनाउने बैंकको प्रतिबद्धताको निरन्तरताका रूपमा यो पहल गरिएको बताए।
त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका वित्तीय संस्था विभाग प्रमुख राजकमल बस्नेतले स्ट्यान्डर्ड चार्टर्ड बैंकको अन्तर्राष्ट्रिय सीमापार बैंकिङ अनुभव र सानिमा बैंकको प्रविधिमा आधारित भुक्तानी सेवा विस्तार गर्ने प्रयासको संयोजनबाट यो सहकार्य सम्भव भएको बताए। उनका अनुसार यस प्रणालीले अन्तर्राष्ट्रिय भुक्तानीको समय र लागत घटाउनुका साथै पारदर्शिता अभिवृद्धि गर्ने, कारोबारलाई अझ प्रभावकारी, सुरक्षित तथा नियामकीय मापदण्डअनुकूल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।













