कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ स्थित श्री जन ज्योति माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री तथा अभिभावक प्रतीक्षा स्थल निर्माणमा सहयोग गरेको छ।
बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा विद्यालयका लागि आवश्यक सेतो पाटी हस्तान्तरण गरेका हुन्। साथै विद्यालयमा आउने अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिका लागि व्यवस्थित र सम्मानजनक अभिभावक प्रतीक्षा स्थल निर्माणमा पनि बैंकले सहयोग गरेको जनाएको छ।
सहयोग ग्रहण गर्दै शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले बैंकप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।













