टीभीएसको दोस्रो इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपाल आउने तयारीमा, एक्स्पोमा देखिन सक्ने
नेपाली बजारमा बलियो उपस्थिति जनाउने ध्येयका साथ टीभीएसले आफ्नो दोस्रो इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपाल भित्र्याउने अन्तिम तयारी गरे सँगै यसको सडक परीक्षण सुरु भएको छ।
काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा नयाँ तरंग थप्न टीभीएसले आफ्नो दोस्रो इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ भित्र्याउने गृहकार्य तीव्र पारेको छ। नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यस नयाँ मोडललाई नेपाली सडकमा गुडाउनका लागि आन्तरिक तयारी सुरु गरेको हो।
हाल यो स्कुटरले नेपाली सडकको अवस्था र परिवेश सुहाउँदो छ या छैन भनेर जाँच्नका लागि विभिन्न रुटमा परीक्षण गरिरहेको बुझिएको छ।
कम्पनीले यो नयाँ उत्पादनलाई नेपाली उपभोक्तामाझ कहिलेदेखि हस्तान्तरण गर्छ भन्ने आधिकारिक मिति तय गरिसकेको छैन। यद्यपि, अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार आगामी साउन महिनामा आयोजना हुन लागेको ‘नाइमा मोबिलिटी एक्स्पो’ मा यो स्कुटर पहिलो पटक सार्वजनिक हुन सक्ने सम्भावना बलियो छ।
भारतीय बजारमा दुईवटा फरक ब्याट्री क्षमतामा उपलब्ध यो स्कुटर नेपालमा कुन स्वरूप र क्षमतामा भित्रिनेछ भन्ने कुरा कम्पनीले अझै गोप्य नै राखेको छ।
प्रविधि र यात्राको दूरी
भारतीय सडकमा गुडिरहेको टीभीएस अर्बिटरमा १.८ किलोवाट आवर र ३.१ किलोवाट आवरका दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्। कम क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ८६ किलोमिटरसम्मको यात्रा तय गराउन सक्छ भने ठूलो ब्याट्री क्षमता भएको भेरियन्टले १५८ किलोमिटरसम्मको यात्रा गराउने क्षमता राख्छ।
यसमा प्रयोग गरिएको ब्याट्री पानी र धूलोबाट सुरक्षित रहने उच्च प्रविधियुक्त छ, जसलाई पूर्ण रूपमा चार्ज हुन ब्याट्रीको क्षमता अनुसार २ घण्टा २० मिनेटदेखि ४ घण्टा १० मिनेटसम्मको समय लाग्छ।
सहरी यात्रालाई सहज र तीव्र बनाउनका लागि यसमा २.५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसले स्कुटरलाई प्रतिघण्टा ६८ किलोमिटरसम्मको अधिकतम गतिमा गुडाउन मद्दत गर्छ।
नेपाली सडकका खाल्डाखुल्डी र उकालो-ओरालोलाई मध्यनजर गर्दै यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ, जसले गर्दा यो नेपाली भूगोलका लागि निकै अनुकूल हुने देखिन्छ।
आधुनिक फिचर र सुरक्षाको ग्यारेन्टी
यो नयाँ स्कुटर प्रविधिका सौखिनहरूका लागि निकै आकर्षक हुन सक्छ। यसमा चालकको सहजताका लागि टीभीएस कनेक्ट एपसँग जोडिने रंगिन डिजिटल डिस्प्ले, पूर्ण रूपमा एलईडी लाइटको सेटअप, र गुडिरहेकै बेला बाटो देखाउने नेभिगेसन प्रणाली जस्ता आधुनिक सुविधाहरू छन्।
सवारी सुरक्षाका लागि यसमा चोरी नियन्त्रण गर्ने प्रविधि, दुर्घटना भएको खण्डमा सतर्क गराउने प्रणाली, र उकालोमा स्कुटरलाई पछि हट्न नदिने हिल होल्ड फिचर समेत समावेश गरिएको छ।
यसका साथै लामो यात्रालाई आरामदायी बनाउनका लागि फ्ल्याट सिट, समान राख्नका लागि ३४ लिटरको ठूलो स्पेस, र मोबाइल चार्ज गर्न मिल्ने यूएसबी पोर्ट जस्ता सुविधाहरू यसमा पाइन्छन्। नेपाली बजारमा यसअघि नै टीभीएसको ‘आिक्युब’ इलेक्ट्रिक स्कुटरले आफ्नो बलियो छाप छाडिसकेको छ।
अब आउने यो नयाँ स्कुटरले वातावरणमैत्री सवारी खोजिरहेका ग्राहकलाई छनोटको दायरा फराकिलो बनाइदिने निश्चित छ।













