११ महिनामा १ खर्ब ६२ अर्बको शेयर धितो कर्जा प्रवाह: वाणिज्य, विकास र फाइनान्स कुनको कति जारी ? « Arthapath.com
२९ असार २०८३, सोमबार

११ महिनामा १ खर्ब ६२ अर्बको शेयर धितो कर्जा प्रवाह: वाणिज्य, विकास र फाइनान्स कुनको कति जारी ?



काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (जेठ मसान्त) को अवधिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा उत्साहजनक लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले कुल १ खर्ब ६२ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह गरेका हुन् । चालू आर्थिक वर्षको सुरुवाती महिनादेखि नै बजारमा तरलता सहज बन्दै जानु र नीतिगत रूपमा पनि केही लचकता अपनाइनुले यो कर्जा उल्लेख्य रूपमा बढेको देखिन्छ । प्रवाह भएको कुल कर्जामध्ये ८५ प्रतिशतभन्दा बढी हिस्सा वाणिज्य बैंकहरूकै रहेको छ ।

वाणिज्य बैंकलेनै १ खर्ब ३९ अर्ब
वाणिज्य बैंकहरूले मात्रै यस अवधिमा कुल १ खर्ब ३९ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । बैंकहरूमध्ये नबिल बैंक शेयर कर्जा प्रवाहमा सबैभन्दा आक्रामक र अगाडि देखिएको छ ।

नबिलले जेठ मसान्तसम्म १७ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ शेयर धितोमा लगानी गरेको छ । त्यस्तै, १४ अर्ब ५३ करोड ९० लाख रुपैयाँ लगानी गर्दै ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको कुमारी बैंकले १० अर्ब ४४ करोड १२ लाख रुपैयाँ कर्जा दिएको छ। प्राइम कमर्सियल बैंक ९ अर्ब ८५ करोड ४२ लाख रुपैयाँसहित चौथो र लक्ष्मी सनराइज बैंक ९ अर्ब ५० करोड ७२ लाख रुपैयाँसहित पाँचौँ स्थानमा छन् ।

विदेशी संयुक्त लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस शीर्षकमा कुनै पनि कर्जा प्रवाह गरेको छैन । नेपाल एसबीआई बैंकले भने सबैभन्दा कम ५२ करोड ७३ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

विकास बैंकले १९ अर्ब ५७ करोड
विकास बैंकहरूको तर्फबाट समीक्षा अवधिमा कुल १९ अर्ब ५७ करोड १२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंक लगानीमा पहिलो नम्बरमा छ ।

मुक्तिनाथले जेठ मसान्तसम्म ३ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले २ अर्ब ६५ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, २ अर्ब २९ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै महालक्ष्मी विकास बैंक तेस्रो स्थानमा रहन सफल भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ अर्ब १८ करोड १२ लाख र लुम्बिनी विकास बैंकले २ अर्ब १५ करोड १९ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस क्षेत्रका एक्सेल, मितेरी र ग्रीन डेभलपमेन्ट बैंकको लगानी करोडको अंकमा सीमित रहँदा नारायणी, कर्णाली, कर्पोरेट र सालापा डेभलपमेन्ट बैंकले भने शेयर धितोमा शून्य लगानी गरेका छन् ।

फाइनान्स कम्पनीहरुले ३ अर्ब ५३ करोड प्रवाह

अपेक्षाकृत रूपमा सानो आकारका वित्तीय संस्था मानिने फाइनान्स कम्पनीहरूले ११ महिनामा कुल ३ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ शेयर धितो कर्जा जारी गरेका छन् । फाइनान्स कम्पनीहरूमध्ये मञ्जुश्री फाइनान्स कर्जा प्रवाहमा अग्रस्थानमा छ ।

मञ्जुश्रीले ६८ करोड ३१ लाख रुपैयाँ यस क्षेत्रमा लगानी गरेको छ । दोस्रो स्थानमा रहेको श्री इन्भेष्टमेन्ट फाइनान्सले ४६ करोड ९७ लाख रुपैयाँ कर्जा जारी गरेको छ भने आईसीएफसी फाइनान्स ३७ करोड ५४ लाख रुपैयाँ प्रवाह गरेर तेस्रो स्थानमा छ।

सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा मल्टी फाइनान्स रहेको छ । जसले मात्र ६ लाख ५५ हजार रुपैयाँ लगानी गरेको देखिन्छ ।

जानकी फाइनान्स र क्लाइमक्स मर्चेन्ट (सी मर्चेन्ट) फाइनान्सले भने जेठ मसान्तसम्म यस शीर्षकमा शून्य लगानी गरेका छन् । ठूला वाणिज्य बैंकहरूको तुलनामा फाइनान्स कम्पनीहरूको सहभागिता धेरै कम देखिए पनि बजार चलायमान बनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्