ग्रासरुट फुटबल विकासमा ह्युन्डाई नेपालको पहल, ‘नेक्स्ट जेन कप’ सम्पन्न
काठमाडौं। नेपालमा ह्युन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी १० एकेडेमीसँगको सहकार्यमा ‘ह्युन्डाई नेक्स्ट जेन कप’ सम्पन्न गरेको छ।
कम्पनीका अनुसार प्रतियोगितामार्फत ग्रासरुट फुटबलको विकास गर्दै नेपाली फुटबलका भावी प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ।
ललितपुरको च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (यू–१६) एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए। कम्पनीले विश्वकप फुटबलको माहोलबीच स्थानीय तहबाटै नयाँ प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।
प्रतियोगितामा क्रेटा इलेक्ट्रिक, भेन्यु, आयोनिक ५, एक्स्टर, कोना, क्रेटा, ग्रान्ड आई १० निओस र पालिसेडका नाममा रहेका आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा टिम भेन्यु विजेता बनेको थियो भने टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित भएको थियो।
कम्पनीका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, नयाँ अनुभव हासिल गर्ने, आत्मविश्वास बढाउने तथा खेलप्रतिको समर्पणलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको छ। साथै, एजी १० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको आधारभूत विकासमा दीर्घकालीन योगदान पुर्याउने साझा लक्ष्यलाई थप बलियो बनाएको कम्पनीको भनाइ छ।
यस अवसरमा एजी १० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको अभाव नभई अवसरको अभाव रहेको बताए। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई साकार पार्ने आत्मविश्वास प्रदान गर्ने उनको भनाइ थियो। उनले ह्युन्डाई नेपालको यस्तो पहलले नेपाली फुटबलको भविष्य अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे।
कम्पनीले ‘नेक्स्ट जेन कप’लाई युवा विकास, समुदायसँगको सहकार्य र ग्रासरुट खेलकुद प्रवर्द्धनमार्फत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने अभियानका रूपमा लिएको जनाएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली फुटबलको विकास र नयाँ पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।













